बागमती र प्रदेश १ मा पनि एमाले सरकार जोखिममा

काठमाडौं । आन्तरिक विवादका कारण एमालेको एकल बहुमत रहेको बागमती प्रदेश र प्रदेश १ सरकार जोखिममा परेको छ । एमालेको विवादले बागमती र प्रदेश १ सरकारको भविष्य तय गर्नेछ ।

सुरुमा विपक्षी गठबन्धनसँग मिलेर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याए पनि पछिल्लो समय पार्टी एकताका लागि भन्दै बागमती प्रदेशमा निर्णायक मानिएकी नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले ओलीलाई अन्तिम धक्का दिने बताएकी छन् ।

१ सय ९ सदस्य रहेको बागमती प्रदेशमा अहिले विपक्षी दल माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकजना स्वतन्त्र सांसद छन् ।

यस्तै, अन्य दलमा विवेकशील साझा र नेमकिपाका तीन–तीनजना र राप्रपाका दुईजना सांसद छन् । सत्तारुढ एमाले भने ५६ सांसदसहित एकल बहुमतमा छ । पहिले ५७ जना सांसद रहेकोमा पशुपति चौलागाईंको निधन भएको छ ।बहुमतका लागि बागमती प्रदेश सभामा ५५ जना सांसद भए पुग्छ ।

पार्टीभित्रको विवाद समाधान नभएमा नेपाल समूहमा रहेका २३ जना सांसदले पौडेलविरुद्ध विपक्षी गठबन्धनले ल्याउने अविश्वास प्रस्तावमा सहयोग गर्ने सम्भावना छ । एमालेको अर्को शक्तिशाली सरकार भएको प्रदेश १ पनि हो । तर, नेपाल खेमाले असहयोग गरेको खण्डमा अध्यक्ष ओली पक्षबाट मुख्यमन्त्री रहेका शेरधन राईको सरकार पनि ढल्नेछ ।

प्रदेश १ मा ९३ जना रहेकोमा विपक्षी दल कांग्रेससँग १५, माओवादी केन्द्रका १५, जसपाका तीनजना र राप्रपा तथा संघीय लोकतान्त्रिक मञ्चका एक–एक जना सांसद छन् । यसमध्ये सत्तारुढ एमाले भने ५२ जना सांसदसहित एकल बहुमतमा छ । तर, यसमध्ये १८ जना सांसद एमालेको नेपाल खेमाका छन् ।

उनीहरू केन्द्रबाट पार्टी विभाजन वा नेता नेपालले विपक्षी गठबन्धनसँग सहकार्य गर्न निर्देशन दिएको खण्डमा मुख्यमन्त्री राईविरुद्ध उभिने सम्भावना छ । यी दुई सरकार पनि ढल्दा एमालेको ओली पक्ष सबै प्रदेशबाट पाखा लाग्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व