मुलुकको हितका लागि सत्तारूढ दलको एकता आवश्यक

सत्तारूढ दल नेकपा एमालेमा देखिँदै आएको विवाद र संकट मथ्थर भई पार्टी एकजुट हुन सकेमा त्यो समग्र मुलुककै हितमा हुनेछ । राजनीतिक दलहरू लोकतान्त्रिक शासन व्यवस्था र राजनीतिक प्रणालीका जीवन रेखा (लाइफ लाइन) हुन् । त्यसैले दलका नेताहरूले आफ्नो दललाई लोकतान्त्रिक पद्धति र संस्कार अनुसार अनुशासनपूर्वक सञ्चालन गर्नसके भने मात्रै त्यहाँको राजनीतिक प्रणाली र शासकीय व्यवस्था पनि सफल हुन सक्छ ।

सत्तारूढ दल एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नै पार्टीमा देखिएका समस्या र संकट निवारण गर्ने उद्देश्यले ६ बुँदे एकता प्रस्ताव अघि सारेका छन् । अध्यक्ष ओलीले सारेको सो एकता प्रस्ताव सकारात्मक छ । विशेष गरी एमालेमा असन्तुष्ट समूहका रूपमा रहेको माधवकुमार नेपाल समूहले सुरुदेखि नै राख्दै आएको मागलाई सम्बोधन गर्ने उद्देश्यले अध्यक्ष ओलीले पार्टीलाई २०७५ साल ३ जेठ अघिकै अवस्थामा फर्काउन तयार रहेको स्पष्ट सन्देशसहितको प्रतिबद्धता व्यक्त गरेका छन् । यस अलावा पार्टीमा पुरानै संरचनालाई मान्यता दिनुपर्ने नेपाल समूहको मागसमेत अध्यक्ष ओलीले सम्बोधन गरेका छन् । पार्टीमा देखिएका अन्य समस्या कार्यदलमार्फत हल गर्ने, कसैलाई कुनै किसिमको भेदभाव नगर्ने, पूर्वाग्रह नराख्ने, पार्टीलाई भावनात्मक रूपमा एक राख्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारविरुद्ध सर्वोच्चमा पेस गरिएको रिटमा आफ्नै सांसदले गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त पनि अध्यक्ष ओलीले अघि सारेका छन् । ओलीले एकताका लागि राखेको यो प्रस्तावले पार्टीलाई एकजुट बनाउने भन्दै देशभरमा रहेका एमालेका इमानदार कार्यकर्ताले खुसी व्यक्त गर्दै स्वागत गरेका छन् । उनीहरूले नेतालाई पार्टीलाई एकजुट राख्न दबाब पनि दिएका छन् ।

अध्यक्ष ओलीले गरेको एकता आह्वानलाई नेपाल समूहका केही नेताले सकारात्मक भन्दै स्वागत गरेका छन् भने केही नेताले भने ओलीको एकता सन्देश तत्कालको संकट टार्ने उद्देश्यले ल्याइएको हो भन्दै त्यसप्रति आशंका व्यक्त गरेका छन् । अध्यक्ष ओलीले असन्तुष्ट पक्षको आशंका चिर्न पनि नेपाललगायतका उच्चस्तरका नेतासँगै छलफल गरी छिटोभन्दा छिटो उपयुक्त निकास निकाल्न जरुरी छ । पक्कै पनि देशको सबैभन्दा ठूलो र सत्तारूढ वामपन्थी दलका रूपमा रहेको एमालेलाई फुटाएर कमजोर बनाउन विभिन्न देशीविदेशी तŒवहरू सुरुदेखि नै सक्रिय रहँदै आएका छन् । अहिले पनि विभिन्न स्वरूपमा उनीहरू सलबलाइरहेका छन् । कसरी हुन्छ एमालेलाई फुटाएर मुलुकमा अस्थिरताको बीज रोप्ने गरी उनीहरू लागिरहेका छन् । मुलुकमा अस्थिता मच्चाएर धमिलो पानीमा माछा मार्ने योजनामा उनीहरू छन् । तर, विडम्बना एमालेभित्रै रहेका केही नेताहरू ती कुतत्वको योजनाअनुसार चलिरहेका छन् र एमालेलाई एकजुट हुने अवस्थाबाट रोकिरहेका छन् । दुवै पक्षबीच एकता भएन भने एमाले पार्टीलाई ठूलो क्षति पुग्नेछ । यसले मुलुकको कम्युनिस्ट आन्दोलनमा नै गम्भीर धक्का पुग्ने निश्चित छ । एमालेमा समाहित नभई अर्कै पार्टी खोल्ने मनशाय बोकेकाहरूको राजनीति विर्सजनतर्फ जानेछ । उनीहरूले जेजस्तो अहंकार पाले पनि उनीहरू पतन हुनेछन् भने एमालेको संस्थापन पक्ष पनि पार्टीलाई एकजुट राख्न नसक्दा दिन प्रतिदिन कमजोर हुँदै जान सक्छ र त्यसको फाइदा प्रतिक्रियावादीले लिनेछन् । त्यसैले पनि त्यस्तो अवस्था आउन नदिन एमालेको संस्थापन र असन्तुष्ट दुवै पक्ष संवेदनशील र सचेत बन्दै पार्टीलाई एकजुट राख्न सक्नुपर्छ । पार्टी एकजुट भएमा मात्रै सरकारको काम पनि प्रभावकारी हुन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा मत गणना सुरू