उच्च जोखिम, कम सतर्कता !

पछिल्लो समयमा नेपालमा पनि कोभिड–१९ को प्रभाव अप्रत्याशित रूपमा बढेको देखिन्छ । सरकारले यसअघि गरेको बन्दाबन्दी (लकडाउन) मा खुकुलो गरेसँगै सल्बलाएको जनजीवन र बढ्दो राजनीतिक घटनाक्रमसँगै दैनिकजसो देखिएका सभा, समारोह, जुलुस र आमसभाका कारण पनि कोभिडको संख्यामा वृद्धि भएको हो । खुला सीमाका कारण मित्रराष्ट्र भारतसँग आउजाउको कारण त मुख्य हो नै ।

यो आलेख तयार पार्दासम्म हामीकहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । अस्ति शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएबाट कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगिसकेको छ । आजसम्म यो तथ्यांकमा संख्या थप भइसकेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख १२ हजारभन्दा बढी छ । यो ग्राफ क्रमशः उकालो लाग्दो अवस्थामा छ ।

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाबाट एकै दिन गत जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

दोस्रो लहरमा झनै जोखिमः विज्ञका अनुसार अहिले कोरोनाको दोस्रो लहर चलिरहेको छ । कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । यो नितान्त दुःखदायी अवस्था हो । दोस्रो लहरसम्म आइपुग्दा अक्सिजनको हाहाकार, आईसीयू बेडको अभाव, अस्पतालले भर्ना लिन गरेको आनाकानी र खर्चिलो उपचारका कारणले पनि दोस्रो लहरमा धेरै जनाको ज्यान गुम्न गएको हो । पहिलो लहरबाट ३८ जना बालबालिकाको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा ६० वर्षमाथिका ज्येष्ठ नागरिक बढिरहेका छन् । अघिल्लो सातासम्मको तथ्यांक हेर्दा ६० माथिका ज्यान गुमाउने ५ हजार ३ सय ८७ रहेका छन् । नौ वर्षसम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३ सय ४ जना, ३० देखि ३९ का ८ सय २८ जना, ४० देखि ४९ का १ हजार ४ सय ३७ जना, ५० देखि ५९ का १ हजार ९ सय ६१ जना र मिश्रित उमेर समूहका सात जना रहेका छन् । यो तथ्यांकले कोरोनाले सबै उमेर समूहमा आक्रमण गर्छ भन्ने कुराको पुष्टि गर्छ । यसको अर्थ उच्च सतर्कता सबैका लागि अनिवार्य छ भन्ने सन्देश यो तथ्यांकको विश्लेषण गर्दा थाहा हुन्छ ।

आममानिसलाई बिनाभेदभाव सर्वसुलभ तरिकाले खोप व्यवस्थापन नगर्दासम्म नागरिकलाई मात्र गाली गरेर सरकारको दायित्व पूरा हुँदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको दर १ दशमलव ५ प्रतिशत रहेको छ । यो दर सार्कस्थित भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १ दशमलव ३, भुटानमा शून्य दशमलव १, माल्दिभ्समा शून्य दशमलव ३, श्रीलंकामा र पाकिस्तानमा १ दशमलव ४ रहेको छ ।

विज्ञहरु छिटै कोरोनाको तेस्रो लहर आउन सक्ने र यसले सबै उमेर समूहका मानिसलाई प्रभाव पार्ने बताइसकेका छन् । यसका लागि बेलैमा सतर्कता अपनाउन र सुरक्षाका उपाय अवलम्बन गर्न जरुरी छ । तर, बढ्दो लापर्बाही र खुला आवतजावतका कारण कोरोनाको जोखिम दिनानुदिन उच्च रहेको तथ्य आमरूपमा प्रस्ट छ । मानिस न मास्क, न भौतिक दूरी, न त नियमित साबुन पानीको प्रयोग नै गर्छन् । एक किसिमले भन्ने हो भने सतर्कता शून्य अवस्था देखिन्छ । कोरोना संक्रमण बढ्नका लागि यो उपयुक्त अवस्था हो, जसलाई हामी आफैंले मलजल गरिराखेका छौं ।

आजको आवश्यकता कोरोनाका कारणले हुने असमायिक मृत्युबाट जोगिनु र जोगाउनु हो । यसका लागि सजिलो उपाय कोरोना संक्रमण नै हुन नदिनु हो । संक्रमण हुन नदिन सरकारले अघि सारेका सुरक्षाका उपाय भीडभाड कम गर्ने, सबैले उच्च गुणस्तरको मास्क लगाउने, साबुन पानीले बेलाबेलामा हात धुने र भौतिक तथा सामाजिक दूरी बढाउने नै हो । यसबाहेक सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्ने नै हो । जति धेरै जोखिम त्यति बढी सतर्कता आजको आवश्यकता हो ।

मास्क लगाऊ अभियानः कोरोनाबाट जोगिन मास्क लगाउन जरुरी छ । चिकित्सकहरू गुणस्तरीय मास्कमा जोड दिन्छन् । सुरक्षाकर्र्मी यात्रुलाई बीच बाटोमा नै रोकेर मास्क लगाए, नलगाएको चेकजाँच गरी नलगाउनेलाई लगाउन प्रोत्साहित गर्छन् । तर, पनि आममानिस अझै मास्कप्रति सजग छैनन् । कतिपयले लगाउँदैनन्, लगाएकाले पनि चिउँडोमा झारेर राख्ने गर्छन् । मानांै यो उनीहरूले सरकारका लागि लगाइदिएको हो जस्तो ठान्छन् । मैले मास्क लगाएर सरकारलाई सजिलो किन पार्ने भन्ने गलत मनोविज्ञान हाबी छ । मैले लगाएको मास्क मेरै सुरक्षाका लागि हो भन्ने चेत आममानिसमा अझै आएको छैन । आएको हुँदो हो त प्रहरीले समाएर मास लगाउनुस् भन्नुपर्ने अवस्था नै आउने थिएन ।

आममानिसको सो प्रवृत्तिविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्दै छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । यो कदम निकै सराहनीय छ । अत्यन्त सरल, कम खर्चिलो र सबैले प्रयोग गर्न सक्ने मास्क कोभिड सर्नबाट रोक्ने उपयुक्त विधि हो । यसको प्रयोग गर्न कुनै पनि हालतमा चुक्नुहुँदैन भन्ने सन्देश मास्क लगाऊ अभियानले दिने विश्वास लिन सकिन्छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार जनस्वास्थ्यका मापदण्ड उल्लंघन भएको र मास्क लगाउन पनि लापर्बाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महŒव’bout जानकारी गराउने उद्देश्यका साथ यो अभियान सुरु गर्न लागिएको हो । कम्तीमा पनि अब आममानिस यो अभियानपश्चात् बिनामास्क हिँडडुल गर्ने छैनन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजर, भौतिक दूरी कायमजस्ता नियमको पालना गर्न पनि आवश्यक छ । यसका लागि जनचेतना जगाउनुपर्छ । मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउँडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ । आशा गरौं यो अभियानपछि यसमा सुधार आउनेछ ।

चिकित्सकहरूले गुणस्तरीय मास्क लगाउने कुरामा जोड दिएका छन्

परीक्षा स्थगित तर खोप खोइ ?: यतिबेला बजारमा भिडभाड बढ्दो छ । भौतिक दूरी कायम गरिएको छैन । योबेला कोरोनाको तेस्रो लहर आउने सम्भावना औंल्याउँदै विज्ञहरूले सतर्क रहन सुझाएका छन् । आउँदो साउन ३१ देखि कक्षा १२ को परीक्षा हुने गरी यसअघि नै कार्यतालिका प्रकाशित भइसकेको थियो । सो अवस्थाको ख्याल गर्दै स्वास्थ मन्त्रालयको आह्वानमा कक्षा १२ सहित सबै परीक्षा तत्काल नगर्न सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) र शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसअनुसार सरकारले सो परीक्षा हाललाई स्थगित गरेको छ ।

यो अवस्था भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था नै होइन । यसै पनि आमविद्यार्थी र तिनका अभिभावक परीक्षाभन्दा पनि कोभिड महामारी सर्ने डरले त्रासमा थिए । उनीहरूको मनोविज्ञान पढाइमा थिएन । मृत्युदर १.५ प्रतिशत रहेको र संक्रमितको दर पनि बढिरहेकाले परीक्षा सञ्चालन नगर्ने सरकारी निर्णय उपयुक्त छ । ‘जिउ रहे घिउ खाउँला’ भनेझैं यो महामारीबाट जोगिन सके परीक्षा दिँदै गरौंला भन्ने भावना सबैमा थियो ।

सरकारले बेलैमा परीक्षा स्थगित गरेर राम्रो काम गरेको छ । तर, अब कोभिडविरुद्ध खोप विद्यार्थीलाई पनि दिन जरुरी छ । विद्यालय बन्द, पठनपाठन बन्द, परीक्षा स्थगित गरेर मात्र सरकारको दायित्व पूरा हुँदैन । आमविद्यार्थीलाई खोपको व्यवस्था गरेर पठनपाठन सुचारु गर्नुपर्छ । स्थगित परीक्षा सञ्चालन गर्नुपर्छ । यस कार्यमा सरकार तीव्र गतिमा लाग्न जरुरी छ ।

आमनागरिकले आज पनि खोप पाएका छैनन् । खोपमा पार्टीगत राजनीति हाबी छ । उच्च जाखिमलाई न्यून गर्न आमनागरिकले मात्र होइन, सरकारले पनि निष्पक्ष रूपमा आफ्नो कर्तव्य पालना गर्न सक्नुपर्छ । तर, सरकार यो मामिलामा चुकेको छ । कतै खोप लुकाइएको छ, कतै खोप केन्द्रमा अनावश्यक भिडभाडका कारण संक्रमण बढ्ने खतरा देखिएको छ । खोप पाउनलाई प्राथमिकता क्रम तोकिएको छ । कोरोनाले पहिला म यो हैसियतको व्यक्तिमा प्रवेश गर्छु भन्दैन । जोखिमको मात्रा सबैमा बराबर छ ।

तर, सुरक्षाका उपायमा सरकारले पालो तोकेको छ । भयावह रोगका लागि सरकारका नजरमा आमनागरिक बराबर मानिनुपर्छ । उनीहरूलाई मञ्चमा आसन गराउने शैलीमा मर्यादा क्रम तोकेर खोप दिइनुहुँदैन । आममानिसलाई बिनाभेदभाव खोपको सर्वसुलभ तरिकाले व्यवस्थापन गर्न सरकार लाग्नुपर्छ । अन्यथा नागरिकलाई मात्र गाली गरेर सरकारको दायित्व पूरा हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी