दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।
उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै सोमबार ओपीडी सेवा बन्द गराएका छन् । निरौलाले श्रीमतिको उपचारका लागि मेची अस्पताल पुगेका थिए । बान्ता गर्ने, टाउको दुख्ने समस्या भएपछि श्रीमति लिएर अस्पताल पुगेका निरौलाले अन्धाधुन्द चिकित्सकमाथि हातमात गरेका थिए ।
अस्पतालको सीसी क्यामेरामा निरौलाले डाक्टर कपुरीमाथि एक्कासी जाइलागेको देखिन्छ । कुटपिटपछि निरौलालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरिएको छ । अस्पतालका मेसु डा.टंक बाह्रकोटीले कारवाहीको लागि पीडितका तर्फबाट उजुरी गरिएको जानकारी दिए । उनले अस्पतालमा सेवारत चिकित्सकमाथि कुटपिट हुनु दुखद् भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजुरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारबाही गर्ने बताए ।