बागलुङ । झोलुङ्गे पुलको जिल्ला बागलुङका सात स्थानीय तहमा गत बर्ष २८ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
निसीखोला गाउँपालिकामा सात, गलकोट नगरपालिकामा पाँच , जैमिनी नगरपालिकामा दुई, बगिगाड गाउँपालिकामा चार, बरेङ गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा तीन, ताराखोला गाउँपालिकामा एक र काठेखोला गाउँपालिकामा एक वटा पुल निर्माण गरिएको हो ।
गत आर्थिक बर्ष २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी कुल ३३ वटा पुलको सर्भे गरिएको थियो । कोरोनाको कारण पाँच वटा पुलको निर्माण कार्य ढिला भएको छ । बाँकी पुल आउँदो असोजसम्म निर्माण हुने झोलुङ्गे पुल निर्माणको स्थानीय व्यवस्थापन गर्दै आएको सेवा प्रदायक संस्था विवाईसीका कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए । ताराखोला गाउँपालिकाको दोभानखोला घाट र निस्टीखोला घाट, ढोरपाटनको सिमलचौर, पधेराखोला र राखीबाङघाट पुल निर्माणधिन अवस्थामा छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाई (टिविएसयु) र पिटिएपि पोखराले प्राविधिक सहयोग गर्दै आएको छ ।
टिविएसयुले पुलको लठ्ठा, फलामै सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्छ । कार्यक्रम संयोजक केसीका अनुसार १२० मिटरसम्मका पुल उपभोत्ता समिति र त्यस भन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने पर्छ ।
संघीय सरकारले पुल निर्माणको लागि सशर्त बजेट उपलब्ध गराउँछ । कुल बजेट मध्ये पुल क्षेत्रगत कार्यक्रमको ९२ प्रतिशत, स्थानीय तहको ६ प्रतिशत लगानी र २ प्रतिशत जनश्रमदानको प्रावधान रहेको केसीले जानकारी दिए ।
जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भैरहेको छ । विस २०७६ भदौसम्म जिल्लाभर ४१६ वटा पुल छन । चालु आर्थिक बर्षमा ३५ वटा पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाई छ । सबै पुलको सर्भे गरिएको छ ।