काठमाडौं । साताको अन्तिम कारोबारको दिन हिजो बिहीबार सेयर बजार मापक नेप्से परिसूचक राताम्मे देखिएको छ । नेप्से ७६.६५ अंकले घटेर २ हजार ८१२.३८ अंकमा झर्दा सबै सूचक राताम्मे देखिएको हो । बिहीबार सेयर बजार दिनभर उतारचढाव भएर परिसूचक २ हजार ७९५ सम्म झरेको थियो । तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिँदा नेप्से २ हजार ८ सयको बिन्दुमाथि नै रहन पुग्यो ।
जलविद्युत् र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा ठूलो हिस्सा ओगट्ने बैंकिङ समूह २ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम्, माइक्रोफाइनान्स र विकास बैंक समूहमा ३ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।
कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँबराबरको कारोबार भएको छ ।
बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै र असोज १ गतेदेखि लागू हुनेगरी निक्षेप तथा कर्जामा ब्याजदर बढाए पछि सेयर बजारमा समस्या देखिन थालेको हो । बैंकहरूले निक्षेप तथा कर्जाको ब्याज दर बढाएपछि नेप्से परिसूचकका १३ वटै उपसमूह राताम्मे भएको बुझाइ लगानीकर्ताको छ ।
१३ उपसमूहमध्ये बैंकिङ ४१, व्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत् १३७, फाइनान्स १३९, निर्जीवन बिमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बिमा ४५२ र लगानी समूह २ अंकले घटेको छ ।
कारोबारमा आएका २२९ कम्पनीमध्ये २ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बजार घटे पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । १ लाख १३ हजार ८ सय ७ पटकको कारोबारमा १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा बढी छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ । आईसीएफसी फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ ।
लिबर्टी इनर्जीको मूल्य ६.७ तथा चन्द्रागिरि हिल्सको मूल्य ६.५ प्रतिशतले घटेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।