ब्रुसेल्स । फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियमले युरोकपअघिको तयारी खेलमा विश्व उपविजेता क्रोएसियालाई १–० ले पराजित गरेको छ । बेल्जियमको जितमा इटालियन च्याम्पियन इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले गरेको गोल नै निर्णायक बन्यो ।
ब्रुसेल्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियमको जितमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३८औं मिनेटमा क्रोएसिएन डिफेन्डरले क्लियर गर्न नसकेको बललाई जाली चुमाएका थिए । लुकाकुले गोल गर्नुअघि ड्रिएस मेर्टिन्स र लुकाकुकै हेडर क्रसबारमा लागेर फर्किएको थियो । अब बेल्जियम र क्रोएसिया युरोकपमा होमिनेछ । समूह ‘बी’मा रहेको बेल्जियमले युरोकपमा १३ जुनमा रसिया, १७ जुनमा डेनमार्क र २२ जुनमा फिनल्यान्डसँग खेल्दै छ ।
यस्तै समूह ‘डी’मा रहेको क्रोएसियाले १३ जनुमा इंग्ल्यान्ड, १८ जुनमा चेक रिपब्लिक र २३ जनुमा स्कटल्यान्डको सामना गर्नेछ । यस्तै, अर्काे खेलमा रियाद महारेजको गोलमा अल्जेरियाले मालीलाई १–० ले पराजित गरेको छ । अस्ट्रिया र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् ।
यता, युरोकपअघिको अन्तिम तयारी खेलमा इंग्ल्यान्डले रोमानियालाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । बल पोसेसनमा पकड बनाएको इंग्ल्यान्डको गोलका लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।
सब्सिच्युट डिफेन्डर कापुसाले पेनाल्टी बक्समा ज्याक ग्रेयालिसलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसलाई टोलीको कप्तानी गरिरहेका रासफोर्डले चुकाएनन् । त्यसको १० मिनेटपछि इंग्ल्यान्डको अर्काे पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । रोमानियाका कप्तान भ्लाड चिरिचेसले ग्रेयालिस र डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि इंग्ल्यान्डले दोस्रो पेनाल्टी पाएको थियो । तर, जोर्डन हेन्डरसनको पेनाल्टीलाई रोमानियाका गोलरक्षक फ्लोरिन निताले बचाउँदै इंग्ल्यान्डको अर्काे गोल टारे ।
त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्डले जित निकाल्न सफल भयो । गत अक्टोबरमा बेल्जियमसँग १–० को हारपछि इंग्ल्यान्डको यो शतप्रतिशत छैटौं जित हो । यसक्रममा इंग्ल्यान्डले आइसल्यान्ड, सान मारिनो, अल्वानिया, पोल्यान्ड र अस्ट्रियालाई पराजित गरेको छ । अब युरोकपमा समूह ‘डी’मा रहेको इंग्ल्यान्डले १३ जुनमा क्रोएसिया, १९ जुनमा स्कटल्यान्ड र २३ जुनमा चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ ।
गत मार्चमा विश्वकप छनोटमा नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेयता रोमानियाको यो लगतार चौथो हार हो । यसक्रममा रोमानियाले जर्मनी, अर्मेनिया र जर्जियासँग हार बेहोरेको छ । युरोकपमा छनोटमा पर्न असफल रोमानियाले अब आगामी सेप्टेम्बरमा विश्वकप छनोट खेल्नेछ । यस्तै, नेदरल्यान्ड्सले जर्जियमाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे ।
समूह ‘सी’मा रहेको नेदरल्यान्ड्सले १४ जुनमा युक्रेन, १८ जुनमा अस्ट्रिया र २१ जुनमा नर्थ म्यासेडोनियाको सामना गर्नेछ । यता युरोकपमा स्थान बनाउन असफल जर्जियाले अब सेप्टेम्बरमा विश्वकप छनोटका खेल खेल्नेछन् ।