म्युनिख । जर्मन लेजेन्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । विश्वकप र युरोपेली च्याम्पियन विजेता फरवार्डलाई सन् २०१५ मा अल्जाइमर रोग पुष्टि भएको थियो । त्यसपछि उनलाई विशेष हेरचाहका साथ घरमै राखेर उपचार गरिएको थियो । सोही रोगबाट नै उनको निधन भएको उनको परिवार र बायर्न म्युनिखले जनाएको छ ।
मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका थिए । पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जित्दा उनी टोलीका महŒवपूर्ण सदस्य रहेका थिए । फाइनलमा नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । जर्मन क्लब बायर्न म्युनिखमा १५ वर्ष बसाइका क्रममा मुलरले ४ सय २७ बुन्डेसलिगा खेलमा ३ सय ६५ गोल गरेका थिए । उनले ७४ युरोपियन खेलमा ६६ गोलसमेत गरेका थिए । एक सिजनमा ४० गोल गर्ने कीर्तिमान बनाएको उनको यो कीर्तिमानलाई गत सिजन बायर्नकै रोबर्ट लेवान्डोस्कीले ४१ गोल गर्दै ४७ वर्षपछि तोडेका थिए ।
बायर्नका अध्यक्ष हर्वट हेनरले आज एफसी बायर्न र यसका सबै प्रशंसकका लागि कालो दिन रहेको बताएका छन् । ‘गर्ड मुलर सबैभन्दा महान् फरवार्डमध्ये एक हुन् । उनी राम्रो व्यक्ति र विश्व फुटबलको चरित्र हुन् । हामी सबै उनकी श्रीमती र उनको परिवारको शोकमा एकजुट छौं । उनको नाम र स्मृति सधंैभरि जीवित रहनेछ ।’ बायर्नले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष हर्वट हेनरले भनेका छन् । सन् १९६३ मा टीएसभी नोर्डलिजेनबाट व्यावसायिक खेल करियर सुरु गरेका मुलर १९६४ मा बायर्नमा जोडिएका थिए ।
बायर्न दोस्रो डिभिजनमा रहँदा उनले १९६४-६५ को सिजनमा ३३ गोल गरेपछि बायर्न शीर्ष डिभिजनमा फर्किएका थिए । त्यसको चार वर्षपछि बायर्न जर्मन च्याम्पियन बन्न सफल भए । उनले बायर्नबाट चार बुन्डेसलिगा, चार डीएफबी पोकल, एक रिजनल कप, ३ युरोपियन कप, एक युरोपियन कप विनर्स कप र एक इन्टरकन्टिनेन्टल कप जितेका छन् । उनी १५ सिजन बायर्नमा रहँदा ७ पटक बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता चुनिएका थिए ।
उनले १९७० मा बालोन डिओर जित्न सफल भएका थिए । १९७९ मा बायर्न छाडेपछि उनी अमेरिकन क्लबमा आबद्ध भएका थिए । त्यहाँ तीन सिजन खेलेपछि उनले व्यावसायिक खेल करिअरबाट सन्न्यास लिएका थिए । १९७४ को विश्वकपपछि उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका थिए ।