Saturday, July 24, 2021
Homeबिचारनेपाली राजनीति, दलीय अनुशासन र इमानदारिता

नेपाली राजनीति, दलीय अनुशासन र इमानदारिता

श्यामप्रसाद मैनाली,

नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनको मुख्य एजेन्डा भनेकै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नु हो । देशको सर्वांगीण विकासका लागि राजनीति गुणस्तरयुक्त र स्वस्थ प्रतिस्पर्धामा अघि बढ्नुपर्नेहुन्छ । हाम्रा राजनीतिक दलहरूका विधान, शीर्ष नेतृत्व र दलहरूलाई जीवन्तता प्रदान गर्ने कार्यकर्ता सबैले प्रतिबद्धताका साथ देशलाई समृद्ध बनाउन इमानदरिता साथ भूमिका निर्वाह गर्न पद्धतिको विकास र सुदृढीकरण गरिँदा मात्र गन्तव्यमा पुग्न सकिन्छ । यसका लागि पहलकदमी राजनीतिक दलहरूले लिनुपर्नेहुन्छ ।

तर, २०४६ सालदेखि आजसम्मका राजनीतिक घटनाक्रम र क्रियाकलापलाई विश्लेषण गर्दा अवस्था सकारात्मक देखिँदैन । राजनीतिक दलहरूले आफ्ना दलबाट सरकारमा गएकाहरूको मूल्यांकन गरी उनीहरूलाई सरकारमा निरन्तरता दिने वा फिर्ता बोलाई दलीय कारबाही गर्ने परिपाटी बसाएका छैनन् । दलहरूका विधानहरूमा दलीय अनुशासन कायम गर्न संस्थागत प्रबन्ध गरिएको पाइन्छ । जनताहरूले दबाब दिएका सीमित विषयबाहेक यस्तो अनुशासन कायम गर्न क्रियाशिलता र निरन्तरता पाइँदैन । मिडिया, नागरिक समाज र जनदबाबको सामना गर्नुपर्ने परिस्थितिलाई निस्तेज पार्न मात्र अनुशासनको कारबाही भएको देखिएको छ । मूलतः अनुशासनको कारबाहीको अभावमा २०७३ र २०७४ सालमा सम्पन्न तीनवटै तहहरूको निर्वाचनमा नेपाली कांग्रेसले शर्मनाक पराजयको सामना गर्नुपरेको यथार्थता सबैका सामु प्रस्ट छ ।

राजनीतिक दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई अभयदान प्रदान गर्दा कानुनी शासनको पालना हास्यास्पद बनेको छ । चरम आर्थिक विशृंखलता र भ्रष्टाचार बढेको छ । राजनीति गुणस्तरयुक्त र प्रजातान्त्रिक नभइदिँदा देश अस्तव्यस्त बन्दै गएको छ । दलहरूले यसलाई रोक्नेतर्फ ध्यान दिन सकिराखेका छैनन् । यस परिस्थितिका कारण विकृति र विसंगतिका उदाहरण थुप्रै भेट्न थालिएका छन् । राजनीति आफैं अनुशासित र मर्यादित नभइदिँदा सरकारी, अर्धसरकारी र निजी क्षेत्रहरू बेलगाम बनेका छन् । सबै विकृति र विसंगतिहरूको प्रत्यक्ष र अप्रत्यक्ष असर सर्वसाधारण जनतामाथि परेको छ । सांसद खुलेयाम भ्रष्टाचारका लागि दलाली गर्ने, ज्यान मार्ने, कूटनीतिक राहदानीको दुरुपयोग गर्ने, मन्त्रीहरू कर्तव्यरत कर्मचारीलाई कार्यकक्षमा नै गई कुटपिट गर्ने निर्भीकताका साथ पत्रकारिता गर्ने इमानदार पत्रकारलाई कारबाही गर्छन् । प्रधानमन्त्री अपराध गर्ने मन्त्रीलाई कारबाही गर्न सक्तैनन् । कर्तव्यपरायण कर्मचारीलाई थप पीडा हुने प्रकारले सरुवा गर्छन्, अपराध गर्ने मन्त्रीलाई कारबाही गर्न उत्साह देखाउँदैनन् ।

