माथिल्लो तामाकोसीको दोस्रो युनिट पनि प्रणालीमा जोडियो

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । मंगलबारदेखि दोस्रो युनिट प्रणालीमा जोडिएसँगै आयोजनाबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो ।

विद्युत् उत्पादन १ सय ५२ मेगावाट पुग्यो

पटकपटक समय थप हुँदै निर्माण सुरु भएको झन्डै १२ वर्षपछि गत २१ असारमा आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएको थियो । सो आयोजना निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । स्वदेशी लगानीमा निर्माण भएको देशकै ठूलो आयोजनाबाट मंगलबारदेखि १ सय ५२ मेगावाट बिजुली उत्पादन सुरु भएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बाँकी चारवटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना रहेको बताएका छन् । उनले भने, ‘हामीले असारभित्रै दोस्रो युनिट सञ्चालन गर्ने योजना बनाएका थियौं, त्यसैअनुसार आज थप ७६ मेगावाट विद्युत प्रणालीमा जोडेका छौं ।’ आगामी दुई साताभित्र तेस्रो युनिट पनि जोडिने र दुई महिनाभित्र ६ वटै युनिट सञ्चालनमा आउने श्रेष्ठले बताए ।

७६÷७६ मेगावाट क्षमताका ६ वटा युनिट रहेको आयोजनाको दोस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु भएको हो । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर ४ सय÷२ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ । पूर्ण क्षमतामा चल्न थालेपछि आयोजना नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि कोसेढुंगा साबित हुने प्राधिकरणको विश्वास छ ।

बहुप्रतीक्षित राष्ट्रिय गौरवको यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्न मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाएको थियो । भूकम्प, नाकाबन्दी, कोरोनालगायतको प्राकृतिक प्रकोप र समस्या झेल्दै अहिले उद्घाटनको चरणसम्म पुगेको हो ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको २ प्रतिशत, कर्मचारी सञ्चय कोषको, १७ दशमलव २८ प्रतिशत, कम्पनी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको ३ दशमलव ८४ प्रतिशत र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूको २ दशमलव ८८ प्रतिशत सेयर लगानी रहेको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको छ । निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा भने करिब ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ ।

अहिलेसम्म करिब ८५ अर्ब रुपैयाँ लागत पुगिसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट सुख्खायाममा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४ सय ५६ मेगावाट) उत्पादन गर्नेछ । अन्य समयमा विद्युत् उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जनाएको छ । उक्त आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि