मुख्यमन्त्री केसीको यस्तो छ विषेशता

 

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी नियुक्त भएका छन् । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार केसीलाई गठबन्धन सरकारको मुख्यमन्त्रीमा निुयक्त गरेका हुन् । केसीले प्रदेशसभामा अब मिलिजुली सरकार चलाउने छन् । केसीलाई प्रदेश सभाका नेपाली कांग्रेस सहितको ४ दलीय गठबन्धन र सूर्य चिह्नबाट निर्वाचित सांसद अजय शाहीसहित ४२ सांसदको समर्थन रहेको छ ।

रोल्पाको निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रत्यक्ष निर्वाचित केसी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।

माओवादी केन्द्र र एमाले अलग–अलग भएपछि उनले वैशाख ६ गते राजीनामा दिएर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका कूल प्रसाद केसी परिचित नाम हो । उनी लुम्बिनी प्रदेशसभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता हुन् । एमाले र माओवादी पार्टी अलग नहुँदासम्म उनी नेकपा संसदीय दलको उपनेता थिए ।

एमालेभित्रको आन्तरिक विवाद र नेकपा बिभाजनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमन्त्री बन्ने अवसर कूलप्रसाद केसीलाई जु-यो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बुधबार प्रस्तुत अविश्वासको प्रस्तावको सामना नगरी राजीनामा दिएपछि केसी मुख्यमन्त्री बन्ने बाटो तय भएको थियो ।

गठबन्धन दलका सांसदहरुलाई सरकारमा चित्तबुझदो हिस्सा दिएर सरकार बिस्तार गर्नेदेखि अघिल्लो सरकारले गरेका कार्य सम्पादनसँगै नयाँ र फरक खालको काम देखाउनुपर्ने चुनौती केसी सामु छ । सामान्य बहुमतमा सरकार निर्माणको धरातल छ । जसलाई निकै कमजोर धरातलका रुपमा चित्रण गर्न सकिन्छ ।

लडाकु स्वभावका मुख्यमन्त्री

लामो समय जनयुद्ध लडेका केसीलाई ‘सोनाम’ को नामले पनि परिचित छन् । केसी रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर ६ लिवाङमा जन्मिएका हुन् ।

शंकर पोखरेलले आफ्नो पार्टीबाट निर्वाचित दुई सांसद र नेकपाबाट निर्वाचित विमला ओलीलाई माओवादी केन्द्र रोजेपछि केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । लुम्बिनीमा माओवादी केन्द्रका सभामुख सहित १९ सांसद छन् ।

मुख्यमन्त्री कूलप्रसाद केसी लडाकु स्वभावका व्यक्ति देखिन्छन । त्यसको छनक उनले पटक–पटकका अभिव्यक्तिमा देखिन्छ । केसीले आफ्नो भाषणमा विशेषण र जटिल शब्दहरुको प्रयोग गर्छन । २०७७ असोज २० गते प्रदेशको राजधानी र नामाकरणको टुंगो लगाउने समयमा प्रदेशसभाको रोस्टमबाटै कांग्रेसले बिरोध जनाएपछि ‘घिसारेर निकालीहाल’ भन्ने शब्दावलीलाई उनलाई आलोचित बनाएको थियो । सादा जीवन र सरल नेताको रूपमा उनीलाई चिनिन चाहन्छन । नकारात्मक सोच भएको समाज व्यवहारलाई सकारात्मक र तीब्र विकासशील अनुसरण गर्न लायक प्रदेश बनाउने केसीको भिजन रहेको बताएका छन् ।

२०२७ सालमा जन्मिएका केसी २०४६ सालमा नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरे । एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढ्दापढ्दै विद्यार्थी संगठनमा सक्रिय राजनीति गर्न थाले ।

गिरीजाप्रसादलाई देखाएको कालो झण्डा

२०४८ देखि २०५० सालसम्म उनले रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी रुपमा शिक्षण पेशा गरे । प्राथमिक तहको स्थायी शिक्षक केसीले २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुप-यो ।

त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति शुरु गरे । त्यसपछि उनले औपचारिक शिक्षालाई अघि बढाएनन् । उनले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाण पत्र तहमात्रै उत्तीर्ण गरेका छन्। पढाइ छाडेर उनी राजनीतिमै बढी लागे ।

२०५० देखि २०५२ सम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भुमिगत भई माओवादीमा सक्रिय भए । माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए । २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाए ।

त्यसपछि २०५६ साल भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । माओवादीको सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रुपमा उनले परिचय बनाए । तत्कालीन माओवादीले पहिलोपटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी सहभागी थिए । २०६० साल जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा उनी पक्राउ परे । त्यसपछि उनी २०६३ साल साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भए । जेलबाट छुटेपछि २०६३ देखि २०६८ सम्म ‘जनमुक्ति सेना’ को तेस्रो डिभिजन कमिसारको भूमिका पाए ।

तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेटमा राखिएपछि वाईसीएल इन्चार्जको भूमिका पनि उनले निर्वाह गरे । २०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे । पार्टी अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए ।

वैद्यपक्षको माओवादीको स्थायी कमिटी सदस्य भएका उनी दोश्रो संविधानसभा निर्वाचन बहिस्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा ‘बादल’ सहित प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए । माओवादीमा फर्किएपछि उनी २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पा १ (१) बाट माओवादी–एमाले गठबन्धनको तर्फबाट चुनाव जिते ।

गठबन्धनमा एमालेका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा उनले दोश्रो वरीयताको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाए । बादल पक्षीय नेता केसी नेकपा विभाजनपछि एमालेमा लाग्छन कि भन्ने आशंकालाई चिर्दै उनी माओवादी केन्द्रमै बसे ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित