मकवानपुरमा कोरोना स्रंक्रमितको सक्रिय संख्या ५ सय

सांकेतिक तस्विर

चुरे, मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको सक्रिय संख्या ५ सय नाघेको छ । शुक्रबार राति प्राप्त प्रयोगशाला रिपोर्टअनुसार २ सय ७४ जनामा गरिएको पीसीआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय नाघेको हो ।

योसँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण विस्तार भएपछि १ हजार ६ सय ५० जनाको परीक्षण गर्दा ६ सय २ जनामा संक्रमण पुष्टि भएको कोरोना परीक्षण प्रयोगशालाका डाक्टर सागर काफ्लेले जानकारी दिए ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै हेटांैडा अस्पतालका डाक्टर काफ्लेले मकवानपुरमा रहेका सक्रिय संक्रमितमा ४ सय ९७ जना घरमै उपचाररत रहेको र गौरिटार आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेको बताए । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको ज्यान गएको छ ।

हेटौंडा अस्पतालको कोभिड आईसीयूमा १४ जना संक्रमित उपचाररत रहेकोमा आज ३ जना डिस्चार्ज गरिन लागेको हो । स्वास्थ्यमा सुधार आएसँगै होम आइसोलेसनमा बस्नको लागि डिस्चार्जको तयारी भएको काफ्लेले बताए । हेटौंडा अस्पतालमा रहेको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) वार्डमा उपचाररत कोरोना संक्रमित शुक्रबार २ जना डिस्चार्ज भएका थिए । शनिबार डिस्चार्ज हुने हेटौंडा–८ का ४२ वर्षीय पुरुष र ५९ वर्षीय पुरुष छन् भने हेटौंडा–११ का ५० वर्षीय पुरुष पनि डिस्चार्ज हुँदै छन् ।

हेटौंडा अस्पतालमा ६ बेडको आईसीयू र १४ बेडको एचडीयू वार्ड स्थापना गरिएको छ । एचडीयू वार्डका इन्चार्ज डा. काफ्लेका अनुसार एचडीयू वार्ड सञ्चालनमा आएको एक साताको अवधिमा १८ जनाले सेवा लिएका छन् भने ६ जना डिस्चार्ज भएका छन् । एक जनालाई हेटौंडा अस्पतालको एचडीयू वार्डले अन्यत्र रेफर गरेको छ । एचडीयू वार्डमा रहेका संक्रमितमध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य बिरामीको अवस्था खतरामुक्त रहेको डा. काफ्लेले जानकारी दिए ।

२४ जना मात्र सरकारले तोकेको आइसोलेनमा भएकाले अन्य ५ सय जना होम आइसोलेसनमा रहेर उपचार गराइरहेको डा. काफ्लेले जानकारी दिए । उनीहरूलाई स्वाब परीक्षण पछि आफ्नो इच्छा प्रयोग गर्न दिइएको छ । धेरै संख्यामा कोरोना संक्रमितले घरमै रहेर चिकित्सकको सुझाबअनुसार उपचारमा रहन्छौं भन्ने गरेकाले अधिक संख्या घरमा नै रहेको उनले बताए । घरमा रहेका सक्रिय कोरोना संक्रमितलाई हेटौंडा उपमानगरपालिकाको स्वास्थ्य टोलीले निगरानी र उपचारमा सहयोग पु¥याउने गरेको अस्पतालले जनाएको छ । सक्रिय संक्रमितमध्ये अधिक संख्या घरमा रहँदा जोखिम निकै रहेको बताइएको छ । हेटौंडा उपमहानगरका स्वास्थ्य चिकित्सकका अनुसार सुरक्षा अपनाए पनि होम आइसोलेसनले संक्रमणको दर बढाउन मद्दत पुग्ने बताए । उनले भने, ‘घरमा हुने लसपल र एकै शौचालयको प्रयोगसहित विविध कारणले जोखिमलाई उच्च बनाउँछ ।’

दोस्रोपटकको कोरोना संक्रमण दर उच्च रहँदा मकवानपुरमा व्यवस्थापन कमजोर दखिएको छ । बाग्मती प्रदेशको राजधानी हेटौंडामा बिरामीको संख्या उच्च रहँदा हेटौंडा अस्पताल र गौरीटारमा रहेको आइसोलेसनले भार थेग्न सक्ने अवस्था रहेको छैन । आपत्कालीन अवस्थामा हेटौंडा अस्पतालमा निर्माण गरिएको २० बेड क्षमताको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) वार्ड र गौरीटारमा रहेको कोरोना संक्रमणको पहिलो चरणको लहरका बेला तयार पारिएको १ सय २० बेड क्षमताको आइसोलेसन वार्ड मात्र रहेको छ । संक्रमित रहेकामध्ये हेटौंडामा उपचारका क्रममा २ र भरतपुरमा १ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

अहिले मकवानपुर जिल्लामा ५ सय २४ जना सक्रिय संक्रमित रहेकोमा ११ जना हेटौंडा अस्पतालको एचडीयू वार्डमा उपचाररत छन् भने १३ जना गौरिटार आइसोलेसन वार्डमा छन् । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमित ५ सयजना होम आइसोलेसनमा छन् ।

 लकडाउन हुन सक्ने

मकवानपुरमा कोरोना संक्रमितको सक्रिय संख्या ५ सय नाघेसँगै लकडाउन हुनसक्ने सम्भावना रहेको छ । मकवानपुरकाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन लकडाउन जारी गरिने यसअघि नै बताउँदै आएका छन् । सरकारले समेत संक्रिय संक्रमित ५ सय नाघेमा अवस्था हेरेर निषेधाज्ञा वा लकडाउन लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी