कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन् । नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वर्गले आफ्नो जन्मदिन मनाउँदा १३ जना भन्दा बढी अर्थात् १५ जना पुग्दा २० हजार क्रोन जरिमानासहित जनतासँग माफी माग्न प¥यो ।

तर, नेपालमा स्वास्थ्य मन्त्रालयले सचेत र सावधानी गराउँदै गर्दा गाउँबाट बस रिजर्भ गर्दै बजार, सडक र राजधानीमा उतारियो । राजनीतिक अभिष्ट पूरा गर्न जुलुस, भाषण, भिडको कुनै ख्याल गरिएन । तर, लकडाउनपूर्व उपत्यकाबाहिर नागरिक पठाउन कुनै चासो दिइएन, संक्रमितको परीक्षण, उपचारमा ध्यान गएन । जनतालाई घरभित्र थुनेर नेतृत्वकर्ता बैठक, उद्घाटन, सत्ताको जोड घटाऊमा व्यस्त रहे । अप्ठेरो बेलामा नै आफ्नाको पहिचान हुने भएकाले सरकार आफ्नै हो भन्ने वातावरण बन्न सकेन । देशमा कम्युनिस्ट शासन छ, समाजवादको नारा छ तर आमनागरिक भोक, रोगले पडित हुनु भनेको अरूलाई देख्दा पनि लाजमर्दाे छ ।

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्वीकारेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवामा सबैको पहु“च निश्चित तथा गुणस्तरीय सेवा बढाउने उल्लेख छ । देश १५औंै योजनामा चलिरहदा १३औं योजनामा बोलिएका आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा आज पनि बोलिदै छ । महामारीका बेला त सार्वभौम नागरिक शøया, उपचार, अक्सिजन नपाएर अनागरिक बनेका छन् ।

कोरोना जित्न शासन र प्रशासनको भर पर्नुभन्दा आफ्नै अनुशासनको भर पर्नुपर्छ

पहिलो चरणको कोभिडबाट नेपालमा ४० प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी र डिप्रेसनसम्बन्धी समस्या देखिएको थियो

फेरिएको लक्षण

दोस्रो लहरमा संक्रमण मात्र नभई अस्पताल भर्ना हुने र मृत्यृ हुनेको ग्राफ पनि अप्रत्याशित रूपमा थाम्नै नसकिने गरी उकालो लागेको छ । विश्वमा कोरोनाको उतारचढाव देख्दा भाइरस सजिलै हार खानेवाला छैन । कोरोनासँग लड्ने सिपाही स्वास्थ्यकर्मी मात्र होइन औषधि, अक्सिजनलगायत हतियारको समेतको अभाव छ । अहिलेको भर्ना र मृत्यृ युवा जमातको बढी छ । वैशाख १६ मा निषेधाज्ञा सुरु हुन पहिले नै कोरोना परिवारभित्र पसिसकेकाले आजसम्म पनि संक्रमण घट्न र नियन्त्रण हुन सकेको छैन । पहिलो लहरमा सदस्य धेरैजसो संक्रमित देखिँदैनथे भने हाल बढी संक्रामक भाइरसका कारण अधिकांश सदस्य संक्रमित छन् । तसर्थ, आज परिवारका सदस्यबीच पनि धेरै समयसँगै नबिताउन तथा एक अर्कासँग कुरा गर्दा मास्कको प्रयोग अनिवार्य छ ।

