काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन । अर्गानोग्रामविपरित कर्मचारीहरुले स्वास्थ्य मन्त्रालयका महाशाखाहरुमा काम गर्दै आएका छन् । २०७४ चैत २७ मा बनाएको अर्गानोग्राम चार वर्ष वितिसक्दापनि पुर्णतः कार्यान्वयनमा आउन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समुह नमिल्ने गरी कर्मचारीहरुले काम गर्दै आएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कर्मचारी अर्गानोग्राम विपरित कर्मचारीहरुलाई काममा खटाइएको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयका सम्वन्धित फाँटका कर्मचारीहरुको सेवा समुहनै नमिलेर काम गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको अर्गानोग्राम अनुसार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशक हे.ई.समुह अन्तर्गतको ११ औं तहको कर्मचारी हुनुपर्ने प्रावधान छ । तर, हाल निर्देशक भएर काम गर्दै आएका डा.भिमसेन टिंकरी प.हे.ए समुहका हुन् । यस्तै, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक प.हे.ए.समुहको हुनुपर्ने प्रावधान छ । यद्यपी, हालका स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा.कृष्ण पौडेल बाल रोग विशेषज्ञ(पेडियाट्रीक्स) हुन् ।
यस्तै, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशक हे.ई.समुहको हुनुपर्ने प्रावधान भएपनि हालका निर्देशक डा.यदुचन्द्र घिमीरे एकीकृत चिकित्सा समुहका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको अर्गानोग्राम अनुसार राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक प.हे.ए.समुहको हुनुपर्ने प्रावधान भएपनि हालका निर्देशक डा.सुधा देवकोटा ज.हे.स. समुहका हुन् ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति योजना तथा अनुगमन महाशाखाका प्रमुख प.हे.ए.समुहको हुनुपर्ने प्राबधान छ । यद्यपी, महाशाखा प्रमुख डा.गुणराज लोहनी ज.हे.स.समुहका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको अर्गानोग्राम अनुसार राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक ज.हे.स समुहको हुनुपर्ने प्रावधान भएपनि हालका निर्देशक डा. सन्तोष पौडेल अर्थोपेडिक सर्जन हुन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत् परिवार कल्याण महाशाखाका निर्देशक प.हे.ए. समुहको हुनुपर्ने प्रावधान भएपनि हालका निर्देशक डा.तारानाथ पोखरेल ज.हे.स. समुहका हुन् । स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले भने, ‘सेवा समूह नै नमिलेर स्वास्थ्यका कर्मचारीहरुले काम गरेका छन् । हामीले आवाज उठाउँदापनि सुनुवाइ हुँदैन ।’