आफ्नो दल सत्तामा पुगेका बखत ब्रह्मलुट गर्ने प्रवृत्तिमा दलीय नियन्त्रण जरुरी छ

राजनीतिक आवरणमा अपराध बढ्दै गयो । राजनीतिक दलहरूले अपराधीहरूलाई दिइने संरक्षण र यिनै अपराधीहरूको आडमा राजनीति गर्ने भएकाले जघन्य अपराधमा संलग्न व्यक्तिउपर मुद्दा चलाउन नै नदिने गरी प्रहरी प्रशासनमा मात्र होइन न्यायालयमासमेत हस्तक्षेप गर्ने र मुद्दा दायर हुँदा पनि फिर्ता लिने निर्णय अत्यन्त सहज बन्दै गयो । हत्याको अभियुक्तलाई प्रजातन्त्र प्राप्त भएपश्चात् महत्वपूर्ण मन्त्रालयमा मन्त्री बनाउने कार्य भयो । हत्याको राजनीतिले अत्यधिक प्रश्रय पाउँदै गयो । जनताको स्वतन्त्रतापूर्वक बाँच्ने हकअधिकारलगायतका मौलिक हकहरूको संरक्षण राजनीतिले गर्नुपर्नेमा पदासीन भइरहने आकर्षणमा लिप्त भई अधिकारबाट वञ्चित गराउने काम हुँदै गयो । रानीतिक दलहरू पारदर्शी र जवाफदेही आफ्ना मतदाताउपर हुँदा मात्र लोकतन्त्र सुदृढ हुने गर्छ । यसको अभावमा अघिबढेको राजनीतिक उन्माद क्षणिक हुने गर्छ । हाम्रो राजनीतिले आर्थिक जवाफदेहिताको आवश्यकता बोध नैै गरेको देखिएन । राजनीतिक दलहरूले निर्वाचनका समयमा गरिने ठूलो धनराशिको खर्च, प्रत्येक राजनीतिक दलहरूले आफ्ना खातामा रहेको रकम, त्यसको स्रोत, प्रयोजन, विभिन्न तहका कार्यकर्ताबाट उठाइएको लेभी, व्यक्तिहरूबाट प्राप्त सहयोगको राशि, विभिन्न संघसंस्था र व्यक्तिबाट उठाइएको चन्दा रकम सबै पारदर्शी गर्ने गरेका छैनन् । विकास निर्माणका बजेट केन्द्र र स्थानीय स्तरका टाठाबाठाभन्दा तल मुस्किलले पुग्छ । यस्तो रकमको सदुपयोग भएको कल्पना गर्ने हो भने यस्ता विलक्षण क्षमता भएका हामी नेपालीले धेरै ठूलोे प्रगति गरिसक्ने थियौं । भएको छ केवल भ्रष्टाचारको विकेन्द्रीकरण । राजनीतिज्ञहरूको चाहना पूरा गर्ने क्रममा कर्मचारी संयन्त्र पनि नराम्ररी भ्रष्टाचारको चास्नीमा डुबेकै छ ।

यस अवस्थाबाट राजनीतिक दलहरूको विश्वसनीयता जनतामाझ खासै स्थापित हुनसकेको देखिँदैन । इमानदार र त्यागी राजनीतिज्ञहरू छायामा पर्दै गएका छन् । यस्ता वर्गका राजनीतिज्ञहरू जो नेतृत्वमा छन्, यिनीहरूले मूल्य, मान्यता र आस्थाको माला एक्लै जप्नुपर्ने स्थिति छ । कूटनीतिक राहदानी दुरुपयोगमा रंगेहात विदेशी भूमिका पक्राउ परेका व्यक्तिलाई यस देशमा पुनः सांसद बनाइएको छ । आफ्नै नेतालाई संसद्मा खुलेआम भ्रष्टाचारीको आरोप लगाउने, पार्टी फुटाउन उल्लेख्य भूमिका निर्वाह गर्नेलाई उच्च पदमा आसीन गराइएको छ । अमर शहीदका सन्ततिका लागि छुट्याइएको सिटमा आफ्नै सन्तानलाई विदेश पढ्न पठाउने पनि दलीय राजनीतिमा जमेका छन् । नियमावलीले संशोधन गरी आफ्ना नातालाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने, शैक्षिक गुणस्तर अत्यन्त कमजोर भएका आफ्ना सन्ततिलाई विदेशीहरूसँग अनुनय विनय गरी विदेश पढ्न पठाउनेहरू पनि दलीय राजनीतिमा प्रभावशाली देखिएका छन् । जनताबाट तिरस्कृतहरू लोकतन्त्रमा पुरस्कृत भएका छन् । संसदीय दलको निर्देशनविपरीत फ्लोरक्रस गरिँदा पनि कुनै कारबाही हुँदैन । यस परिस्थितिले कानुनको शासन, पारदर्शिता र जवाफदेहिता विशुद्ध कथनमा आधारित विषय मात्र हुन् भन्ने प्रमाणित गर्दै गएको छ । यसले निश्चय पनि लोकतन्त्रको सुदृढीकरण गर्न सक्दैन ।

जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि यदि देशको राजनीति जनता र समुच्च देशको पक्षमा अथवा लोकतन्त्र सुदृढीकरणका लागि अघि नबढ्दा जनआन्दोलनले आँधी बेहेरी सिर्जना हुने गरेको छ र सबै जनआन्दोलन सफल हुँदै गएका छन् । तसर्थ, जनताले पुनः आपैंmले आन्दोलन गरी ल्याएको लोकतन्त्रको विकल्पमा आन्दोलन गर्ने परिस्थिति सिर्जना हुन दिनु हाम्रा राजनीतिक दल र यसका पात्रका लागि हितकर हुँदैन । जनस्तरबाट असन्तुष्टि व्यक्त हुन थालेका घटना बारम्बार घटेका, घटाउने प्रयास भएको छापामार्फत जानकारी भएको अवस्था छ । तसर्थ, राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता नेतालाई परिचालन गर्दा केही साझा नीति एवं मापदण्ड स्थापित गरी अघि बढ्नुपर्ने परिस्थिति देखिएको छ । सर्वप्रथम सबै दलहरू व्यवहारमा नै जनताप्रति जिम्मेवार एवं जवाफदेही हुनुपर्छ । यसका लागि आफ्ना क्रियाकलाप, कार्यक्रम, आर्थिक कारोबार सबै पारदर्शी बनाउनु अपरिहार्य भएको छ । एउटा सबल कानुन बनाउनुपर्छ, जसमा निर्वाचनलाई कम खर्चिलो बनाउने उपाय जस्तैः आर्थिक सहयोग लिने रकमको हद, त्यसको प्रयोजन, प्रचारप्रसारका समय सीमा निर्धारण, खर्चको हद निर्धारण यी सबै क्रियाकलापको स्वतन्त्र नागरिक आयोगद्वारा सुपरीवेक्षण, अनुगमन एवं परीक्षण अनिवार्य गरिनुपर्छ । यसबाट निर्वाचनमा हुने अत्यधिक खर्चमा नियन्त्रण हुन जान्छ ।

निर्वाचन आर्थिक लगानीका रूपमा स्थापित हुँदै गएको वर्तमान अवस्थाबाट देशले मुक्ति पाउँछ । दोस्रो हो, राष्ट्रको काुनविपरीत अपराध गर्ने जो कोही नेता एवं कार्यकर्तालाई अविलम्ब कारबाही गरिनुपर्छ । त्यस्तो कारबाहीबाट कानुन र विश्वासयोग्य हिसाबले सफाइ नपाएसम्म कुनै पनि स्तरको राजनीतिक जिम्मेवारी निजहरूलाई दिइनुहुन्न । तेस्रो हो, सरकारी आयव्ययको विवरणमा नै राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूका लागि निश्चित रकम विनियोजन गरी दिने यसबाट भ्रष्टाचार एवं अनियमित कार्यबाट प्राप्त रकम खर्च गरी दल सञ्चालन गर्ने परिपाटीमा सुधार सम्भव हुने देखिन्छ । यस प्रकारको अभ्यास अन्तर्राष्ट्रिय जगत्मा पनि पाइएको छ । चौथो हो, व्यापारी, उद्योगीलगायतबाट सहयोग राजनीतिक दलहरूले लिँदा यो वर्गले अवसरका रूपमा लिएका हुन्छन् र निर्वाचनपश्चात् आफ्नो लगानीको भरपुर फाइदा उठाउन लागि पर्छन् । सरकारलाई प्रभाव पार्छन्, जनतालाई महँगी र अन्यायको मारमा पार्छन् । यस्तो कार्य जनतालाई किमार्थ स्वीकार्य हुँदैन । पाँचौं हो, यी सबै क्रियाकलापको सार्वजनीकरण जरुरी हुन्छ । जसबाट पारदर्शिता र विश्वसनीयताको प्रत्याभूति होस् ।

दलहरूबाट निरन्तर आफ्ना नेता, कार्यकर्ता र सरकारमा रहेका व्यक्तिको क्रियाकलापबारे सूक्ष्म अवलोकन भइरहनुपर्छ

