काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विषेश कार्यदल) बगलामुखी काठमाडौंमा सञ्चालित सि.सं. २३३ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।
सोही गणमा आयोजित सो तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सो तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान अविनाशकुमार साहलाई खुकुरी प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरे ।
त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा पूर्ण कार्यसफलताको शुभकामना समेत दिए ।
उनले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्दै तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै इमान्दार, कर्तव्यनिष्ठ र पूर्ण व्यवसायिक भई संगठनले लिएको उद्देश्य प्राप्तीतर्फ कटिबद्ध रहेर व्यवसायिक कार्यसम्पादनमा जुट्न त्यसैअवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिउसिनाले सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई राष्ट्रसेवामा लाग्न आफ्ना सन्ततीहरुलाई अभिप्रेरित गर्ने दीक्षित जवानहरुका अभिभावकप्रति हार्दिक आभार प्रकट गर्दै संगठनका नवप्रवेशी जवानहरुलाई फौजी कला, कौशल तथा रणनीति सिकाई व्यवसायिक ज्ञान प्रदान गर्ने कार्यमा अहोरात्र खटिईने तालिमका प्रशिक्षकबर्ग प्रति समेत धन्यवाद प्रकट गरे ।
३४ साता अवधिको उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान राजेन्द्र तामाङ्ग, कवाजतर्फ सशस्त्र प्रहरी जवान सबिन भोञ्जन र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान रञ्जिता राई उत्कृष्ट भएका छन् भने ३८ जना महिलासहित कुल १ सय १५ जना सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।