इस्तानबुल । अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली फ्रान्सेली पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटी एकै समूहमा परेका छन् । बिहीबार भएको नयाँ सिजनको च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ को समूह ‘ए’ मा पीएसजी र म्यानचेस्टर सिटीसँगै जर्मन क्लब आरबी लाइप्जिग र बेल्जियन क्लब ब्रुग रहेका छन् । पीएसजी र म्यानचेस्टर सिटीले गत सिजन सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । जसमा म्यानचेस्टर सिटी पहिलो लेगमा २–१ ले तथा दोस्रो लेगमा २–० ले विजयी भएको थियो ।
त्यस्तै साविक विजेता इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्स पनि एकै समूह ‘एच’मा परेका छन् । यो समूहमा जेनिथ सेन्ट पिटर्सवर्ग र माल्मो पनि रहेका छन् । यस्तै जर्मन च्याम्पियन बायर्न म्युनिख, क्याटलान क्लब बार्सिलोना, पोर्चुगिज क्लब बेन्फिका र डिनामो किएभ समूह ‘ई’मा रहेका छन् । बार्सिलोना र बायर्नले सन् २०१९–२० को सिजनमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दा बायर्नले ८–२ को फराकिलो जित निकालेको थियो ।
यस्तै स्पेनको रियल मड्रिड, इटालीको च्याम्पियन इन्टर मिलान, युक्रेनी क्लब शाख्तर डोनेक्स र सेरिफ समूह ‘डी’मा रहेका छन् । रियल, इन्टर मिलान र साख्तर गत सिजन पनि एकै समूहमा रहेका थिए । मोल्दोभाको सेरिफ पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भएको हो । समूह ‘बी’मा स्पेनको च्याम्पियन एट्लेटिको मड्रिड, इंग्लिस क्लब लिभरपुल, पोर्चुगिज क्लब पोर्टाे र इटालियन क्लब एसी मिलान रहेका छन् । समूह ‘सी’ स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स र बेसिक्टास रहेका छन् ।
सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली रहेका छन् । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । एकै समूहमा एकै राष्ट्रका दुई क्लब हुनेछैन । समूह चरणको खेल १४ र १५ सेप्टेम्बरमा हुनेछ । त्यसपछि २८ र २९ सेप्टेम्बरमा हुनेछ । अक्टोबर १९ र २० म तेस्रो राउन्डको खेल हुनेछ । चौथो राउन्डको खेल नोभेम्बर २ र ३ मा हुनेछ । पाँचौं राउन्डको खेल २३ र २४ नोभेम्बरमा तथा छैटौं राउन्डको खेल ७ र ८ डिसेम्बरमा हुनेछ ।
समूह विभाजन
समूह ‘ए’ – म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग र क्लब ब्रुग
समूह ‘बी’ – एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान
समूह ‘सी’ – स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स र बेसिक्टास
समूह ‘डी’ – इन्टर मिलान, रियल म्याड्रिड, साख्तर डोनेस्क र सेरिफ
समूह ‘ई’ – बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका र डिनामो किएभ
समूह ‘एफ’ – भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा र योङ ब्वाइज
समूह ‘जी’ – लिल, सेभिया, साल्जबर्ग र वल्फ्सवर्ग
समूह ‘एच’ – चेल्सी, युभेन्टस, जेनिथ सेन्ट पिटर्सवर्ग र माल्मो