क्यालिफोर्निया । अस्कर अवार्डको ९३औं संस्करणमा हलिउड फिल्म ‘नोम्याडल्यान्ड’ सर्वोत्कृष्ट फिल्म भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न अवार्ड समारोहमा महिला निर्देशक क्लोइ झाओले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हाँसिल गरेकी छिन् । उनले ‘नोम्याडल्यान्ड’ फिल्मबाट निर्देशकको अवार्ड जितेकी हुन् ।
यस्तै सर्वोत्कृष्ट अभिनेताको अवार्डा अभिनेता एन्थोनी हप्किन्सले फिल्म द फादरबाट जितेका छन् । यस्तै नोम्याडल्यान्डबाटै फ्रान्सिस म्याकडरम्यान्डले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी छिन् ।
यस्तै साउथ कोरियाली अभिनेत्री यूह जुंग यूनले फिल्म ‘मिनारी’ बाट सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड हाँसिल गरेकी छिन् । यो विधामा अवार्ड जित्ने उनी साउथ कोरियाको पहिलो र एशियाकी दोस्रो अभिनेत्री हुन् ।
यस्तै सह–अभिनेताको अवार्ड जुडास एन्ड ब्ल्याक मसिहा फिल्मबाट ः डेनियल कालुयाले हाँसिल गरे । अवार्ड समारोहमा एडप्टेड पटकथाको अवार्ड फिल्म द फादरले नै जितेको छ भने मौलिक पटकथाको अवार्ड प्रमिसिङ योङ वुमनको पोल्टामा परेको छ ।
यस्तै कस्ट्युम डिजाइनको अवार्ड बिजेता मा रेइनिज ब्ल्याक बटम, ओरजिनल स्कोरको बिजेता सउल, एनिमेटेड सर्ट फिल्मको बिजेता इफ एनिथिङ ह्यापेन्ज आइलभ यू रहेको छ । यस्तै डकुमेन्ट्री फिचरको अवार्ड माइ अक्टोपस टिचरले, अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड डनमार्कको फिल्म एनादर राउन्डले हाँसिल गरेको छ ।
यसपटक उत्कृष्ट सम्पादन र ध्वनीको अवार्ड साउन्ड अफ मेटलले, प्रोडक्सन डिजाइन र छायाँकनको अवार्ड फिल्म म्यांकले, भिजुअल इफेक्टको अवार्ड टेनेटले, एनिमेटेड फिचर फिल्मको अवार्ड फिल्म सउलले हाँसिल गरेको छ ।
यस्तै यसपटक मेकअप एन्ड हेयरस्टाइलको अवार्ड पनि फिल्म मा रेइनिज ब्ल्याक बटमले र मौलिक गीतको अवार्ड जुडास एन्ड द ब्ल्याक मसिहाबाट फाइट फर युले हाँसिल गरेको छ ।