काठमाडौं । अब करदाताले अन्तःशुल्कको इजाजत नवीकरण अनलाइन प्रणालीमार्फत आफैं गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूलाई परिपत्र गर्दै अन्तःशुल्कको नवीकरण अनलाइन प्रणालीमार्फत मात्र गर्न निर्देशन गरेको हो ।
अहिले करदाताको स्थायी लेखा नम्बर (पान), इजाजतपत्र नम्बर उल्लेख गरेमा लाग्ने नवीकरण दस्तुर, दाखिला गर्नुपर्ने राजस्वको शीर्षकसहितको भौचर विभागको प्रणालीबाट तयार हुन्छ । सो भौचर बमोजिम विद्युतीय माध्यामबाट दस्तुर दाखिला गरेमा वा विभागको प्रणालीबाट तयार भएको भौचरमा रहेको कारोबार संकेत लिई सोही दिन बैंकमा गई दस्तुर दाखिला गरेपश्चात नवीकरण हुने व्यवस्था रहेको छ ।
यसरी करदाताले पहिले बैंकमा गई भौचरबमोजिम इजाजत नवीकरण गर्न कार्यालयमा निवेदन दिने अहिलेको व्यवस्थाले कतिपय अवस्थामा करदाताको स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोर्ड र रकम आदिमा त्रुटि हुने सम्भावना रहन्थ्यो । यसरी गल्ती हुँदा दिनहुँ धेरै भौचर संशोधन हुने गरेकाले करदाता र कर प्रशासन दुवैको समय र लागत बढ्ने र सेवा प्रवाह पनि झन्झटिलो हुने गरेको थियो । अब सबै काम अनलाइन प्रक्रियाबाट हुने भएपछि यी झन्झट पनि हट्दै जाने विभागले जनाएको छ ।