नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको दोस्रो भेरियन्टको प्रभाव देखिन सुरु हुँदै गर्दा अस्पतालमा संक्रमितको चाप बढेपछि दैनिक सरदर ७–८ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाउन थालेपछि आईशोलेशन तयार गर्न लागेका हुन् ।
बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा गाउपालिकाले ५०÷५० बेडको हाईफ्लो अक्सिजन सुबिधा सहितको आईशोलेशन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका छन् । बाँकेमा रहेका करिव ३ हजार सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरमा, दोस्रोमा कोहलपुर नगरपालिका र तेस्रोमा खजुरा गाउपालिकामा संक्रमित रहेका छन ।
नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं. २० मा रहेको व्हाईटहाउस होटलमा आईशोलेशन केन्द्र स्थापना गरे पनि हाईफ्लो आक्सिजन आवश्यक पर्ने लक्षण र चिन्ह देखा परेका संक्रमितको संख्या अधिक रहेको र अस्पतालमा उनीहरुले उपचारको लागि बेड पाउन छाडेपछि उपमहानगरले बाँकीबगियामा रहेको उपमहानगरकै तालिम कक्षमा ५० बेडको अक्सिजन सुबिधा सहितको आईशोलेशन सञ्चालनमा ल्याईएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरका समाचार तायार पार्दासम्म २ हजार २ सय २४ जना सक्रिय संक्रमित रहेकोको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए । उनले कोरोना संक्रमण समुदाय स्तरसम्म पुग्न नदिनको लागि सीमा क्षेत्रको जमुनाहमा एन्टिजेन टेस्ट तथा उपमहानगरले विभिन्न वडामा रेण्डम्ली पिसिआर जाँच समेत गर्दै आएको बताए । उनले उपमहानगरमा रहेका सक्रिय संक्रमित जो होम आईशोलेशनमा बसेका छन् उनीहरुलाई उपमहानगरका स्वास्थ्यकर्मीले निगरानी गर्दै आएको बताए ।
यसैगरी बाँकेको खजुरा गाउपालिकाले जनक शिक्षा सामग्री केन्द्रको हलमा ४० बेड र राधापुर स्वास्थ्य चौकीमा १० बेड गरी ५० बेडको अक्सिजन सुविधा सहितको आईशोलेशन केन्द्र सञ्चालनमा ल्याईएको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जानकारी दिए । उनले दुबै आईशोलेशन केन्द्रमा संक्रमित राखेर उनीहरुलाई उपचार सेवा समेत दिन सुरु गरेको बताए ।
उनले भने–‘ दोस्रो भेरियन्टको कोरोना संक्रमण देखापरेपछि जिल्लामा सबै भन्दा बढी संक्रमित रहेको पालिका मध्ये खजुरा तेस्रो स्थानमा रहेको छ । चिन्ह लक्षण सहितका संक्रमित अधिक रहेको उनीहरुमा अक्सिजनको मात्रा अत्यन्तै कम भएको पाईएकोले अक्सिजन मात्र दिदा पनि ज्यान जोगिने भएकोले पालिका स्तरमै अक्सिजन सुबिधा सहितको आईशोलेशन सञ्चालनमा ल्याएका हौ ।’
उनले पालिकामा नै कोरोना संक्रमणको अवस्था पत्ता लगाउनको लागि एन्टिजेन माध्यामबाट कोरोना जाँच गर्नुको साथै बाहिरबाट आएकाहरुको तथ्याङ्क राख्न तथा होम आईशोलेशनमा बसेका कोरोना संक्रमितलाई निगरानी राख्न महिला स्वास्थ्य स्वयमसेविकाले सहयोग गर्दै आएको बताए ।
बाँकेमा अक्सिजनको मात्रा अत्यन्तै कम भएका संक्रमितको संख्या अधिक भएपछि भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोभिड–१९ का संक्रमितको चाप अधिक छ ।
कोरोना संक्रमितहरुले उपचारको लागि बेड नपाउदा मृत्यु पर्खनुको बिकल्प नभएपछि स्थानीय सरकार आफ्ना नागरिको ज्यू–ज्यान जोगाउनको लागि अक्सिजन सुबिधा सहितको आईशोलेशन निर्माणमा जुटेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
कोहलपुर नगरपालिकाले कृषि विकास बैंकको क्षेत्रीय तलिाम केन्द्र पिपरीमा ५० बेडको अक्सिजन सुबिधा सहितको आईशोलेशन सञ्चालनमा ल्याएको नगर प्रमुख रावतले बताए । कोहलपुरमा करिव ५ सयको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बाँकेका बैजनाथ, जानकी, डुडुवा, रापतीसोनारी र नरैनापुरले पनि अक्सिजन सुबिधा सहितको आईशोलेशन सञ्चालनको तयारीमा छन् । हुन त यी पालिकामा न्यून संक्रमित भएको भएपनि उनीहरुले आफ्ना नागरिकलाई कोरोना कहरबाट जोगाउनको लागि तीब्र तयारी अघि बढाएका छन् ।
बाँकेमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या ७–८ पुग्ने गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्शन तेज ओलीका अनुसार बाँकेमा हालसम्म कोरोना संक्रमणबाट १ सय ८ जनाले ज्यान गुमाएका छन् । यसैगरी बाहिर जिल्लाबाट उपचारको क्रममा ज्यान गुमाउने पनि १ सय ११ पुगेका छन् ।