नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको विषय लिएर नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद हुँदै आएको छ । नेपालमा प्रजातान्त्रिक प्रणालीको संरक्षण तथा सुढृढीकरणका लागि नेपाली कांग्रेसको भूमिका अहं हुनेमा कसैको पनि दुविधा रहन्न । त्यसमा पनि नेपाली कांग्रेसकै पार्टी आन्तरिक जीवनको कुराले धेरै महत्वपूर्ण भूमिका खेल्छ । सरसरती हेर्दा नेपाली कांग्रेसको आन्तरिक जीवनको कुरा जस्तो देखिए तापनि नेपालको प्रजातान्त्रिक मूल धारको नेतृत्व यसैले गर्दै आएको छ । यसमा नेपाली कांग्रेसले आफ्नै पार्टी आन्तरिक जीवनमा खेल्ने भूमिका न्यूनीकरण गरेर हेर्न मिल्दैन । किनकि, नेपालको प्रजातान्त्रिक प्रक्रिया र अभ्यास नेपाली कांग्रेसको भूमिका बिनाअधुरो र अपूरो रहन्छ । विभिन्न आस्था राख्ने पार्टी नेपालमा रहेकाले एक अर्का पार्टीप्रति पूर्वाग्रह रहनु र एकले अर्कालाई अस्वीकार गर्नु सामान्य देखिएला तर त्यसले नेपालको शासन व्यवस्था र प्रणालीमा पार्ने असर दीर्घकालीन हुन सक्छ ।
यसै कारणले पनि नेपाली कांग्रेसको आसनमा पार्टी महाधिवेशनलाई मध्यनजर गरेर यसका आन्तरिक जीवन’bout विविध खाले टीका टिप्पणी हुने गरिरहेका छन् । यसलाई नेपाली कांग्रेस स्वयंले अन्याथा लिन पनि उचित हुँदैन । जसले जुन कुराको अभिभावकत्व लिन्छ उसमाथि प्रहार पनि उत्तिकै हुने गर्छ । पार्टीभित्रको प्रजातान्त्रिक प्रक्रिया लिएर हाल नेपाली कांग्रेसमा भइरहेको टीकाटिप्पणी वैचारिक हिसाबले प्रजातान्त्रिक विचार, पद्धतिगत हिसाबले बहुदलीय प्रणाली र प्रक्रियाका हिसाबले प्रतिस्पर्धात्मकता कुरालाई केन्द्रमा राखिएको छ । शासन प्रणाली कस्तो बनाउने भन्ने कुरा त्यो शासन प्रणालीको हिमायती पार्टीले कस्तो विचार, नीति तथा कार्यक्रम अख्तियार गरेको छ भन्ने कुरामा निर्भर हुन्छ । नेपाली कांग्रेसको पनि यिनै कुरालाई मध्यनजर गरेर तीखो आलोचना हुने गरिरहेको छ । बेला पनि आएको छ । पार्टीको महाधिवेशन पनि हुँदै छ । ठीक यसै समयमा नेपाली कांग्रेसको विचार, नीति तथा कार्यक्रम वास्तवमा के हो त ? भन्ने कुरा जाच्न र पारख गर्ने अग्निपरीक्षाको घडी पनि आएको छ । जनअपेक्षा पनि रहेको छ कि नेपाली कांग्रेसले आफ्नो इतिहास, बोकेको विरासत र पार्टीका साथै देशलाई पनि हाक्न सक्ने हैसियत कायम गर्न सकोस् र अरूलाई पनि बाटो देखाउन सकोस् ।
यिनै वैचारिक, राजनीतिक तथा व्यावहारिक समस्या समाधान गर्न नेपाली कांग्रेस प्रजातान्त्रिक प्रक्रियामा खरो रूपमा उत्रनु जरुरी छ । उसको हुँदै गरेको पार्टी महाधिवेशनमा पनि त्यही अपेक्षा गरिएको छ । महाधिवेशन प्रतिनिधिका रूपमा रहने क्रियाशील सदस्य यही उचाइका साथ सुझबुझ भएका योग्य प्रतिनिधि होऊन् । उनीहरू जनताबाट चुनिएर आउन सकून् । आफ्नो स्वविवेक प्रयोग गर्ने हैसियत राखून् । महाधिवेशन प्रतिनिधि कुनै गुट वा समूह विषेशका मानिस नहोऊन् । समग्र प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने सक्षम प्रजातान्त्रिक योद्धा हुनुपर्छ ।