बजारमा नयनराज पाण्डेको ‘जियरा’

Print

 

काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको, मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञा हुने हल्लाले पुस्तकलाई बजारमा पठाउन नसकेको प्रकाशन संस्था फाइनप्रिन्टले जनाएको छ ।

‘असार १ देखि भने पूरै दिन नभए पनि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णयले पुस्तकप्रेमीहरूलाई उत्साहित बनाएको छ । यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ फ्लेबरको पुस्तक पढ्न पाऊन्, उनीहरूलाई नयाँ खुराक मिलोस् भनेर फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको जनाएको छ ।

यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् । ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’ ‘जियरा’मा सङ्गृहीत कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ ।

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।

लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने । यसको मूल्य ४७५ रुँपैयाँ छ ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क