काठमाडौं । जनस्वास्थ्यविद डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । सामाजिक सञ्जाल मार्फत सन्देश प्रवाह गर्दै उनले भनेका छन् ‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं ।’
पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर निस्कन आग्रह गर्दै भन्छन् ‘६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं, भेटघाट बन्द गरौँ ।’
यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जाने उनको भनाई छ । ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।’ उनले भनेका छन् ।
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न आग्रह गर्दै सरकारले कडाइ गरेको हाम्रै लागि हो भन्दै आम सर्वसाधारणलाई कडा सेल्फ लकडाउनमा बस्न आग्रह गरेका छन् ।