काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जीतेको एउटा अन्तराष्ट्रि पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले पुरस्कृत चलचित्र तथा चलचित्रकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
नेपाली फिचर फिल्म प्रतियोगिता अन्तर्गत बेस्ट फिचर फिल्म अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै वेष्ट पेन्डेमिक फिल्म अन्तराष्ट्रिय प्रतिष्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद पचास हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगिता अन्तर्गत राजेशप्रसाद खत्री को अ स्केयरक्रोले बेस्ट सर्ट फिल्म अवार्ड नगद पचास हजार र ट्रफी प्राप्त गरेको छ ।
पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफि नेशनल फिचर फिल्म – शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा – सेर्गियो बासो ( सरिता – टेल मि हु एम आई ), वेष्ट एक्ट्रेस नेशनल फिचर फिल्ममा सरिता गिरी ( लाटो कोसेरो ), वेष्ट एक्टर नेशनल फिचर फिल्ममा नविन सिल्पकार (लाटो कोसेरो) लाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
अध्यक्ष दहालले कोरोनाको कारण नेपाली चलचित्र गम्भिर अवस्था रहेको भन्दै यस क्षेत्र पुनः स्थापित गर्न सम्पुर्ण रुपले आफु लागि परेको बताए । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव नेपालको एकमात्र प्रतिनिधिमुलक अन्तराष्ट्रिय अवार्ड भएकोले सबै नेपाली चलचित्रकर्मी साथ दिनुपर्ने उनले बताए ।
निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी चलचित्रकर्मीहरुलाई बधाई दिदै आफ्ना केही तिता अनुभव पनि शेयर गरे । विशेष गरेर नेपाली चलचित्रकर्मीले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन देखाएको उदासिनताप्रति दुखेसो पोखेका पाठकले पाचौ निफमा चौथोमा जस्तो फिचर फिल्म प्राप्त गर्न दुःख नहुने आशा ब्यक्त गरे ।
अन्तराष्ट्रिय रुपमा ख्याती कमाई रहेको यस महोत्सव नेपाली चलचित्रकर्मिको लागि पनि महत्वपूर्ण प्लेटफोर्म भएको र अन्तरास्ट्रीय बजारिकरणमा लागि रहेको हुनाले यस महोत्सबमा सम्पूर्ण नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रिय सहभागीता जनाउन उनले आग्रह गरे ।
जुरी जुरी सदस्यको तर्फबाट राजभाइ सुवालले यो महोत्सवका अन्य अन्तराष्ट्रिय जुरीहरुसँगको सहकार्यको अनुभव शेयर गरेका थिए । कोरोना महामारीका कारण भच्र्यूल रुपमा गत बैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो । भर्चुअल रुपमा भएको कारण पुरस्कार वितरण हुनसकेको थिएन । तर कोरोना केही कम भएको र सरकारले पनि केही गतिविधि खुला गरेको कारण पुरस्कार वितरण समारोह सम्पन्न गरेको आयोजकले जनाएका छन् ।
‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब’ भन्ने नाराका साथ आयोजना हुदै आएको नेपाल निफको पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको पनि सोही कार्यक्रममा घोषणा गरिएको थियो ।
आयोजक संस्थाले दिएको जानकारी अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पौष १० (डिसेम्बेर २५ , २०२१) गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ (जनवरी २५, २०२२) गतेमा छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ । निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ ( २०२२ मार्च १०देखि १४ मार्च ) गतेसम्म हुनेछ ।