वर्षायामसँगै कैलालीका नदीमा डल्फिन देखिन थाले

तस्विर : नेपाली टाइम्सबाट

 

धनगढी । वर्षायाम सुरू भएसँगै कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ डल्फिन देखिन थालेका हुन् ।

पानी कम भएको बेला गहिराइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया, काँढालगायत नदीमा आइपुग्ने गर्दछन् ।

वर्सेनि वर्षातको समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन ३ मिटरको दूरीमा हेर्न सकिन्छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुंगानाका अनुसार यो वर्ष पहिलो वर्षातको समयमा २ वटा भाले पोथी तथा २ वटा बच्चाहरू गरी ४ वटा डल्फिन देखिएको जानकारी दिए ।

नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घाङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसिएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मी बताउँछन् । गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन् । माछालगायतको जलीय जीव डल्फिनको आहारा हो ।

कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ । कैलालीका नदीमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ । डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ । महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतका कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मीको भनाई छ ।

डल्फिन देखिने नदीमा प्रशस्त मात्रामा घोडियाल र मगर गोही पनि हेर्न सकिन्छ । उक्त क्षेत्रमा घडियाल र मगर गोही प्रायः सबै समय बस्ने गरेको जनाइएको छ । डल्फिन अवलोकनका लागि टिकापुर–७ मा २ वटा भ्युटावर, भजनी–३ मा १ वटा भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएका छन् । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले भजनी–८ मा भजनी नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणधीन भइरहेको रहेको जानकारी दिए । डल्फिन अवलोकनका लागि २ वटा ढुंगासमेत उपलब्ध गराइएको छ ।

अध्यक्ष ढुंगानाका अनुसार जथाभावी नदीमा फोहोर फाल्दा प्रदुषण बढदै गएको तथा अव्यवस्थित ढल निकास, ठुला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौती थपिएको छ । यसको सही तरिकाले व्यवस्थापनका लागि तीनै तहका सरकारले गुरुयोजना बनाउन आवश्यक रहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित