पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन सकेको छैन ।
नयाँ सरकार गठनका लागि निर्णायक ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले राष्ट्रिय राजनीति हेरेर मंगलबारमात्र निर्णय दिने बुझिएको छ । पार्टीका संसदीय दलका नेता कृष्ण थापाले भने, ‘अब भोलि (मंगलबार) दिउँसो १ बजेसम्म निर्णय दिनेछौं । आज बैठक बस्न सकेन ।’
गत वैशाख २ मा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मौखिक सहमति जनाएको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अविश्वास प्रस्तावमाथि वैशाख १५ मा संसदमा मतविभाजन हुने दिन आफ्ना पार्टीका सांसद खिमविक्रम शाही एक्कासी हराएपछि खोजी गरी पाउँ भनी पार्टी सचेतक पियारी थापाको निवेदन बमोजिम सभामुखले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । पछि शाही पोखराकै एक अस्पतालको कोभिड वार्डमा फेला परेका थिए । हाल उनी कोरोना संक्रमण मुक्त भैसकेका छन् ।
यसबीचमा लामो समयसम्म छलफलपछि वैशाख २७ मा संसद बैठक बस्ने निधो भएकोमा सोको अघिल्लो दिन नै आफ्नो पक्षमा बहुमत नहुने देखेपछि मुख्यमन्त्री गुरुङले आइतबार साँझ राजीनामा दिएका थिए ।
उनको राजीनामापछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेख प्रमुख सीतादेवी पौडेलले सोमबार विशेष अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य’bout पत्र आएको जानकारी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले दिए ।
यसैबीच, जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न आफ्नो पार्टीका सदस्यलाई ह्वीप जारी गरेकी छन् । उनले सोमबार ह्वीप जारी गर्दै नेपाली काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र समाजवादी पार्टीका गरी ३१ सदस्यको मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन रहेको हुँदा सोको लागि प्रदेश प्रमुख समक्ष सरकार ठन प्रस्तुत गर्ने दाबी पत्रमा अनिवार्य रुपमा संसदीय दलका सदस्यहरुले हस्ताक्षर गर्न ह्वीप जारी गरिएको छ ।
सचेतक थापा नयाँ सरकार गठनका लागि लागिपर्दा संसदीय दलका नेता कृष्ण थापा र खिमविक्रम शाही अहिलेकै सरकारलाई सघाउन लचिलो देखिँदै आएका छन् ।
गण्डकीमा नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ ।