काठमाडौं । नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगितामा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।
युथको पुरुष ५४ केजीमा बोसीगाँसका शुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा रामेछापका सुमन श्रेष्ठले सुनसरीका संगम राईलाई फाइनलमा हराए । युथकै महिला ४८ केजी फाइनलमा नक्सालकी तेजीमाया गुरुङले ललितपुरकी उमा श्रेष्ठलाई पन्छाइन् । युथको पुरुष ६० केजी सेमिफाइनलमा कास्कीका निश्चल गुरुङले झापाका समीर गुरुङलाई पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २–२ गरी ४ स्पर्धामा खेल भइरहेको छ । पुरुष÷महिलाको संख्या यकिन नभए पनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट हुनेछन् । प्रतियोगिता अगस्ट १७ देखि ३१ तारिखसम्म दुबईमा हुँदैछ ।