क्रान्तिकारी विद्रोह कि भाइपर्वको शृंखला ?

प्रसिद्ध इतिहासविद् तथा अन्वेषक ज्ञानमणि नेपालले ‘भाइपर्व’ शीर्षकको लेखमा पृथ्वीनारायण शाहका भाइहरूले दाइलाई दिएको हैरानी’bout उल्लेख गरेका छन् । राज्य जित्ने अभियानमा सुरुसुरुमा सबै भाइले साथ दिए । परन्तु नुवाकोट, मकवानपुर, पाटन र कान्तिपुरमाथि गोर्खाली झन्डा फहराउनासाथ भाइहरूले भाग खोज्न थालिहाले । उनीहरूलाई विजित राज्यको राजा बन्न मन लाग्न थाल्यो । पाँच पाण्डवजस्ता मानिएका भाइहरू ठुस्सिए । भक्तपुर कब्जा गर्ने अभियानमा कान्छा शुरप्रताप शाह मात्र पृथ्वीनारायण शाहको साथमा थिए ।

पृथ्वीनारायण शाहको मृत्युपछि प्रतापसिंह शाह राजा भए । उनी अचम्मका भाग्यवादी थिए । प्रताप सिंह शाह ‘तन्त्रमन्त्र साधनाद्वारा यस जन्ममा भुक्ति र सिद्धि एवं परजन्ममा मुक्ति पाउने’ अनुष्ठानमा लागेका थिए । ‘मांस मदिरा र मैथुनद्वारा’ सिद्धि पाउने मार्गमा सहायता गर्न दरबारमा एउटा दल खडा भएको थियो (नेपालको महाभारत) । यस्तै प्रवृत्तिमा लिप्त रहँदै आएका उनले आफू राजा हुनेबित्तिकै राष्ट्रभक्त भाइ बहादुर शाहलाई बाबुको किरिया कर्म गरिरहेकै अवस्थामा नजरबन्दमा राखे ।

सायद प्रताप सिंह शाहलाई आफ्नो भाइ पनि काकाजस्तै त होला भन्ने शंका लाग्यो होला । बहादुर शाहको मनसाय काकाहरूको जस्तो थिएन । तथापि, उनले दाजु प्रतापसिंह शाह वसन्तपुर महलको रस रङमा रम्नुलाई भने उचित मानेका थिएनन् । प्रताप सिंह शाहको ‘ढुंगाको (राज्य) घट्नु बढ्नु त कसैले गरे पनि केही हुँदैन, दैवको इच्छाले हुन्छ । आफ्नाआफ्ना भाग्यमा लेखेको भोग गर्नुपर्छ ।’ भन्ने भाग्यवादी भनाइप्रति बहादुर शाहको चित्त बुझेको थिएन । निर्दयी राजकाजले निर्दोष बहादुर शाहलाई दिएको पीडाको फेहरिस्त लामो छ ।

महत्वाकांक्षी जंगबहादुरलाई शक्ति हातलागी गर्ने अभियानमा भाइहरूको हार्दिक सहयोग प्राप्त भएको थियो । किन्तु, शक्तिमा पुगेपछि परिस्थितिमा परिवर्तन आयो । जंगबहादुरले भाइ बद्री नरसिंहलाई भारतको अलाहावादस्थित चुनारको किल्लामा थुन्न पठाएका थिए । जंगबहादुरको देहावसानपछि उनका सन्तानको सत्यानासको वीभत्स घटना र रणोद्दीप सिंहको हत्या नेपाली राजकाजको निष्ठुर इतिहासका प्रतिनिधि कथा हुन् । वीर शमशेरले खड्ग शमशेरलाई र चन्द्र शमशेरले देव शमशेरलाई लघारेका घटना राजकाजले दाजुभाइलाई समेत बाँकी राख्दैन भन्ने जीवन्त उदाहरण हुन् ।

नयाँ दलका नेताहरूको वाणीमा लगाम लाग्छ कि गालीगलोज र उपहासको निरन्तरता हुने हो, परीक्षणकाल सुरु भएको छ

राजकाजले मिलेका भाइलाई पनि फुटाइदिन्छ । १७ साल पर्वपछि राजा महेन्द्रले सभामुख कृष्णप्रसाद भट्टराईलाई थुनेर राखेका थिए । कृष्णप्रसाद लेख्छन् , ‘सम्भवतः मेरो परिवारद्वारा मलाई कुनै किसिमको प्रोत्साहन वा सहायता नमिलोस् भन्ने हेतुले मेरा दाइ गोपालप्रसाद भट्टराईलाई राजाले गोरखापत्रको प्रधान सम्पादक बनाएका थिए’ (मेरो म) । नितान्त धुजाधुजा भएका भुल्ला लुगा पहिरेर परित्यक्त अवस्थामा बस्नुपरेको ’bout सन्त नेताले गरेको वर्णन बडो दारुण छ । प्रधानमन्त्री भएपछि गोरखा र अन्य विभिन्न ठाउँका भट्टराई बन्धुहरूले देखाएको ‘राजकाजी आत्मीयता’को वर्णन भने निकै रोचक छ ।

भनिन्छ, व्यापारिक साझेदारबीच नाफा हुँदा मिलाप र घाटा हुन थालेपछि विग्रह हुन्छ । तर, राजनीतिक व्यक्तिहरू प्रायः दुःखमा मिल्छन् र सुखमा फाट्छन् । संघर्षको समयमा पाउनुपर्ने केही हुँदैन । परिवार र सम्पत्तिको परित्याग गरेर हिँड्ने क्रान्तिवीरले त गुमाउनुपर्ने कुरा पनि केही हुँदैन । परन्तु, संघर्षको चरण पार गरेर राजकाजको चरणमा प्रवेश गरेपछि त्यो सहृदयता आआफ्नो स्वार्थअनुसार कहिले प्रेम र कहिले घृणामा परिणत हुन्छ । बलियोले पेल्ने र निर्धोले निहँु खोज्ने प्रवृत्ति पुरानो भाइपर्वकै निरन्तरता हो ।

लोकतान्त्रिक पद्धतिमा दुई ठूला दलबीचको चुनावी गठबन्धन अस्वाभाविक हो । नैतिक दृष्टिले समेत ठूला दलको गठबन्धन साना दलमाथिको थिचोमिचो मानिन्छ । नेपालमा एक से एक महत्वाकांक्षी नेताहरू रहेका दुई ठूला दल माओवादी र एमाले आपसमा मिल्नु एउटा दृष्टिबाट मात्र उपयुक्त थियो । इमानदारीसाथ मिलिजुली काम गरेको भए राजनीतिक स्थिरता कायम भई मुलुकले समृद्धिको बाटो पहिल्याउन सक्थ्यो । किन्तु, निर्वाचनमा प्राप्त अपार बहुमतले निरंकुुशतातर्फ उन्मुख गराउने खतरा पनि उत्तिकै थियो । प्रकाण्ड एवं दुर्दमनीय महत्वाकांक्षी नेताहरू एउटै दलभित्र अटाउन कठिन हुनु अर्को सम्भावित खतरा थियो जो सत्य साबित भयो ।

पुरानो लोकोक्ति भन्छ, ‘एउटै वनमा दुई बाघ अटाउँदैनन् ।’ एउटै इलाकामा दुई थान बाघ हुनेबित्तिकै एउटा बाघ साबिक इलाका छाडेर जान्छ या लडेर दुईमध्ये एक सकिनुपर्छ । पारिस्थितिक पद्धति (इकोलोजी) सुचारु हुनका लागि पनि यो आवश्यक छ । सायद ठूला दलबीचको एकीकरण पारिस्थितिक पद्धतिविरुद्ध भएको थियो । ५० वर्षसम्म लगातर आफ्नो दलको विजय भइरहनेछ भनेर घोषणा हुनु बहुदलीय लोकतन्त्रका लागि खतरनाक कुरा थियो । एउटै वनमा दुई÷तीन वटा बाघ हुनु र आधार इलाका भने एउटाको कब्जामा पुग्नु प्राकृतिक सन्तुलन अनुकूल थिएन । सायद त्यसैको परिणाम स्वरूप जे हुनु अनिवार्य थियो त्यही भयो ।

एउटा अंग्र्रेजी उखान छ, ‘मूर्ख र धन सँगै बस्न सक्दैनन् ।’ धन (लक्ष्मी) लाई शुभ, ऐश्वर्य, प्रभुत्व र स्वामित्वको प्रतीक मानिन्छ । राज्यशक्तिको प्राप्ति भनेको राज्यलक्ष्मीरूपी धनलाभ हुनु हो । मूर्खको हातमा लक्ष्मी पुगे तापनि आफ्नै अज्ञान या अहंकारका कारण प्राप्त धनलाई गुमाइछाड्छ । राज्यसत्ता पनि लक्ष्मीझैं अस्थिर र चञ्चल हुन्छ । एमालेका वरिष्ठ नेताहरूमा राज्यलक्ष्मीलाई सम्यक तरिकाले मसक्क बाँधेर राख्ने क्षमता भएन । आपसी विग्रह, दम्भ र बखेडाका कारण जनताले सुम्पेको राज्यलक्ष्मी गुमाउनुप-यो । यो भाइपर्व राजनीतिक र नैतिक दुवै हिसाबले एमाले भाइहरूको अपूरणीय पराभव हो ।

