काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई प्लेयर अफ द मन्थको मनोनयनमा सार्वजनिक गरेको हो । कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमान उत्कृष्ट तीनमा परेका हुन् । अब समर्थकले खुला मतदानमार्फत यी तीनमध्ये एक खेलाडीलाई भोट गर्न सक्नेछन् ।
कुशलले अघिल्लो साता नेपालको टी–२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि दिलाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसक्रममा उनले डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो टी–२० आई खेलाडी समेत हुन् । कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए ।
दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाएका थिए । यी दुवै खेलमा नेपालले ९–९ विकेटले सहजै जितेको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सँग कुशलले ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए । उक्त खेलमा नेपाल पराजित भएको थियो । चौथो खेलमा मलेसियासँग १६ र फाइनलमा नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए । फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।
यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ । आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ । आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ ।