काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले निषेधाज्ञामा सवारी साधन कम चल्ने मौकालाई सदुपयोग गर्न काठमाडौंका विभिन्न सडकमा सिंगारपटारलगायतका काम गरिरहेको हो ।
डिभिजन प्रमुख कुवेर नेपालीले मार्किङ गर्ने, सडकबीचको रेखा (सेन्ट्रल लाइन) तान्ने, जेब्रा क्रसिङ, सडक किनारामा पेन्टिङलगायतका काम भइरहेको जनाएका छन् । ‘यी हाम्रो नियमितभित्रको काम भए तापनि सडकमा कम सवारी साधन गुड्ने मौकामा हामीले स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै काम गरिहेका छौं ।’ उनले राजधानीसँग भने ।
डिभिजन प्रमुख नेपालीले निषेधाज्ञामा कामदारलाई पु-याउन र आवश्यक सामग्री ओसारपसारका लागि भने समस्या भइरहेको बताउँछन् । प्रशासनले दिएको आदेश र फिल्डमा खटिने सुरक्षाकर्मीबीच तालमेल नमिलेको जस्तो देखिएको छ, त्यसले गर्दा केही समस्या पनि भोगिरहेका छौं ।’ उनले राजधानीसँग भने ।
विकासका काम गर्न दिने भनिए पनि कामदारलाई साइट लैजान प्रहरीले स्वीकृति नदिँदा समस्या भएको उनको नेपालीले बताए । सडक डिभिजन कार्यालय काठमाडौंले गत वर्षको लकडाउनको समयलाई उपयोग गरे जसरी नै अहिलेको निषेधाज्ञाको मौका पारेर उपत्यकाका सडक सिंगारपटारका काम अघि बढाएको हो ।
डिभिजन कार्यालय काठमाडौंले पुतलीसडक, पुरानो बसपार्क, भद्रकाली, दरबारमार्ग, अनामनगर, लैनचौरलगायत क्षेत्रमा सडक मार्किङलगायतको काम गरिसकेको जनाएको छ । डिभिजन कार्यालयले बुधबार बबरमहललगायत क्षेत्रमा काम ग¥यो भने आज तीनकुनेसम्मको क्षेत्रमा काम सम्पन्न गर्ने जनाएको छ ।
डिभिजन कार्यालय काठमाडौंले चालू आर्थिक वर्षमा ३० किमी सडकमा मार्किङ गर्ने, सडकबीचको रेखा (सेन्ट्रल लाइन) तान्ने, जेब्रा क्रसिङ, सडक किनारामा पेन्टिङ गर्ने लक्ष्य राखेको छ । निषेधाज्ञा सुरु भएपछि पाँच किलोमिटर सडकमा काम सम्पन्न भइसकेको डिभिजन प्रमुख नेपालीले जनाए ।
उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञामा पनि उद्योग, कलकारखाना तथा आयोजना सञ्चालन गर्न दिने निर्णय गरेका छन् ।