नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दुई खेल हुने पक्का भएको जनाएको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १७ र २० भदौमा हुनेछ । नेपाल र भारतले पछिल्लोपटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए । विश्वकप छनोटअन्तर्गत उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि सन् २०१५ को साफ च्याम्पियनसिपमा नेपाल ४–१ ले पराजित भएको थियो भने सन् २०१७ को मैत्रीपूर्ण खेलमा २–० को हार बेहोरेको थियो ।

नेपाल र भारत दुवै साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । प्रतियोगिता अक्टोबरमा हुने भने पनि हालसम्म आयोजकको टुंगो लागेको छैन । साफको अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्ये एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिने बुझिएको छ । भारत र नेपाल दुवै एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । भारत आफ्नो समूहमा तेस्रो तथा नेपाल चौथो हुँदै अर्को चरणमा अघि बढेको थियो । छनोट चरणमा खेल सन् २०२२ फेब्रुअरीमा सुरु हुनेछ ।

एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेल पक्का भएको बताए पनि भारतले आफ्नातर्फबाट विज्ञप्ति जारी गर्दै नेपालसँग खेल पक्का भइनसकेको र उक्त प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । भारतले आफ्नो वेबसाइटमा नेपालले खेलका लागि प्रस्ताव गरेको बताए पनि एन्फाका अनुसार भने भारत आफैंले नेपाललाई खेलका लागि चिठी लेखेको हो ।

अन्य देशसँग खेल्न कोरोना संक्रमणका कारण क्वारेन्टाइन नियम रहेको र नेपालमा भने आउन पाइने हुनाले सो प्रस्ताव राखिएको थियो । भारतले अफ्रिकाका अन्य राष्ट्रसँग पनि मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको जनाएको छ । तर, भारतले भने नेपालसँग खेल्ने पक्का गरेर पनि अन्य राष्ट्रले प्रस्ताव स्वीकार गर्ने आशाका साथ आफ्नातर्फबाट प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका नदीमा देखिन थाले डल्फिन

कुरी-कुरी