काठमाडौं उपत्यका र आसपासका क्षेत्र फोहोरको डंगुरले भरिन थालेपछि महानगरवासी निकै चिन्तित हुन थालेका छन् । महानगरपालिकाले समयमा फोहोर नउठाइदिँदा आधा महिनासम्म थुप्रिएको फोहोरबाट निस्किएको दुर्गन्धले अर्को महामारी निम्त्याउने त होइन भन्ने त्रासदी उत्पन्न गराएको छ । मनसुन फेरि सक्रिय हुँदा परेको पानी र हिलाम्यै सडकका कारण महानगरपालिका डुङ्डुङ्ती गन्हाउन थालेको छ । उता निरन्तर झरी र हिलोका कारण फोहोरलैजाने सडक अस्तव्यस्त भएकाले नुवाकोटको औखरपौवा सिसडोलस्थित ल्यान्डफिल्ड साइटमा गाडी जान सक्ने अवस्था छैन । महानगरपालिकाले यही कारण देखाएर काठमाडौंको फोहोर बाहिर नलैजाँदा काठमाडौंवासी टोलटोल र घरघरमा नै फोहोर थुपार्न बाध्य भएका हुन् । फोहोर फ्याँक्न सिसडोलस्थित फिल्डमा बारम्बार विवाद आउँदा वैकल्पिक स्थानको छनोट र फोहोर व्यवस्थापनका कुरा धेरैपटक उठिसकेका छन् । तर, नेपालीको काम चलेकै छ भन्ने पुरानो बानीका कारण महानगरले वैकल्पिक फोहोर व्यवस्थापन’bout कहिल्यै पनि सोचेर काम अघि बढाउन सकेन । फोहोर व्यवस्थापन’bout विज्ञ तथा स्थानीय जनताबीच केही ठाउँहरूमा कुराकानी भए पनि त्यसलाई कार्यरूप दिइएन ।
परिणामतः अहिले काठमाडौं उपत्यकामा दुई हप्ताभन्दा अघिदेखि थुप्रिएको फोहोरले हैजालगायतका महामारी निम्त्याउने त होइन भन्ने आशंका उब्जाइरहेको छ । मानिस कोठाभित्र बसे पनि कोठाबाहिर थुपारिएको फोहोरको दुर्गन्धले घरमात्र होइन, टोलटोल नै गन्हाउन थालेका छन् । यस्तोखाले दुर्गन्धबाट बच्न नदी किनारा र नजिकमा रहेका मानिसहरूले रातारात फोहोर नदी किनारामा थुपार्न थालेका छन् । कतिपयले रातिराति सडकका चोक, किनारामा फोहोर थुपारिरहेका छन् । चोकमा रहेका घरहरूमा बस्न नसक्ने दुर्गन्ध आउन थालेपछि फोहोर फाल्न मनाही गरिएका पोस्टर भित्तामा टाँस्न थालेको पनि देखिएको छ । यतिले मात्र नपुगेर यहाँ फोहोर फाल्ने असभ्य हो भन्नेसम्मका प्लेकार्ड पनि राखिएको देखिन थालेको छ । महानगरपालिका र यसका आसपासका क्षेत्रबाट दैनिक उठ्नुपर्ने १हजार ५४ टन फोहोर दैनिक थुप्रिरहेको छ । फोहोरबाट बचाउन र काठमाडौं फोहोररहित बनाउन सिंगो उपत्यकाबाट दैनिक औसत १ हजार ५७ टन फोहोर बाहिर पठाउनुपर्छ । फोहोरबाट मोहोर बनाउने भन्ने सपना जनताबीच बाँडे पनि त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकिरहेको छैन ।
हाल करिब १५ हजार टन हाराहारीमा फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएको छ । एक त कोरोना महामारीले ग्रस्त काठमाडौं, त्यसमा पनि फोहोरको डङ्गुरका कारण महामारीमाथि अर्को महामारी थुप्रने त होइन भन्ने सन्त्रास जनताका माझमा छाएको छ । फोहोरको तत्काल व्यवस्थापनका लागि अस्थायी साइट हेरेर भएपनि फोहोर उपत्यकाबाहिर पठाउनु जरुरी भइसकेको छ । मनसुन केही दिन लम्बिन पनि सक्छ । त्यसैले उपत्यका बाहिर फोहोर पठाउने व्यवस्था गर ।