इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार हौँ भनि रकम ठगी गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ६ जुटविकासका ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैँचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेका छन् । असार ४ गते बेलुका ६ बजे रतुवामाई १० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैँया तथा विभिन्न कागजपत्र बरामद भएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही एक हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।
उनीहरुले हामी बनको कर्मचारी र पत्रकार हौं, कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर, त्रास, धम्की दिई विभिन्न काठ मिलहरूमा रकम उठाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विभिन्न ठाउँमा ठगी गरेका उनीहरुको साथमा रहेको कागजपत्र बरामद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।