उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे पनि थन्किएर बसेको भेन्टिलेटर त्रियुगा नगरपालिका र जिल्ला स्वस्थ्य कार्यालय गाईघाटले सञ्चालन गर्न लागेको हो ।
कोभिडका बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा गत भदौ पहिलो साता जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुई वटा भेन्टिलेटर जनशक्ति अभावमा प्रयोग बिहिन रहेकोमा त्रियुगा नगरपालिकाले जनशक्ति ब्यवस्थापन गरेपछि सञ्चालन हुन लागेको हो । ५ शय्या आईसियु सहित २ शय्या भेन्टिलेटरको व्यवस्था गरिएको छ ।
कोभिड भेरिएन्टका संक्रमितहरु भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भईरहेको अवस्थामा यहाँ भने जनशक्ति अभाबमा थन्किएको भेन्टिलेटर स्थानीय तहको समन्वय र सहकार्यमा सञ्चालन हुन लागेको हो । तर, जिल्ला अस्पताल गाईघाटमा झण्डै वर्ष दिन अघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका थिए ।
प्रदेशबाट प्राप्त एक करोड रुपैंयामा जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लट्याउने) डा.अभाबमा सञ्चालनमा ल्याउन सकेको थिएन् । तर त्रियुगा नगरपालिकाले कन्सल्टेन्ट डा. को ब्यवस्था गरि दिएपछि भेन्टिलेटर सञ्चालनमा आएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । बढ्दो संक्रमलालाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने प्रबन्ध मिलाएको त्रियुगा नगरपालिकाका नगर प्रमुख चौधरीको भनाई रहेको छ ।
अस्पतालमा भएको दुई भेन्टिलेटर सञ्चालन गर्दा कोभिड कहरमा संक्रमितले जिल्लामै उपचार पाउन सक्ने भएकाले प्राबिधिकको ब्यवस्था गरि तत्काल सञ्चालन गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए । ‘गम्भिर कोभिडका बिरामीले जिल्ला बाहिर भेन्टिलेटर नपाएको गुनासो आउँन थालेपछि हामीले समन्वय गरि प्राबिधिकको सञ्चालन गर्यौ ।’ नगर प्रमुख चौधरीले भने । सामान्य कोभिड संक्रमितलाई आईसोलेसनमा उपचार गर्न उदयपुरका आठ वटै स्थानीय तहको प्रयास र लगानीमा उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ बेलटारमा उदयपुर कोभिड अस्प्ताल सञ्चालनमा ल्याई सकेको छ ।
त्रियुगा नगरपालिकाले सोमवार देखि कोभिड संक्रमितको घर घरै पुगेर औषध उपलब्ध गराउने, नगरपालिकाको १६ वटा वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको ५/५ आइसोलेन बेड तयारी गर्ने, प्रत्येक वडामा रहेको स्वास्थ्य संस्थामा नै एन्टिजेन परिक्षण गर्ने ब्यवस्था मिलाएको छ । नगरका असाय, बिपन्न गरिब तथा अपाङ्गलाई निःशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको नगर प्रमुख चौधरीले बताए ।
एकै वडामा १५ जना संक्रमित
त्यसैगरी शुक्रबार एकैदिन ६० जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमित भेटिएकोमा त्रियुगा नगरपालिका– १६ मा मात्र १५ जना भेटिएपछि त्यस वडालाई सिल गरिएको छ । वडाको बेलदोभानस्थित एउटै टोलमा ९ महिला सहित १५ जना संक्रमित भेटिएको वडाध्यक्ष मानबहादुर राईले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सनिवार सम्म सक्रिय संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा २० थान अक्सिजन सिलिण्डर सहितको सेवा सुचारु छ । त्रियुगा नगरपालिकाको सनिवार सम्पन्न कार्यपालिकाको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिकाको बैठकपछि सरोकारवाला निकायसँगको समन्वय र छलफलपछि यस्तो निर्णयमा पुगेको हो ।