लमजुङ । लमजुङमा नेकपा (एकीकृत समाजवादी) दलको मान्यता पाएको भोलिपल्टै पार्टीका अगुवा नेता कार्यकर्ताहरूको उपस्थितिमा जिल्ला शाखा कार्यालय उघाटन गरिएको छ । सो दलका नेता बालकृष्ण बरालले उक्त कार्यालयको बिहीबार उदघाटन गरे ।
जबजको मुल सार आफूहरूसँग रहेको केपी ओलीसँग त प्रतिगमन, अवसरवाद र विसर्जनवाद मात्र बाँकी रहेको उनको भनाई थियो । ओलीको विधान र पद्दति मिच्ने र बैठक नबस्ने प्रवृत्तिले पार्र्टी विभाजन भएको दावी गरे । उनले पार्टीमा फुट आउनुमा ओलीको भन्दा पनि पार्टी एकताका लागि भनेर लाग्ने १० नेताको हात रहेको उल्लेख गरे ।
नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबुु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उनले २०७४ सालमा लमजुङबासीले अनुमोदन गरेको जनमतको कदर गर्ने र त्यसको अस्तिवत्वलाई बचाई राख्ने विश्वास व्यक्त गरे ।
उनले गत चैत्र २१ गते पुनर्गठित भएको लमजुङ जिल्ला कमिटीबाट सामानान्तर पार्टी कमिटी गठन गरेर पार्टीको शुद्धिकरणका लागि लागेकाहरू नै अधिकांश अहिलेको यो पार्टीको जिल्ला कमिटिमा रहेको जानकारी दिए । उनले तत्कालका लागि जिल्ला समिति ३९ सदस्यीय रहेको जानकारी दिए ।