इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार मोरङको सीमानामा पर्ने बुढीखोला पुलमा बुधबार विहानैदेखि सबै सवारी साधन र आवतजावत गरिरहेका मानिसहरुलाई प्रवेश निषेध गरिएको छ ।

मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलामा पूर्वबाट इटहरीतर्फ आएका सबै सवारी साधन र हिँडडुल गर्दै आएका मानिसहरुलाई समेत प्रवेशमा रोक लगाइएको केसीले बताए । ‘विराटनगर पूर्ण रुपमा बन्द भएका कारण पूर्वतिरबाट आउने मानिसको संख्या धेरै छ,’ डीएसपी केसीले भने, ‘हामीले बुधबार विहानैदेखि पूर्वबाट आएका मानिसहरुलाई उतै फर्काएका छौँ ।’ मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिका लगायतका सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा भएकाले पूर्वतिरबाट इटहरी आउने मानिसको संख्या धेरै रहेको केसीले बताए ।

‘पहाडबाट इटहरी आउने मानिसको संख्या ज्यादै न्यून छ, विराटनगर बन्द भएकाले पूर्वतिरबाट धेरै मानिसहरु इटहरीतर्फ आएका छन्,’ उनले राजधानीसँग भने, ‘मोरङको मुख्य राजमार्ग क्षेत्रमा निषेधाज्ञा नहुँदा समस्या छ, हामीले सीमाबाटै मानिसहरुलाई इटहरी प्रवेश गर्न रोक लगाएका छौँ ।’ प्रवेशमा रोक लगाएसँगै उतै फर्काउन समेत झमेला भइरहेको प्रहरीले जनाएको छ । डीएसपी केसीका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउन कडा बनाउन आदेश दिएसँगै सुरक्षा व्यवस्था र सीमा नाकामा कडा गरिएको छ । तर, प्रहरीलाई ठूलो भीड थामिनसक्नु हुँदा समेत समस्या हुने गरेको उनले बताए । ‘आज (बुधबार) धेरै मानिसहरु बुढीखोलाबाटै फर्काएका छौँ, कतिपयलाई थाहा नभएका कारण पनि आउने क्रम जारी छ, ठूलो प्रेसर भइरहेको छ ।’ उनले भने ।

बुढीखोला पारीसम्म बस चल्ने भएका कारण झापा र मोरङको उर्लाबारीसम्मका मानिस इटहरीतर्फ आउने गरेपनि उनीहरुलाई बुधबार प्रहरीले फर्काएको डीएसपी केसीले बताए । ‘अधिकांश धेरैजसो मानिसहरु हिँडेरै पनि आएका छन्, अति आवश्यक र पास भएका मानिसहरुलाई मात्रै प्रवेश दिएका छौँ,’ केसीले भने, ‘मोरङको सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा भएका कारण यो समस्या भएको हो ।’

प्रदेश १ मा कोरोनाको ‘ट्रान्जिट पोइन्ट’ भनेर चिनिने मोरङको सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा हुँदा कोरोनाको जोखिम बढ्दो छ । सुनसरीमा भने पूर्ण रुपमा लकडाउन हुँदा मोरङमा फितलो व्यवस्थापनले कोरोनाको जोखिम बढेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यसअघि जिल्लामा जोरबिजोर प्रणालीअन्र्तगत यातायातका साधन सञ्चालन, विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल सञ्चालन तथा अन्य पसलहरु विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्नेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । तर, कोरोनाको जोखिम र तीब्र संख्यामा संक्रमित बढेकाले ३१ गते मध्यरातिसम्म अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेगरी लकडाउन गरिएको हो ।

ढकालले भने, ‘सबै पालिकाका प्रमुख, उपप्रमुख, सुुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको बसेको बैठकले यो निर्णय गरिएको हो, लकडाउन कडा बनाउन सबै सुरक्षा निकायसँग समन्वय भइरहेको छ ।’

उनले लकडाउनको अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको जानकारी दिए । अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि जिल्लाभर पूर्णरुपमा रोक लगाइएको ढकालले बताए । आदेशको अवहेलना गरे वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन अनुसार सजाय हुने प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

कुरी-कुरी