सरकारलाई कांग्रेसको प्रश्न : तेस्रो लहर रोकथामको तयारी खोई ?

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको तेस्रो लहर पनि आउन सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि सरकारको तयारीप्रति प्रश्न उठाएको छ ।

देशले दोस्रो चरणको मात्र होइन तेस्रो चरणको संक्रमण बेहोर्नुपर्ने चेतावनी विज्ञले दिएको भन्दै कांग्रेसले रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई प्रश्नसहित १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख प्रतिपक्षी दलका हैसियतमा पटक पटक दिइएको सुझाव सरकारले नसुनेको भन्दै पुनः सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा कोरोना भाइरसको अझ बढी घातक नयाँ नयाँ भेरियन्ट देखा परिरहेको र संक्रमितको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको भन्दै रोकथाम तथा नियन्त्रणतर्फ सरकारको तयारीप्रति कांग्रेसले प्रश्न उठाएको हो ।

तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आमजनतालाई खोपको सुनिश्चितता गर्नुपर्ने कांग्रेसले पत्रमा भनेको छ । त्यसका लागि कूटनैतिक पहल तीव्र पार्न र खोप आपूर्ति गर्ने व्यवस्था विचौलियारहित र पारदर्शी बनाउन भनिएको छ ।

यसैगरी पीसीआर परीक्षण न्यून संख्याको कारण संक्रमणको उल्लेखित संख्याभन्दा धेरै बढी हुन सक्ने भन्दै कांग्रेसले संक्रमण समुदाय स्तरमा र छोटो समयमा देशको दुर्गम गाउँमा समेत फैलिएको भनेको छ । संक्रमण फैलिन नदिन पीसीआर बढाउन भनिएको छ ।

अक्सिजनको चरम अभावलाई हटाउन अक्सिजन कन्सेनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउनसमेत पत्रमा माग गरिएको छ भने बिरामीको उपचारका लागि देशका हरेक जिल्लामा आवश्यकताअनुसार अस्पताल बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटर, औषधीसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन भनिएको छ ।

कांग्रेसले बढ्दो संक्रमणसँगै स्वास्थ्य सुविधा नभएका ठाउँको स्थिति नाजुक बनेको तर सरकारको नेतृत्वपंक्तिले स्थितिको वास्तविकतालाई आत्मसात गर्नुको सट्टा आत्मप्रशंसामै मग्न रहेको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनेको छ ।

पत्रमा केही स्वास्थ्य सुविधा भएका ठाउँहरूमा पनि बाहिरबाट आउने बिरामीको अत्यधिक चापले सेवा पु-याउन असम्भव भएको भन्दै कांग्रेसले बढ्दो बिरामीको चापसँगै अक्सिजन र आईसीयू बेडको तड्कारो अभाव देखिन थालेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

सीमानाकामा यथेष्ट परीक्षणको अभाव, होल्डिड सेन्टर र क्वारेन्टाइन केन्द्रको समुचित व्यवस्था नहुँदा देशभित्र द्रुत गतिमा संक्रमण प्रवेश गरेको कांग्रेसले पत्रमार्फत ठहरसमेत गरेको छ ।

सरकारको नेतृत्वपंक्तिको अगुवाइमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन कार्यक्रमले संक्रमण दु्रत गतिमा बढ्न मद्दत पुगेको ठहरसमेत कांग्रेसले गरेको छ । यसैगरी निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रबाट संक्रमण नभएका क्षेत्रमा चाँडो संक्रमण फैलँदो रहेको कांग्रेसले भनेको छ ।

यस्तो महामारी फैलिँदा पनि सरकारको ध्यान प्रभावकारी कदम चाल्न केन्द्रित नभएको तथा भ्याक्सिनको व्यवस्था गर्नभन्दा सरकार कमिसनको चक्करमा लागेको कांग्रेसले भनेको छ । कांग्रेसले कोरोना नियन्त्रणका लागि प्रभावकारी मानिएको भ्याक्सिनको आमनागरिकलाई चाँडोभन्दा चाँडो व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

निषेधज्ञाका कारण श्रमिक र उद्योग मारमा परेको भन्दै कांग्रेसले राहतका कार्यक्रम ल्याउनसमेत सरकारसँग माग गरेको छ । ‘कोभिड—१९ रोकथाम र उपचारका साथै कोभिड प्रभावित निम्न आय भएका आमनागरिक, श्रमिकवर्ग र श्रमजीवी पत्रकार, साना र मध्यम स्तरका व्यवसायीको जीवन निर्वाहको आवश्यकतालाई लक्षित गरी आर्थिक राहत प्याकेजको व्यवस्था गरियोस्,’ कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यसैगरी उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुर्नकर्जा सुविधा र ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

महामारीको बेला स्वास्थ्य मन्त्रालयमा पूर्वाग्रही किसिमले प्राविधिक स्वास्थ्य सचिवको स्थान खाली राखेको आरोप पनि कांग्रेसले पत्रमा लगाएको छ ।

यस्तै, कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ ।

कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको र अस्पतालको महँगो शुल्कका कारण उपचार गर्न सर्वसधारणलाई समस्या भएको कांग्रेसले भनेको छ ।

पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिसनतन्त्रको सम्बन्धित निकायबाट स्वतन्त्र रूपमा छानबिन गर्न पनि कांग्रेसले ज्ञापनपत्रमा भनेको छ ।

निजी अस्पतालले उपचार शुल्क र हेलिकोप्टर कम्पनीले रेस्क्यू सेवा शुल्क अत्यधिक लिने गरेको गुनासो व्याप्त रहेको भन्दै कांग्रेसले शुल्क न्यून गर्न र निम्न आय भएका दूरदराज क्षेत्रका कोरोना संक्रमित नागरिकको उपचार अत्यधिक महँगो हुन गई अकालमा मृत्यु हुने स्थिति बनेको भन्दै त्यस्ता नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी