काठमाडौं । कोरोनाको कहरबीच पनि आइतबार राजधानीमा ‘पाँचौं काठमाडौं सर्ट फिल्म फेस्टा –२०२१’ सम्पन्न भएको छ । छाया छवि क्रियसनको आयोजनामा सम्पन्न सो प्रतियोगितामा अभिनव श्रेष्ठ निर्देशित स्विट सिक्सटिनले उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ । यो प्रतियोगितामा पुरन जोशी निर्देशित महःपूजाले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको छ । यस्तै, यो वर्षको उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड चलचित्र निर्देशक कल्याण अधिकारीले जिते ।
प्रतियोगितामा लक्ष्मण सुवेदी निर्देशित मेहन्दीको रङलाई बेस्ट कन्सेप्ट स्क्रिप्टको अवार्ड, दीपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड प्रदान गरियो । यस्तै नवराज बु्ढाथोकी निर्देशित हाउस हजवेन्डले इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको छ । सर्ट फिल्म फेस्टाका जुरीमा प्रवण भुसाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल र जुरी संयोजकमा ऋषि लामिछाने थिए ।
सो समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाको कारण मुझाएको नेपाली चलचित्र उद्योगका लागि चलचित्रसम्बन्धी यस्ता कार्यक्रम सञ्जीवनी हुने बताए । दाहालले चलचित्र उद्योगको वर्तमान अवस्था र चलचित्रको विकासमा अब के गर्नुपर्छ भन्ने विषयमा सरकारसँग आफ्नो वार्ता भइरहेको र चाँडै सरकारबाट केही प्याकेज ल्याउने पक्षमा आफूहरू रहेको जानकारी गराए ।
यस्तै, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले काठमाडौं सर्ट फिल्म फेस्टाले नेपालमा लघु चलचित्र निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्दै आएको बताए ।
काठमाडौं सर्ट फिल्म फेस्टा विगतदेखि हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष आयोजना गरिने आयोजक संस्था छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए । यसपटक फेस्टामा करिब दुई दर्जन नेपाली लघु चलचित्रले भाग लिएको पनि उनले जनाए ।
कार्यक्रममा चलचित्र निर्माता तथा प्रविशा प्रकाशन प्रालिका अध्यक्ष प्रदीपकुमार उदयले काठमाडौं सर्ट फिल्म फेस्टा’bout जानकारी गराएका थिए । उनले अब सिनेमा हल खुलेपछि नेपाली चलचित्रका दर्शक बढ्ने जिकिर गरे ।
समारोहमा वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित ‘फिल्मी खबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार’ पत्रकार सुमन बैरागीलाई प्रदान गरियो । विगत डेढ दशकदेखि रंग पत्रकारितामा सक्रिय भएका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको आयोजक पक्षले जनायो । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र थियो ।