सबै विषय कानुनले समेट्दैन । दलहरूको र त्यसमा आबद्ध नेता एवं कार्यकर्ताहरूको नैतिकता धेरै ठूलो विषय हुने गर्दछ । सार्वजनिक पदधारण गर्नेले उपयुक्त सोचेको कार्य उपयुक्त ढंगले गरिँदा जनसमर्थन प्राप्त हुनेमा द्विविधा छैन । किनकि, व्यक्ति जो कोहीलाई ढाँट्न सक्छ, केही समयका लागि तर रति भर पनि आफैंलाई ढाँट्न र छिपाउन सक्दैन । सत्तामा भएका बखत र आफ्नो दल सत्तामा पुगेका बखत ब्रह्मलुट गर्ने प्रवृत्तिमा दलीय नियन्त्रण जरुरी छ । नैतिक धरातलको कुरा गर्दा हामीले निरंकुश व्यवस्था भनी समाप्त गरिदिएको पञ्चायती समयका केही राम्रा उदाहरणबाट पनि सिक्नुपर्नेहुन्छ । उल्लेख गर्न खोजिएको विषय केही पञ्चहरूमा रहेको नैतिक धरातल हो । २०२८ सालमा सिंहदरबारमा आगलागी भयो, प्रधानमन्त्रीले राजीनामा गर्नुभयो । दशरथ रंगशालामा हावाहुरीका कारण भागदौड मच्चिई थुप्रै मानिसको मृत्यु भयो, सम्बन्धित मन्त्रीले राजीनामा दिनुभयो ।

सोभियत संघमा आयोजित ओलम्पिक खेलमा नेपालले सहभागिता दिन्छ भनी भाषण गर्दा सम्बन्धित सहायक मन्त्रीको राजीनामा आएको थियो । सिंहदरबार आगलागीमा तत्कालीन प्रधानमन्त्रीको, रंगशालामा घटेको दुर्घटनामा सम्बन्धित मन्त्रीको, पछि सरकारले खेलाडी रुसमा भाग लिन पठाउने निर्णय ग¥यो तर सम्बन्धित सहायक मन्त्रीले मन्त्रिपरिषद्को निर्णय नआउँदै भाषण गरेका थिए, जसको राजनीतिमा ठूलो अर्थ लाग्ने अवस्था थियो । त्यस बखत यी तिनै जनाले ठूलो अपराध केही गरेका थिएनन् । संयोगवश नैतिकताका आधारमा राजीनामा गर्ने तीनै पदाधिकारी विष्ट थरका थिए । यद्यपि, उनीहरूको राजनीतिक भूमिकालगायतका विषयमा थुप्रै प्रश्न खडा हुन सक्छन् । पञ्चायत निरंकुश व्यवस्थाका राजनीतिज्ञ नैतिक धरातलका आधारमा पदबाट राजीनामा दिन्छन् ।

हामी लोकतन्त्रवादीहरू यस दिशामा अझ बढी खरो उत्रिनुपर्छ । यदि यी सबै परिवेशमा गम्भीरतापूर्वक चिन्तन गरी अघि बढिएन भने हालका राजनीतिज्ञ र राजनीतिक दलहरूको भविष्यमा पनि प्रश्न चिह्न खडा हुनेछ । जनताले आफूमाझ दिएका अभिव्यक्ति, जनतासँग बसी १ कप चिया मागेर खानेहरूको आर्थिक तरक्की, सामाजिक तडकभडक राम्ररी नियाल्न नेपाली जनतासक्षम भइसकेका छन् । यी सबै विषय तथ्यमा आधारित र जनताको स्तरबाट पटकपटक आएका अभिव्यक्तिका आधारित भएकाले पनि जनताका नाममा राजनीति गर्नेहरू सबैले मनन गर्नुपर्ने अवस्था छ । अपवादमा रहेका इमानदार, निष्ठावान् कार्यकर्ता एवं नेताहरूको भावनामा यस लेखबाट कुनै ठेस नलागोस् किनकि, उनीहरूको चाहना निष्ठाको राजनीति, पद्धतिको विकास र सदैव जनताकै लागि काम गर्ने गरी अघि बढ्छ । साथै राजनीतिक दलहरूले सरकारमा रहँदा आफ्नो दलको सरकारलाई निश्चित नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिने र प्रतिपक्षमा रहँदा जिम्मेवार र स्वस्थ प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनविश्वास आर्जन गर्दै अघि बढ्नु अपरिहार्य भएको छ । साथै दलहरूबाट निरन्तर नेता कार्यकर्ता र सरकारमा रहेकाको क्रियाकलापको सूक्ष्म अवलोकन गरिरहनुपर्छ । तथ्यमा आधारित भएर दण्ड तथा पुरस्कारको नीति अवलम्बन गर्नुपर्छ । यसले समुच्च राजनीतिप्रति जनधारणा सकारात्मक बन्दै जानेछ ।

Loading comments...

आजको समाचार

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

साताका लोकप्रिय समाचार

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

फेरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं ।  मनसुनी वायुको प्रभावले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी न्यून चापीय रेखा...

प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

ट्रेन्डिङ

तलब कटौती गर्दै नेयमार बार्सिलोना जान तयार

पेरिस । ब्राजिली स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट क्याटलान क्लब बार्सिलोना फर्कन आफ्नो पारिश्रमिकको ५० प्रतिशत कटौती गर्न तयार रहेका बताएका छन् ।...

शाहीलाई जिम्मेवारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ । ‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?