सोमबारभित्रमा हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई ओलीको अल्टिमेटम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षर सोमबारभित्रमा फिर्ता लिन अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले सोमबार साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिन अल्टिमेट दिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन बैठकले निर्देशन दिएको छ ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गराइयोस् भनी हस्ताक्षर बुझाएका एमालेका नेताहरूलाई आफ्नो हस्ताक्षर फिर्ता लिन केन्द्रीय कमिटीले निर्णय गरेको छ ।

एमाले केन्द्रीय कमिटी बैठक

बहुदलीय प्रणालीमा दलको निर्णयविपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ । पार्टी एकताको पक्षमा उभिन र आफ्नै पार्टीका अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गर्दै प्रमुख प्रतिपक्षी दलका अध्यक्षलाई प्रधानमन्त्री बनाउने अभियानमा नलाग्न बैठकले ध्यनाकर्षण गराएको छ ।

‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहना, हित केहीसँग पनि मेल खाने विषय होइन’ ज्ञवालीले भने, ‘त्यो हस्ताक्षरलाई आउने सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्न हामीले आह्वान गरेका छौं । र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णयविपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पनि सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौं ।’

– नेपाल समूहद्वारा बैठक बहिष्कार

अहिले पार्टीभित्र देखिएका समस्याका कारण देशभर जनता तथा पार्टी नेताकार्यकर्तामा निराशा र विपक्षीमा उत्साह देखिएको उनले बताए । पार्टी कार्यकर्ताको भावनालाई केन्द्रमा राखेर एकतामा योग्दान गर्न नेता कार्यकर्तामा बैठकले आह्वान गर्ने निर्णय गरेको छ ।

‘सबै नेताकार्यकर्तालाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई जनचाहाना, कार्यकर्ताको भावनालाई केन्द्रबिन्दुमा राखेर एकतामा योगदान गर्न पुनः एकपटक आह्वान गरेका छौं,’ उनले भने ।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले समेत पार्टी एकताका लागि आह्वान गरेका छन् । दुई दिनभित्रमा हस्ताक्षर फिर्ता लिएर पार्टी एकताका लागि अघि बढ्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले यदि दुई दिनभित्रमा हस्ताक्षर फिर्ता नलिए पार्टी एकतासमेत नहुने चेतावनी नेपाल समूहलाई दिएका छन् ।

‘हस्ताक्षर फिर्ता लिनमा फेरि म आग्रह गर्छु । यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने छुट एमाले सदस्यलाई छैन । यो किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा गर्नु हो,’ अध्यक्ष ओलीले भने ।

हस्ताक्षर फिर्ता लिन आग्रह गरेका ओलीले वरिष्ठ नेता नेपाललाई भेटेर छलफल गर्न खोजेका बताए । ‘मैले फोन गरेर भेटौंभन्दा उहाँ मान्नुभएन । हिजो बेलुकी मैले २०-२५ मिनेट कुरा गरें । उहाँले त फोन नै उठाउने मन थिएन साथीहरूको दबाबले मात्र उठाए भनेर भन्नुभयो,’ ओलीले भने ।

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको कार्यशैलीप्रति विरोध जनाउँदै आएका उपाध्यक्ष गौतम शुक्रबारको बैठकमा सहभागी हँुदै पार्टी एकताका लागि आफूलाई जिम्मेवारी दिन मागसमेत गरेका छन् ।

‘म तपाईकोमा आइसकें, अब फर्किन्न । आजको आवश्यकता पार्टी एकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई छिन्नभिन्न पार्न खोज्दै छ हामीले बुझ्न आवश्यक छ । म यति दिनभित्र त भन्दिनँ तर मैले जिम्मेवारी पाएँ केही दिनभित्रमा एकता गर्छु । एमालेभित्रै र पछि अन्य पार्टीसँग समेत एकता गर्न सक्छु,’ गौतमले भने ।

उपाध्यक्ष गौतमले आफूमाथि विश्वास गर्न आग्रह गर्दै पहिला एमालेका वरिष्ठ नेता नेपाल र पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत एकता गरेर देखाउन सक्ने बताए । बृहत् कम्युनिस्ट एकताका लागि नेपाल र प्रचण्डलाई समेत एकै ठाउँमा ल्याउन आवश्यक रहेको उनले बताए ।

आफू सधैं पार्टी एकता र कम्युनिस्टबीच बृहत् एकता हुनुपर्ने पक्षमा रहेको बताउँदै कम्युनिस्ट आन्दोलन जोगाउन एकताको विकल्प नभएको बताए । अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै उनले कसैले सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नहुने सुझाव गौतमले दिएका छन् ।

बैठकले पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा पार्टी अध्यक्ष एवं लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रजप्रति उच्च सम्मानका व्यक्त गर्दै उनीहरूले देखाएको आदर्शलाई पछ्याउने र निर्माण गरेको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने संकल्प पारित गरेको छ ।

यसैगरी, बैठकले बाढीपहिरोबाट विस्थापित परिवारलाई राहत, व्यवस्थापन तथा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराइरहेका पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले उनको स्वास्थ्योपचारको जिम्मा लिएका पार्टी अध्यक्षप्रति धन्यवाद व्यक्त गरेको छ ।

पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीलाई बैठकले हार्दिक बधाई ज्ञापन गरेको छ । सय वर्षको संघर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको छ, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको निष्कर्ष बैठकको रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रूपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा स्वास्थ्य कला खेलकुदसहितका सामाजिक क्षेत्र, अन्तरिक्ष विज्ञानलगायतमा हासिल गरेका प्रगति चामत्कारिक प्रकृतिको रहेको ठहर बैठकले गरेको छ । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिको प्रशंसा गर्दै तमाम सफलता एवं उपलब्धिका लागि तथा सापेक्ष रूपमा समुन्नत समाजवादी मुलुक बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुसी व्यक्त गरेको छ ।

यसैगरी, बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठक शनिबार ३ बजे पुनः बस्ने प्रवक्ता ज्ञवालीले बताए ।

बैठक स्थगित गर्न ओलीद्वारा अस्वीकार

यसैबीच एमाले अध्यक्ष ओलीलाई बैठक स्थगित गर्न नेपाल समूहका नेताले प्रस्ताव गरेका छन् । तर, अध्यक्ष ओलीले नेपाल समूहको प्रस्ताव अस्वीकार्य गर्दै बैठक सञ्चालन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा पुगेर नेपाल समूहका नेताहरू गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठक स्थगित गरेर पार्टी एकताका लागि वार्ता गर्नुपर्ने आग्रह गरेका छन् । छलफलमा ओलीले आफूनिकट नेताहरूसँग छलफल गरेर जानकारी गराउने बताए पनि उनी बैठक सञ्चालन गरेर अगाडि बढेका छन् ।

सहमतिबिना बोलाइएको केन्द्रीय कमिटीको बैठक नेपाल समूहले बहिष्कार गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 446 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा २८ र उपमेयरमा ११ को मनोनयन