काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे ।
छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ । स्वास्थ्य स्थितिका कारण टोलीका नियमित सदस्य डिफेन्डर पुनम जर्घा मगर उज्वेकिस्तान भ्रमणमा हुने छैनन् । उनले दशरथ रंगशालामा आयोजना भएको बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलसमेत गुमाएकी थिइन् ।
उनको स्वास्थ्यस्थितिकै कारण प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा १२औं खेलाडीको रूपमा राष्ट्रिय धुन बजाउनेक्रममा मैदानमा पठाएको थियो । त्यसपछि उनी डकआउटमा आएकी थिइन् । विश्व फुटबलमा स्वास्थ्यमा समस्या देखिएका खेलाडीले नखेल्ने निश्चितजस्तै भएको अवस्थामा खेलाडीलाई सम्मानस्वरूप यसरी बिदाई गर्ने चलन रहँदै आएको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल रहेको समूह ‘एफ’मा र फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग २ असोजमा खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलम ५ असोजमा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशसँगको दुई खेलबाट पाँच खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका थिए । प्रशिक्षक ग्यारीले सविता रानामगर, प्रीति राई, रश्मि कुमारी घिसिङ, सिर्जनासिंह ठकुरी र रजनी थोकरलाई डेब्यु दिएका थिए । अब टोलीमा रहेका डिफेन्डर बिमला विक र निशा थोकरले डेब्यु गर्न बाँकी छ ।
नेपाली टोली
अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हीरा भुजेल, इन्दिरा राई, मन्जली कुमारी योन्जन, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मिकुमारी घिसिङ, रेनुका नगरकोटे, सविता राना मगर, सरु लिम्बु र सिर्जनासिंह ठकुरी, ग्यारी फिलिप्स (मुख्य प्रशिक्षक), चेतन घिमिरे (प्रशिक्षक) र नवीना श्रेष्ठ वैद्य (फिजियो)