प्रकाण्ड एवं दुर्दमनीय महत्वाकांक्षी नेताहरू एउटै दलभित्र अटाउन कठिन हुनु अर्को सम्भावित खतरा थियो, जो सत्य साबित भयो

राजनीतिमा प्रायः कमाउने एउटा र भोग गर्ने अर्कै हुन्छ । संसदीय प्रणालीमा त झन् धेरै जनाको आर्जन एक जनाले भोग गर्छ । त्यही भोगको लालसाले भविष्यमा पनि संघटन र विघटनका खेल हुनेछन् । शिथिल भएर बसेका अग्रज नेतालाई उचालेर विग्रहको बाटोमा लाग्न उक्साउने मानिसको कमी हुनेछैन । ज्यान एकातिर र मन अर्कैतिर हुने ‘शल्यराजा सिन्ड्रोम’को आरोप खेप्ने नेताहरू पनि देखिनेछन् । आपसी भनाभन, कटाक्ष र पेच हान्ने काम निरन्तर चल्नेछन् । परन्तु, हालको जस्तो कोलाहलपूर्ण कलह गरेर हेर्दाहेर्दै आफ्नो मजबुत किल्ला आफैं भत्काउने काम त न भुतो न भविष्यति । यो हाम्रो देशको राजनीतिमा चल्दै आएको भाइपर्वको निर्मम निरन्तरता हो । विगतमा यस्तो भाइपर्व सत्तासीन भाइ या परिवारबीच हुने गथ्र्याे । लोकतन्त्रमा दलीय भाइहरूबीच हुन्छ ।

भिन्न विचारका दुई ठूला दलबीचको मिलन अप्राकृतिक थियो । अभिन्न विचारको एमालेको विखण्डन अप्राकृतिक छ । लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि व्यक्ति यस घटनाबाट हर्षित हुन सक्दैन । अहिले नेकपा एमालेबाट ‘क्रान्तिकारी विद्रोह’ गरी छुट्टै घर बनाउन पुगेको घटकको एमालेको भन्दा फरक नीति के हो ? उनीहरूसँग जनताले बुझ्ने, महसुस गर्ने र सहमत हुने छुट्टै कार्यक्रम के छन् ? नवगठित पार्टीसँग हाल स्थापित पार्टीहरूले अंगीकार गर्न छुटाएको र नेपाली जनताका लागि अपरिहार्य त्यस्तो उपहार के छ ?

भाइपर्व मच्चाई छुट्टीछाट्टी भएको एक घरमा अलि चहक र अर्कोमा मलिनता देखिए तापनि आजको मितिमा यी दुवै राज्यलक्ष्मी, ऐश्वर्य र सौन्दर्य गुमाएका भाइहरू हुन् । आवाजलाई रवाफिलो बनाउन खोजिए तापनि पुरानो वीर्य र सौर्य कायम छैन । जति मुस्कुराउन खोजे पनि मनभित्र पीडा छ । दुवै घरमा रौनक, चमक र बुलन्दी छैन । हतप्रभ मानिसहरूको भीडमा चकमन्न सन्नाटाजस्तो परिदृश्य देखिन्छ । यो भाइपर्व उहाँहरूकै शब्दमा, ‘दम्भ, अहंकार, हेपाहा प्रवृत्ति र कार्यशैलीप्रतिको विद्रोह’ हो । कार्यशैलीप्रतिको आक्रोश कसरी ‘क्रान्तिकारी विद्रोह’ हुन सक्छ भन्ने कुराको पुष्टि सम्बन्धित पक्षले गर्नुपर्छ । किनकि, दम्भ, एकाधिकार र हेपाहा प्रवृत्तिको विरुद्धमा नयाँ पार्टी नै गठन हुने परिस्थिति उत्पन्न हुनु आश्चर्यजनक घटना हो ।

नवस्थापित दलमा कायम हुने आन्तरिक लोकतन्त्र परीक्षामा छ । प्रश्नको सम्मान, आलोचनाको पहिचान र असल सुझावको ग्रहणशीलता परीक्षामा छ । नयाँ दलमा दम्भहीनता र शालीनता कायम हुन्छ कि हुँदैन ? व्यवहारबाट पुष्टि हुनु जरुरी छ । नयाँ दलका नेताहरूको वाणीमा लगाम लाग्छ कि गलीगलोज र उपहासको निरन्तरता हुने हो ? परीक्षणकाल सुरु भएको छ । सर्वोपरि परीक्षा इमानको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक