राजनीति शक्तिका लागि संघर्ष हो । लामो समयसम्मको परिश्रम, घोटाइ, घोकाइ, दलाइ, खटाइ र अथक उठापटकपश्चात् मात्र शक्तिमा पुग्न पाइन्छ । किन्तु धेरैजसो परिश्रमीहरू संघर्षको यात्रामा त्यसै हराएर र हराइएर जान्छन् । सिद्धान्तः शक्तिमा पुग्न संघर्ष गर्नुका दुई कारण हुन्छन् । पहिलो राज्यमा आफ्नो राजनीतिक संगठनले आत्मसात् गरेको नीति लागू गर्नु र दोस्रो आफ्ना व्यक्तिगत महŒवाकांक्षाको परिपूर्ति ।
लोकल्याणकारी ध्येयले नै लागे तापनि राजनीतिमा प्रवेश गर्ने व्यक्ति महŒवाकांक्षी र आँटिलो हुन्छ । सिद्धान्तवाद र सदाचारलाई आदर्श मानेर राजनीतिमा प्रविष्ट भएको व्यक्तिलाई पनि सत्तामा पुगेपछि आफ्नो पूर्वअडानमा कायमै रहन अत्यन्तै कठिन छ । समाजले निकै पत्याएका र भरोसा गरिएका व्यक्तिहरू शक्तिमा पुगेपछि स्खलित भएको इतिहास छ । शक्तिको राजनीतिमा इमानको छवि कायम राखेर बहिर्गमन गर्नु नितान्त मुस्किल कुरा हो । केही राजनीतिक नेताहरू शक्तिमा पुग्न राजनीतिको खेल मैदानमा हाम फाले तापनि आफू शक्तिसीन हुन पाउने बखतमा त्याग गरेका केही दुर्लभ उदाहरण छन् । गणेशमान र महात्मा गान्धी यस्तै त्यागीमा पर्छन् । लामो संघर्ष र अपार यातनापछि सत्तामा पुगेर अविस्मरणीय भूमिका निर्वाह गर्न सफल नेता नेल्सन मण्डेला हुन् । सत्ता र शक्तिको चकाचौधबाट पराजित नभई सदाचारका दृष्टान्त बनी सरल तरिकाले बाहिरिने नेपाली नेता कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी हुन् ।
शक्तिले अहंकारी र भ्रष्ट बन्न प्रेरित गर्छ भन्ने सार्वभौम सिद्धान्त छ । सत्ताले शक्ति प्रदान गर्छ । शक्तिप्रतिको अनुरागले सत्तामा टिकिरहने प्रेरणा दिन्छ । सत्तामा रहिरहने प्रेरणाले थप शक्ति, स्रोत र सम्पदा कमाउन उत्साहित गर्छ । सत्तासँगको प्रीतिले आँट, उत्तेजना, लालच, षड्यन्त्र र शक्तिसञ्चयप्रति अतिशय रागात्मक सम्बन्धतर्फ उद्दीपकको काम गर्छ । स्थापित संवैधानिक एवं सार्वजनिक संस्था, अति अभ्यस्त लोकतान्त्रिक परम्परा र सचेत नागरिक नभएको भए संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको उन्मादको परिणति भिन्न हुन सक्थ्यो । उन्मत्त सत्तालाई ठेगानमा राख्न राज्यका संवैधानिक र लोकतान्त्रिक संस्थाहरू दिगो रूपमा प्रतिष्ठित र स्थापित हुनु अत्यन्त जरुरी रहेछ भन्ने उदाहरण थियो त्यो ।
नेताको देवत्वकरण गर्नेले नेतालाई न असल मान्छे बन्न दिने भए न त नेताले कार्यकर्तालाई स्वतन्त्र नागरिक
नेपालजस्ता देशमा लोकतन्त्रको जग मजबुत हुन नसक्नुको कारण राजनीतिक दलहरूमा स्थायित्व र जिम्मेवारीबोधको अभाव हो । राजनीतिक दलहरूबीच आपसी र आन्तरिक संघर्ष एवं झगडा स्वाभाविक र सनातन कुरा हुन् । भिन्न दलीय र दलभित्रका आन्तरिक मामिलाहरूमा मतभिन्नता, विवाद र प्रतिवाद हुनु राम्रो कुरा हो । वादविवाद, बहस र छलफलबाट नै सही नीति निर्धारण गर्नमा मद्दत मिल्छ । सैद्धान्तिक विवाद राजनीतिक दललाई जीवन्त राख्ने नितान्त सहयोगी कुरा हुन् । किन्तु झगडाको बीज व्यक्तिगत अहं, दम्भ र महŒवाकांक्षाको कारणबाट उत्पन्न हुन थाल्यो भने राजनीतिक दलको जीवन्तता व्यक्तिगत भनाभन, गालीगलोज र निन्दामा गएर विसर्जन हुन्छ ।
सिंगो नेपाल कम्युनिस्ट पार्टीको स्थापना कुनै सैद्धान्तिक एकधर्मिताको कारणबाट भएको थिएन । कुनै छलफल, वादविवाद र माझामाझको माध्यमबाट नभई फगत एकाध अगुवाहरूले रातारात गरेको एकीकरण थियो त्यो । यद्यपि, त्यो ऐतिहासिक कदम तमाम कार्यकर्ताहरूलाई अपूर्व रूपमा खुसी गराउने घटना थियो । परन्तु एकीकरणभित्र इमान थिएन भन्ने कुरा थाहा पाउन सर्वसाधारण कार्यकर्तालाई दुई वर्ष कुर्नुप¥योे ।
नेपालको राजनीतिक खेलमैदानमा चार पाँच दशकदेखि अविरल अड्डा जमाएर बसेका माहिर खेलाडीको मनको कुरा उनै खेलाडीले मात्र बुझेका हुन्छन् । नेपालको वर्तमान राजनीतिक संस्कृति विभिन्न पार्टीमा आबद्ध तिनै सालाखाला एक दर्जन नेताहरूले निर्माण गरेका हुन् । तमाम नेपाली जनतालाई त्यही अपसंस्कृतिमा रुझाउन सक्नु उनीहरूका लागि सफलता र देशका लागि असफलता साबित भयो । बारम्बार असफल भएका परीक्षित पात्रहरू पालैपालो सत्तामा जान पाउनु उनीहरूको लागि चाँदी हो । परन्तु तिनै पात्रले सदाकाल जनताको दुहाई दिइरहनु र जनताले पनि ए हो कि भनेर आस गरिरहनु निर्मम र वीभत्स विडम्बना हो । लगालग परीक्षामा अनुत्तीर्ण हुने पात्रहरूले कि त छाड्नुपथ्र्यो कि मौका परीक्षाका लागि थप अध्ययन गर्नुपथ्र्योे । तर, दुर्भाग्यवश उनीहरू परीक्षामा चोरी गर्ने चिट बनाउनमा व्यस्त भए । थप अध्ययन गरेको भए प्रज्ञामा बढोत्तरी भई जनता र मुलुकको हकमा काम लाग्थ्यो होला । तर, चिट निर्माणले गर्दा तिकडम र चालबाजीको मात्र अभिवृद्धि हुन गयो ।
सिद्धान्तहीन आक्रोश, शक्तिको भोकजनित झंैझगडा र विवादले गर्दा दलभित्रको झगडा आन्तरिक बाझाबाझ र माझामाझबाट सुल्झाउनेतर्फ कसैको मति गएन । पढेलेखेका र भरोसा गरिएका युवा नेताहरू मैदान कब्जा गरेर बसेका दलीय वृद्धहरूको मूढमतिका साक्षी मात्र नभई प्रवक्तासमेत बन्न पुगे । आन्दोलनका बखतमा दिलोज्यानले खटिएका पठित र भरोसा गरिएका युवा नेताहरूको आजको दारुण दुर्गति देख्दा टीठ लाग्छ । रचनात्मक कर्ममा सरिक हुनबाट वञ्चित गराइएका होनहार युवाहरू कुनै व्यक्ति विशेषको मोहरा बनी बित्थामा जवानी खेर फाल्न अभिशप्त भएको देख्दा थकथकी लाग्छ । विचार लुटिएको निर्दोष जमात खडा गरेर धन्य हुने नेपाली नेताहरूले निर्माण गर्दै रहेको भविष्यको समाजको प्रतिविम्बको कल्पना गर्दा कहाली लाग्छ ।
३० वर्षदेखि पालैपालो सत्तामा पुगिरहेका नेताहरूलाई प्रभाव पार्ने स्वदेशी र विदेशी तŒवको पहिचान गरेको दाबी गर्दै क्षणिक र तत्कालीन विश्लेषण गर्ने जमात पनि ठूलो छ यहाँ । विचार गर्दै ल्याउँदा यहाँका साराका सारा बुद्धिजीवी पनि कुहिरोमा उडेको काग समात्न निमग्न भएको देखिन्छ । कहीँ कतै कोही पनि यसै भन्न नसकेर आफूले निर्माण गरेको हात्ती छाम्नमै व्यस्त छन् सबै । बारम्बार सत्ताको तिकडम गर्ने र मौकापरस्त नेतालाई विदेशीले नचाउनु अत्यन्त स्वाभाविक हो । बारम्बार राजनीतिक मामिलामा घपलाबाजी हुन थालेपछि अदालती सक्रियता बढ्नु पनि स्वाभाविक हो । ठूलाठूला पदमा आसीन पदाधिकारीहरूले आफ्नो पदीय शिष्टाचारको ख्याल नगरेपछि मर्यादामा बट्टा लाग्नु पनि स्वाभाविक हो । यहाँ फलिरहेका सबै किसिमका निष्फल र दुष्फलहरू उनीहरूकै बीजारोपणका उत्पादन हुन् । उनीहरूमा आफूले निर्माण गरेको गालीगलोज र उपहासको भाष्यले राजनीतिक वृत्तमा कस्तो संस्कृतिको निर्माण हुँदै गएको छ भन्ने कुराको अनुभूतिसम्म छैन ।
सत्ताप्राप्तिका लागि जस्तोसुकै युक्ति, छलछाम र चालबाजी गरे तापनि वैधानिक कारणबाट अपदस्थ भएपछि पन्छिने संस्कृतिको विकास हुनु लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष हो
यहाँ अब अमुक पार्टी र सिद्धान्तको सरकार आयो भनेर विश्लेषण गर्नुको कुनै प्रयोजन छैन । पार्टीका केही दार्शनिक र सैद्धान्तिक धरातलको तुस बाँकी रहे तापनि शासकीय भाँती र रंगढंग एउटै हो । पालैपालो सत्तामा जाने र जनतालाई भुलभुलैयामा राखेर रङमङ्याउने अघोषित सल्लाहको सिलसिला हो यो । यहाँ भरमार गाली गरेर खाल्टोमा हालेको पात्र कुन बेला परम प्रिय बन्न पुग्छ कुनै ठेगान छैन । यहाँ विद्यमान परिदृश्यभित्रको जुन शक्ति सत्तामा पुगे पनि नवधनिकतन्त्र (नियो प्लुटोक्रेसी ) नै कायम हुने हो । जो आए पनि यहाँ पढेलेखेका तर भोका र नतमस्तक सल्लाहकार नै राख्ने हो । भोको व्यक्ति असल सल्लाहकार हुन सक्दैन भन्ने जान्नु पो किन प¥यो र यहाँ ।
आफ्नो नेता शक्तिमा पुग्नासाथ विचार खोसिएका युवाहरूमा वारुणी मदिरा पान गरेका यदुवंशी युवाहरूमा जस्तै नशा चढ्न थालिहाल्छ । ठूलो कुर्सीमा आसीन वृद्धहरूले गीतामा कृष्णले जस्तै ‘सर्वधर्मान् परित्यज्य, मामेकम् शरणम् व्रज, अहं त्वां सर्व पापेभ्यो, मोक्षयिष्यामि मा शुचस्’ अर्थात मेरो शरणमा आऊ, म तिमीलाई हरेक दुःखबाट मुक्ति दिनेछु, चिन्ता नगर भनेर सिंहदरबार र बालुवाटारमा जम्मा गर्ने गर्छन् । न नेताको देवत्वकरण गर्नेले नेतालाई असल मान्छे बन्न दिने भए न त नेताले कार्यकर्तालाई स्वतन्त्र नागरिक । यो मूढताको शृंखला हालका दिनमा झनै समृद्ध भएको छ ।
‘यस कदमसँगै मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको छ । कम्युनिस्टहरूको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका प्रतिक्रियावादीहरू आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिस्ट अधिनायकवादको हौवा पिटाउन थालेका छन् । प्रतिक्रियावादीहरूले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायकभन्दा अरू केही होइन ।’ यो निर्वाचनअघिको नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)को संयुक्त घोषणापत्रको सानो अंश हो । तर, यहाँ ‘ज्यादा जोगी मठ उजाड’ भन्ने हिन्दी कहावत चरितार्थ भयो । एकले अर्कालाई ठूलो कुर्सीमा बसेको देख्नै नसक्ने र ठूलो कुर्सीमा बस्नेले अर्को समवर्तीलाई नजिक पर्न नदिने भएपछि कसरी कुरा मिल्छ ? । ‘माधव नेपाल भन्ने एक जना मान्छे छ रे, म चिन्दिनँ’ भन्ने जस्ता अभिव्यक्ति सहजै आउनु मामुली कुरा होइन ।
तर यो कलह ढिलो चाँडो समाप्त हुन सक्छ र मुख हेर्न मन नलागे तापनि फेरि चिन्ने सम्भावना बलियो छ । स्वार्थी आवश्यकताले शेरबहादुर–प्रचण्ड, प्रचण्ड–केपी, शेरबहादुर–केपी मिलेको सत्ता हो । केपी र माधव नेपाल त एउटै घरमा जन्मेका नेता हुनुहुन्छ । धेरै वर्षसम्म नेपालअन्तर्गत बसेका केपीको अहंकार नेपालकै अगाडि चिच्च्यायो । आफ्नो मातहत बसेको मान्छेको चुरीफुरी देख्दा नेपाललाई भाउन्न भएर रिङटा लाग्यो । निश्चित समयसम्म हाल हुकुम चलाएपछि खुरुक्क पन्छिएर शक्तिको राजनीतिबाट पर बस्न नसक्नु नै यहाँको मूल समस्या हो । नेपाली कांग्रेसको इतिहासमा भएको फुट, वैमनस्य र मिलन पनि सिद्धान्तले भएको थिएन र एमालेको सम्भावित फुट र मिलन पनि सिद्धान्तको कारणले होइन र हुनेछैन ।
अन्त्यमा
सत्ताप्राप्तिका लागि जस्तोसुकै युक्ति, छलछाम र चालबाजी गर्ने गरे तापनि नेपाली नेताहरूमा एउटा कुराको राम्रो संस्कार बसेको छ । वैधानिक कारणबाट अपदस्थ भएको व्यक्ति सरक्क पन्छिने संस्कृतिको विकास हुनु लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष हो । कटाक्ष र अशिष्टता भन्ने कुरा पद गुम्दाको समयका स्वाभाविक आक्रोश हुन् । सबैमा कृष्णप्रसाद भट्टराई खोजेर साध्य पनि छैन ।