काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ११ नेतासंग स्पष्टीकरण सोधेको छ । विघटित प्रतिनिधिसभाका ११ सांसदसँग स्पष्टीकरण सोध्दै एमालेले १० जेठभित्र जवाफ पेस गर्न भनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सरकार बनाउन विपक्षीसँग मिलेर हस्ताक्षर गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको छ ।
‘आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई हटाउने र विपक्षीसँग मिलेर अर्को सरकार बनाउने अभियानमा संलग्न रहेको आरोपमा स्पष्टीकरण सोधिएको छ,’ ज्ञवालीले भने, ‘यस्तो अभियानमा लाग्नु गम्भीर विषय हो । कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठ’bout गम्भीरतापूर्वक छलफल भएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई शुक्रबार प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द न्यौपाने, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो ।
‘विपक्षी दलका नेताको पक्षमा हस्ताक्षर गरेकामध्ये कतिले हामीले हस्ताक्षर गरेको छैनौं भनेर वक्तव्य दिनुभएको छ,’ ज्ञवालीले भने, ‘कतिले माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो, त्यसका लागि समर्थन गर्नुस् भनेका कारण उहाँलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरेका हौं । शेरबहादुर देउवाका लागि सहमति छैन भनेर बाहिर प्रतिक्रिया दिनुभएको छ ।’
११ बाहेकका सांसदसँग छुट्टै छलफल गरेर यथार्थ बुझ्ने निर्णय भएको बताउँदै उनले त्यस’bout पार्टीले थप निर्णय गर्नुपर्ने आवश्यक भए सोअनुसार गर्ने जानकारी पनि दिए । स्पष्टीकरण सोधिएका नेताले दिने जवाफका आधारमा पार्टीले थप निर्णय गर्ने पनि उनले बताए । उनका अनुसार केही सांसदले आफ्नो ‘हस्ताक्षर दुरुपयोग भएको’ भन्दै विरोध गरेकाले उनीहरूस“ग स्पष्टीकरण सोधिएको छैन ।
यसैबीच, बाग्मती प्रदेशसभा संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टी आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वास प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालनलगायत आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लंघन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको एमाले बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यसैबीच, एमाले वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने दुराशय बुझेर नै आफूहरूले वैकल्पिक सरकार बनाउन हस्ताक्षर गरेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले संविधान, लोकतन्त्र र स्वयं पार्टी रक्षाका लागि आफूहरूले सबै प्रकारका प्रयास गरेको जनाएका हुन् ।