काठमाडौं । लुम्बिनीका प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि सत्ता साझेदार नेपाली कांग्रेस र माओवादीले आठ आठ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।
सहमति अनुसार माओवादी केन्द्रका तर्फबाट पहिलो आठ महिना कुलप्रसाद केसी ‘सोनाम’ मुख्यमन्त्री बन्ने छन् ।
रोल्पा नगरपालिका–६ ज्यूवाङमा जन्मिएका केसीसंग विद्यार्थी राजनीतिदेखि भूमिगत युद्धसम्मको अनुभव छ ।
पूर्वसभामुख कृष्णबहादुर महराका चेला मानिने केसी २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भएका थिए । विद्यार्थी राजनीतिमा सक्रिय केसीले केही समय शिक्षकको जागिर पनि खाएका थिए ।
२०५० साल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्थायी शिक्षकले कालो झण्डा देखाएको भन्दै उनी शिक्षकबाट अवकास लिन वाध्य भए । स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोध गरेको भन्दै तत्कालीन सरकारले राजीनामा दिन वाध्य पारेपछि उनी राजीनामा दिएर सक्रिय रानीतिमा लागे । शिक्षकबाट राजीनामा दिएपछि तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीतिमा लागे ।
२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा गर्ने घोषणा गरेपछि उनी भुमिगत भई माओवादीमा सक्रिय भए । २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ साल भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
तत्कालीन माओवादीमा दुईलाइन संघर्ष भएपछि मोहन वैद्यतिर लागेका थिए केसी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्य नेतृत्वको नेकपा–माओवादी गठन पछि केसी बैद्य समुहमा लागे र दोस्रो संविधानसभा निर्वाचन बहिस्कार अभियानमा सक्रिय भए । चार वैद्यसंगै बसेका केसी रामबहादुर थापा ‘बादल’सहित माओवादीमा फर्किएका थिए । एमाले–माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए ।
तत्कालिन एमाले – माओवादी गठबन्धनमा एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री भएपछि केसीले माओवादी कोटाबाट केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाए । तत्कालीन नेकपामा केन्द्रीय सदस्य भएका केसी कानुन मन्त्रीकै जिम्मेवारी सम्हालेर दलको उपनेता थिए । एमाले–माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको दौडमा लागेका हुन् ।