काठमाडौं । हालसम्म देशभर ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कुल संक्रमित सात लाख ३२ हजार २ सय ७२ जना संक्रमितमध्ये ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९३.२२ प्रतिशत संक्रमित डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १ सय ६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो ।
८ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार देशभर १ हजार ८ सय ६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार २ सय ९२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ जना रहेको छ । देशभरका अस्पतालमा ७ सय ५८ जना आईसीयूमा र १ सय ९३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय १९ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म ३७ लाख ५७ हजार ५ सय ७२ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै, देशभर २१ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत प्रदेश एकको मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सचेत र सहज रहन आग्रह गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले संक्रमण जोखिम कायम रहेको भन्दै भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइलाई ध्यान दिनुपर्ने बताए । गृह मन्त्रालयले समेत स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राख्न भनिसकेको छ ।