लन्डन । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’को खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
खेलको ११औं मिनेटमा जोन स्टोन्सको हेडरमा क्रसबार बाधक बन्दा इंग्ल्यान्डले अग्रता लिन सकेन । मेसन माउन्टको कर्नरमा सिक्स यार्ड बक्सभित्रबाट फ्रि हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो । लगत्तै माउन्टको प्रहारले गोलको दिशा लिन सकेन । ३०औं मिनेटमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । स्कट ओडनलले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई पिकफोर्डले दायाँतर्फ डाइभ दिँदै बचाएका थिए । त्यसै रिबाउन्डमा चे एडम्सले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन् । ६२औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट लिन्डन डाइक्सको हाफ भलीलाई गोलरक्षक पिकफर्डले विफल पारे पनि गोल हुन लागेको रिबाउन्डलाई रिस जेम्सले हेडर क्लियर गर्दा स्कटल्यान्ड अग्रता लिनबाट चुक्यो ।
आइतबार हुने खेल
समूह ‘ए’– इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)
समूह ‘ए’– स्विट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)
क्रोएसिया र चेकको बराबरी
त्यसअघि ह्याम्डेन पार्क ग्लास्गोमा भएको समूह ‘डी’ कै खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा सकियो । १८औं मिनेटमा प्याट्रिक सिकले सहज अवसरको सदुपयोग गर्न नसक्दा चेकले अग्रता लिनबाट चुक्यो । भ्लादिमिर सौफालको लो क्रसमा सिकले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार फितलो हुँदा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै बचाए । त्यसअघि चौथो मिनेटमा चोमस सुचेकको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।
२३औं मिनेटमा छोटो कर्नरपछि कप्तान लुका मोड्रिचले दिएको पासमा इभान पेरिसिचको प्रहार सिधै गोलरक्षक टोमस भाच्लिकको हातमा पुगेको थियो । ३७औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । सिकले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै प्रतियोगितामा व्यक्तिगत तेस्रो गोल गरेका थिए । लगत्तै अर्कातर्फ क्रोएसियाका एन्टी रेविचको प्रहार पोस्टभन्दा थोरै बाहिरिँदा खेल बराबर गर्ने सुवर्ण अवसर खेर फाले ।
पहिलो हाफको इन्ज्युरी समयमा आन्द्रे क्रामारिचले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार पोस्टमा नपुग्दा चेकले पहिलो हाफमा १–० को अग्रता बनायो । दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट फार पोस्टतर्फ गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । छोटो फ्रिकिकमा छरितो मुभ बनाएको क्रोएसियाका लागि क्रामारिचको पासमा पेरिसिचले गोल गरेका थिए । ७२औं मिनेटमा वैकल्पिक खेलाडी निकोला भ्लासिचले भार्दिओलको क्रसलाई दिशा दिन नसक्दा क्रोएसियाले अवसर सदुपयोग गर्न सकेन । त्यसको केहीबेरमा नै एडम ह्लोजेकको प्रहार क्रसबारभन्दा थोरै माथिबाट जाँदा चेकले अग्रता लिन सकेन ।
८८औं मिनेटमा ब्रुनो पेत्कोभिचले क्रोएसियालाई अग्रता दिलाउन सकेनन् । पेरिसिचको पासमा पेनाल्टी क्षेत्रभित्रबाट उनले गरेको प्रहार चेकका डिफेन्डर टोमस कालासले छेक्दै कर्नर बनाएका थिए । यस बराबरीसँगै चेक रिपब्लिक नै समूहको शीर्ष स्थानमा कायम रहेको छ । चेक र इंग्ल्यान्डको समान ४–४ अंक भए पनि गोलअन्तरमा इंग्ल्यान्ड पछि छ । क्रोएसिया र स्कटल्यान्ड १–१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।