एक साताअघि नेपामा संक्रमणदर विश्वमै उच्च तथा हाल दोस्रोमा छ । भियतनाममा २.४ छ भने नेपालमा १.६ छ, अर्थात् भियतनाममा हरेक १० ले २४ र नेपालमा हरेक १० ले १६ जनालाई सार्ने गरेका छन् । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत छ । भाइरसका ३ प्रमुख चरित्रमा अरू प्राणीमा छिर्न सक्ने इन्फेक्टिभिटी रोगमा बदलिएर प्रस्तुत हुने क्षमता याथोजेनिसिटी र एकबाट अर्काेमा सर्ने दर टुान्समिसिबिलिटी पर्छन् । भाइरस १ बाट २ मा पुग्दा भाइरसको सर्ने दर, कडापन बढेको छ र लक्षण तथा प्रस्तुति फरक हुँदै गएको छ । इन्क्युबेसन समय औसत ७ दिनबाट आजको भोलि नै भएको छ । फैलने गति हाल १ बाट ५÷५ बाट २५ अनि १२५/६२५ गर्दै फैलँदै छ । गत वर्ष माइल्डबाट मोडरेट तब कडा क्रमिक रूपमा बन्थ्यो र उपचार योजना बनाउन सकिन्थ्यो तर हालको एकैछिनमा हेर्दाहेर्दै गम्भीर बन्छ ।

९० माथि अक्सिजन राख्न खपत २ गुणाले ज्यादा चाहिने भएको छ । उपचार समय लम्बिएको छ । पहिलो पाँच दिनमा निको भइसकेको जस्तो देखिने तर ८ दिनपछि कडा बन्ने पनि अचम्म छ । ज्वरो, स्वाद र गन्ध हराउनेका अतिरिक्त घा“टी दुख्ने, जिउ, मांशपेसी असह्य दुख्ने, छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने आमलक्षणसँगै पखाला, गन्ध ठयाप्पै थाहा नहुने, भोक ठयाम्मै नलाग्ने, छातीभित्रबाटै बज्ने, दुख्ने गरी ध्वाङध्वाङ सुक्खा खोकी, वाकवाकी र बान्ता थप साझा लक्षण बनेका छन् । अक्सिजन ५० देखि ६० प्रतिशत हुँदा सामन्यसरह बोलिरहने तर हेर्दाहेर्दै एक्कासि कडा बन्ने बढी छन् जसलाई ह्याप्पी वा साइलेन्ट हाइपोक्सिया भनिन्छ । दोस्रो लहरमा प्रस्तुत नया“ भेरियन्टमा नयाँ मुखसम्बन्धी र श्रवणसम्बन्धी दुई लक्षण देखिएका छन् । ¥यालग्रन्थी र मुखका म्युकोसालाई असर पारी खानेकुरा र थुक निल्न गाह्रो हुने गरी मुख सुक्खा, चर्किने गरी ओठ फुट्ने, जिब्रोको रङ बदलिने, पाछिने तथा मुखभित्र खटिरा आउनेजस्ता समस्या छन् । कानको सुन्ने क्षमता सुरुको २ साता गुम्ने, कान बज्ने र रिंगटा चल्ने देखिएको छ ।

तनाव र अनिद्राले हेल्पलेस हुँदै हेल्थवर्कस

युद्धमा खटिएका सिपाही अर्थात् स्वास्थ्यकर्मी बिरामीको जीवन र मृत्युबीचको लडाइँको प्रत्यक्षदर्शी बन्नुपर्दा स्वास्थ्यकर्मीलाई अत्यास लाग्छ, बिरामीको ज्यान जोगाउन नसकेकोमा कोही धुरुधुरु रुन्छन् पनि । अस्पतालका यस्ता दृश्यले स्वास्थ्यकर्मीलाई कमजोर, निराश र हतोत्साहित बनाउँछ । हरेक कोशिस गर्दागर्दै फलको आश नकारात्मक आउँदा दुःखी हुन्छन् । त्यसैमा कोभिडले युवा जमातलाई नै समस्या र मृत्यृ दिँदा थप चिन्ता बढाएको छ । हेल्पलेसले तनाव, चिन्ता, अनिद्रा, डिप्रेसनका लक्षण बढ्दै छन् । काम गर्ने क्षमतामा प्रश्न उठन थालेका छन् । म यो पेसामा योग्य छैन कि भन्ने विचार आउँदै छ । कोभिड महामारीका बेला बिरामीलाई भर्ना लिन नसकेको, आफंैलाई संक्रमण सर्ला कि, बिरामीको छटपटी, बिरामीको मृत्यृ र आफ्नो पेसा र भविष्यप्रतिको पीरले चिन्ता बढेको छ ।

सँगै युद्ध लड्दै गरेको मृत्यृले जसरी सिपाहीलाई असर गर्छ त्यस्तै उपचाररत बिरामी मर्दा स्वास्थ्यकर्मीलाई हुने गर्छ । अस्पतालले मेन्टल हेल्थ डेस्क र साप्ताहिक मानसिक काउन्सिेलिङ गर्न ढिला भइसकेको छ । त्यसो त पहिलो चरणको कोभिडबाट पनि नेपालमा ४० प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी र डिप्रेसनसम्बन्धी समस्या देखिएको थियो । धेरैमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर थियो । केहीमा पछिसम्म नै तर्सिने, झस्किने तथा रुघाखोकीको बिरामीलाई पनि कोभिड हो कि भन्दै आत्तिने थियो ।

बेलैमा उपचार पाए सबै निको

समयमै उपचार पाएका कोरोना भाइरस संक्रमित जुनसुकै प्रकारका निमोनिया भएका के ज्येष्ठनागरिक के दीर्घरोगी अधिकांश निको भइरहेका छन् । सास फेर्न गाह्रो भए, ज्वरो १ सय डिग्री बढी भइरहे, अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भए वा धेरै तलमाथि भइरहे तुरुन्त चिकित्सकीय सल्लाह जरुरत पर्छ । आज पनि संक्रमितमध्ये ८० प्रतिशत बढीमा सामान्य लक्षण छ र घरमै उपचार सम्भव छ । १५ प्रतिशत मध्यमस्तरका छन् र अस्पताल आवश्यक पर्छ । ५ प्रतिशतलाई आईसीयूमा भर्ना गर्ने खालका देखिएका छन् ।

सामान्य समस्या भएका अनावश्यक औषधि र उपचार प्रक्रियामा नअल्झि स्वास्थ्यकर्मीको सल्लाहबमोजिम घरमै प्रशस्त तातो झोलिलो खाना खाए, राम्रो निद्रा र तनावरहित अवस्थामा बसे निको हुन्छन् । निको हुन सामान्य निमोनिया भएकाले घरमै चिकित्सकीय सहयोग पाए ५ देखि ७ दिन, मध्यमस्तरको निमोनिया भए ८ देखि १० दिन र गम्भीर निमोनिया भएकामध्ये ६० प्रतिशतमा १० देखि १२ दिनमा तथा अन्य ४० प्रतिशतलाई ३ देखि ५ साता लाग्छ । बिरामीको उमेर नहेरी लक्षण हेर्दै छातीको एक्सरे रिर्पाेटमा दाग देखिए उपचार प्रक्रिया तुरुन्त सुरु गर्नपर्छ । ढिलो अस्पताल जाने तथा घरमै अक्सिजन लिनेहरूमा जटिलता र मृत्यु छ ।

अन्तमा, हरेक ज्वरो, खोकी, रुघा, जिउको थकान अन्य प्रमाणित नभएसम्म कोभिड हो । पानीमा भिजेका, दही खाएको, बाटोको धुलोले यस्तो गरेको भन्दै गाउँघर चहार्दै नहिडांै । आफन्त भन्दै भेटघाट, विवाह, जात्रा, भोज, मर्निङ वाक बन्द गरौं । जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सेल्फ लकडाउनमा समेत बसांै । तसर्थ कोरोना जति बलियो बन्दै छ, हामी त्यत्ति नै थप बलियो बन्नु छ । कोरोना जित्न शासन र प्रशासनको भर पर्नुभन्दा आफ्नै अनुशासनको भर पर्नुपर्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्)

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने