स्मृति : त्यो अन्तिम आवाज

 

निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो ।

‘कतै आमालाई पो केही भयो कि ?’

बहिनीहरूले फेसबुक म्यासेन्जरबाट ‘भिडियो कल’ गरेका रहेछन् । ‘नेपालमा अहिले मध्यरातै छ, पक्कै आमालाई केही भयो ?’ अनायास मन तरंगिन थाल्यो । धड्कन बढ्न थाल्यो । काँपिरहेको हातले फोन उठाएँ । बेहोसीमा लठ्ठिसकेकी आमालाई बहिनी र भदैनीले अडेस लगाएर जबर्जस्ती ब्युँझाइरहेका थिए, ‘माइजु आँखा खोल्नुस्, ऊ दिदीलाई हेर्नुस् त, दिदीलाई देख्नुभयो ?’

‘आमा…’ भनेर चर्को स्वरमा बोलाएँ । मेरो स्वर सुनेर होला, आँखा खोल्ने प्रयास गर्नुभयो । बल गरेर बोल्न खोज्नुभयो तर बोली निस्केन । रोएजस्तो, हाँसेजस्तो । धेरै कुरा भन्न खोजेझैं । अनि, आँखा खोलेर कसैलाई खोजेजस्तो । छेउमा सुतिरहेकी छोरीलाई दोखाएँ । लाग्दैछ, आमा मसँग बिदा माग्दै हुनुहुन्छ ।

आमालाई माफी माग्दै सम्झाउन थालें, ‘आमा, मलाई माफ गर्नुस् है । यस्तो बेला म तपाईंको साथमा हुनुपर्ने हो, के गर्नु समय र परिस्थितिले म तपाईंनजिक आउन सकिनँ । तपाईंले धेरै दुःख पाउनुभयो । मन नदुखाउनूस्, अब तपाईंको रोगसँग छुटकारा पाउने दिन आयो, मुक्ति पाउनूस् । दुःख नमानी खुसीसाथ जानूस् । तपाईं त अब हाम्रो पितृ हुनुभयो, भगवान हुनुभयो, हामीलाई आर्शिवाद दिनूस् ।’

लेखक : बाला राई

मेरो कुरामा स्वीकृति जनाएझैं आमाले टाउको हल्लाउने प्रयास गर्नुभयो । मन गाँठो पर्दै गयो । आमाको त्यो कष्ट हेर्न सकिरहेको थिइनँ । उहाँले एकपटक सुरिलो र तिखो स्वरमा ‘नानी’ भनेर बोलाउनुभयो । त्यही बोली ‘अन्तिम’ बन्यो ।

आमालाई हेर्न सकिनँ । फोन काटेर चिच्याउन थालें । मेरो चित्कारले छोरी ब्युँझिइन् ।
‘के भयो आमा ? किन यति बिहानै रुनु भएको ?’ छोरीको प्रतिउत्तरमा मात्र आँसु झरिरहे ।

‘बोजुलाई सम्झेर रुनु भएको हो ? बोजुलाई केही हुन्न आमा, नरुनूस्,’ ९ वर्षकी छोरी सम्झाउन खोज्दै थिइन् । उनलाई हेरें अनि आँसु पुछ्दै बाथरुम गएर नुहाएँ । आमाको नाममा बत्ती बालें ।
‘यो जन्ममा जति दुख कष्ट भोग्नुभयो, आमा अब तपाईंको आत्माले शान्ति पाओस्, बाँचुञ्जेल धेरै दुःखकष्ट भोग्नुभयो । त्यत्रो ठुलो रोगसँग लड्नुभयो । पीडाबाट मुक्ति पाउँदै हुनुहुन्छ । ईश्वरको साथमा लिन हुनुहोस्, अब तपाईंलाई कष्ट हुने छैन । राम्रो परिवारमा जन्म लिनुहोस् । त्यो जन्ममा तपाईंलाई दुःख, पीडा, अभाव र एक्लोपना महसुस नहोस् । आमाबुबा, श्रीमान्, छोराछोरीको माया पाउनूस्’ निरन्तर प्रार्थना गरिरहें ।

आमा भन्नुहुन्थ्यो, ‘म मरेपछि अरु केही गर्नुपर्दैन, एक हप्तासम्म आमाको आत्माले शान्ति पाओस् भनेर बिहानबेलुकी दियोमा ठाडो पारेर बत्ती बालिदिनू । जुठो पनि तीन दिनमात्र बार्नु, विशेष नुनतेल र दुधचाँहि नखानू ।’ उहाँको आज्ञा भनौं वा आग्रह, मैले पालना गरें ।

आमाले शरीर त्याग्नु अघिल्लो रातभर मलाई बोलाइराख्नुभयो रे । सायद, मलाई खोज्नुभएको होला ? बिहानीपख ‘भिडियो च्याट’मा बोलेपछि मलाई बोलाउन छाड्नुभयो रे । बहिनीले पछि सुनाइन् । मलाई काममा जानु थियो । आमाको वाक्य रहे पनि सास गइसकेको थिएन । त्यसैले खान मन नलागी नलागी थोरै खाएर काममा निस्किएँ । बहिनीले ‘म्यासेन्जर’मा आमाले भनिराखेका कुरा, हिसाबकिताब, राखनधारनसम्बन्धी बताइरह्यो ।

तीन घण्टा काम गरेर घर आएँ । श्रीमान् र छोरीका लागि साँझको खाना बनाउने तयारी गर्दै थिएँ । ‘इन्टरनेसनल कलिङ’ भन्दै फोनको घण्टी बज्न थाल्यो । मन फेरि बेचैन हुन थाल्यो । फोन हेरें, नेपालबाट बुबाको रहेछ, ‘छोरी, आमाले बिदा लिनुभयो नरुनु है, मन बुझाउनु । हामी यो संसारमा आएपछि ढिलोछिटो एकदिन जानैपर्छ, संसारकै नियम हो । ज्वाइँ र नातिनीलाई अहिले नभन्नु बेलुकीको खाना दिएरमात्रै सुनाउनू ।’

केही बोल्न सकिनँ, फोन काटें । ढोकैमा थचक्क बसेर फेरि डाँको छाडेर रुन थालें । छोरी पनि टाँसिएर रुन थालिन् । दुई वर्षदेखि ठुलो आन्द्राको क्यान्सरले थलिएकी आमालाई चार महिनाअघि नेपाल गएर भेटेर आएकी थिएँ । उहाँको त्यो पीडा–दुखाइ देख्दा ‘रोगसँग छिट्टै मुक्ति पाए हुन्थ्यो’जस्तो लाग्थ्यो । म कोरिया फर्केपछि झन् साह्रो भएर अस्पतालमै राखेकोले दिनहुँ ‘भिडियो कल’मा कुरा हुन्थ्यो ।

आमा सँधैं सम्झाउनुहुन्थ्यो, ‘मेरो पिरचिन्ता एउटै नलिनु है । आफ्नो परिवार हेर्नू, छोरीको राम्रो हेरविचार गर्नू । म त अब अस्ताउन लागेको जुन, त्यहीमाथि रोगले खाइसकेको मान्छे, कति दिन, कति समय दुःख पाउनु लेखेको छ । दिन नपुगी काल नि नआउनेरहेछ । अलि दुखाइ सहन सक्दिनँ, त्यतिमात्र हो तर मेरो पटक्कै चिन्ता नगर्नू । यहाँ मलाई हेर्ने मान्छे धेरै छन् । हाम्रो भेट भइहाल्यो, म खुसी छु, मरिहाले पनि त्यति टाढा (कोरिया)बाट आउनुपर्दैन । पछि, जहिले सम्भव हुन्छ, एकडेढ वर्षमा त्यो बेला आउनू ।’

‘ल…ल हुन्छ, अहिले त मैले चाहेर पनि आउन सक्दिनँ आमा । गाह्रो छ, तपाईंलाई थाहै छ, झनझन् कोरोनाको अरु रूपहरू फैलिरहेको छ । नेपालमा झन् धेरै गाह्रो छ, अहिले त प्लेन पनि त्यति चल्दैन,’ म आमालाई कोरोना कारण देखाएर आफ्नो बाध्यता बताइराख्थें, उहा“ले पनि ‘मन बुझाउन’ सकून भनेर ।

‘छोरी सानै छे, मलाईभन्दा उसलाई तेरो आवश्यकता छ, उसको राम्रो ख्याल गर्नू, धेरै पढाउनू । मेरो आर्शिवाद सँधैं तिमीहरूलाई छ,’ थलिएकी आमालाई छाडेर म कोरिया फर्किने बेला आमाले भनेकी थिइन् । अब आमालाई ‘फेरि भेट्न पाउदिनँ’ भन्ने लागिसकेको थियो । त्यसैले म मानसिक रूपमै तयार भएर मन बुझाइरहेकी थिएँ ।

कोरोना महामारीमात्र नफैलिएको भए ‘जसरी भए पनि’ नेपाल जान्थें । आमालाई पनि कति धेरै भेट्न मन थियो होला अन्तिम अवस्थामा । उहाँको भएको सन्तानमा म एक्लै त थिएँ नि । म ‘पराइघर’ परदेशममा भए पनि आमाको काजकिरीया गर्ने कर्तव्य मेरो थियो । तर, समय र परिस्थितिले साथ दिएन । यही कुराले सँधैं पिरोलिरहन्छ ।

मेरो बाध्यतामा मलम लगाउदै बहिनीहरू सम्झाइराख्थे, ‘माइजुले कुनै गुनासो गर्नु भएको छैन, दिदी । एकदम सन्तुष्ट हुनुहुन्छ । तपाईं कोरिया गएर माइजुको उपचार गर्न सकियो, नेपालमै भएको भए माइजुको उपचार गर्न नसकेर के हालत हुन्थ्यो ? त्यसैले दिदीले पटक्कै पछुतो नमान्नूस् । माइजुको सबै चाहना पूरा भयो । उहाँले आफ्नै हातले लाखबत्ती बाल्ने चाहना थियो, त्यो मात्र पूरा हुन सकेन, अब माइजुको वर्षदिनमा तपाईं नेपाल आएर पूरा गरिदिनुस् ।’

बहिनीहरू एकनास बोलिरहेका थिए, ‘पहिला जेजस्तो भए पनि माइजु बिरामी भएदेखि नै मामा आएर माइजुको खुट्टामा ढोगेर माफी माग्नुभयो । अस्पतालमा पनि आइराख्नुहुन्थ्यो । मामाले सिन्दुर र दागबत्ती दिएर माइजुको अन्तिम संस्कार गर्नुभयो । मामा भएकाले तपाईं नआए पनि केही फरक परेन । तपाईंलाई कसैले केही भन्ने मौका मामाले दिनुभएन । त्यागेको श्रीमतीलाई अन्तिममा भए पनि कर्म गरिदिएर मामाले पुण्य कमाउनुभयो । मलामी आउने सबैले मामाको प्रशंसा गरे ।’ बहिनीका कुराले मेरो मन धेरै हलुका भयो । आमाको अन्तिम संस्कारमा पुग्न नसकेकोमा त्यति पछुतो लागेन । सायद आमाले पनि बुबालाई मनदेखि नै माफी दिनुभयो होला ।

दस वर्ष भएछ, आमा छाडेर परदेशिएको पनि । त्यो अवधिमा आमा दुई पटक कोरिया आउनुभयो, म तीन पटक नेपाल गएँ । फोनमा कुरा भइराख्थे । तर, यसपटक ‘नभेट्ने’गरी उहाँ सदाका लागि छाडेर जानुभयो । मेरो मुखबाट ‘आमा’ शब्द अब निस्कने छैन । कसलाई आमा भनुँ ? कसलाई भेट्न मेरो जन्मभूमि नेपाल जाउँ ? कसका लागि ‘पार्टटाइम’)काम गरु“ ? आमाबाट टाढा भए पनि कुनै दिन भेटिन्छ भन्ने हुन्थ्यो । तर, अब त त्यो आशा पनि रहेन । आमाको याद आउ“दा फोन गरेर स्वरमात्र सुन्न पाउँदा पनि कति धेरै सन्तुष्टि मिल्थ्यो । अब त आमाको स्वरसमेत सुन्न पाउदिनँ । साँच्चै, आमालाई गुमाउनुको पीडा अहिले महसुस गर्दैछु । यो सबै ‘सपना भइदिए हुन्थ्यो’जस्तो लाग्छ ।

दिनमा बहलिए पनि रात पर्दै गएपछि मन अतालिन थाल्छ । छटपटिमै रात बित्छ । सास थुनिएझैं लाग्छ । मध्यरात उठेर कौशीमा जान्छु अनि क्षितिजमा चिहाउँछु । चिसो सिरेटोको झोंकाआमाले स्पर्श गरेझैं लाग्छ । अनि, कताकता ‘नानी’ भनेर बोलाएको आवाज कानमा ठोकिन्छ । झसंग हुन्छु ।

सायद, आमा मेरै वरिपरि होलिन् । सम्झाइरहेकी होलिन् । मैंले पो आमालाई देख्न–सुन्न सक्दिनँ । यताउति हेर्छु, सुनसान बस्ती, अन्धकार रात छन् । आकाशतिर हेर्छु, ताराहरू चम्किरहेका छन् । तीमध्ये एउटा तारा ‘आमा होलिन्’ सम्झिँदै एकटक हेरिरहन्छु । धर्तीमा विस्तारै उज्यालो किरण खस्दै जान्छ, आकाशमा ताराहरू हराउँदै जान्छन् । तीनै तारासँग मेरी आमा पनि बिलाउदै जान्छिन् अनि स्मृति बनेर मनमा आइरहन्छिन्, हर क्षण ।

विचरी आमा । ७४ वर्षको उमेरसम्म खुसी, सुख, शान्ति र सन्तोषको सास फेर्न पाउनुभएन । जन्मिँदै अविभावक गुमाउनुभयो । ‘टुहुरीलाई कसले माया गर्छ र ?’ बेवारिसे आमा अर्काको घरमा दुःखकष्ट सहदै हुर्किनुभयो ।

‘छोरी मान्छे पढ्यो भने बोक्सी हुन्छ’ भन्ने त्यो बेलाको समाजमा जन्मिएकी आमाको बाल्यकाल घाँसदाउरा, मेलापात र गोठालो गर्दै बित्यो । विवाहपछि पनि श्रीमान्को मायाबाट बञ्चित हुनुभयो । विवाहको केही वर्षमै श्रीमान् घरपरिवार त्यागेर परदेशिए । नाबालक छोरी र वृद्धा सासुको स्याहारसुसार गर्दै जवानी, रहर र खुसीलाई तिलाञ्जली दिएर समाजको अगाडि इज्जत जोगाएर शिर ठाडो पारेर बाँचिरहनुभयो । सारा जिन्दगी दुःखकष्ट र अभावमा बिताएकी आमाले बुढेसकालमा भएको एउटै सन्तानको सहारा पाउन नसक्दा कति पीडा हुन्थ्यो होला । भाग्यको खेल पनि कस्तो कस्तो ? उमेर भइञ्जेल पनि रोगले छाडेन, बुढेसकालमा क्यान्सरले च्याप्यो । मर्ने बेला पनि आरामले मर्न सक्नुभएन ।

‘उहिले खान पाइएन, अहिले खान मिलेन । उमेर हुँदै र निरोगी हुँदै खान मन लागेको खाइराख्नू, गर्न मन लागेको गरिराख्नू, घुम्न मन लागेको ठाउँ घुमिराख्नू,’ आमा भन्ने गर्थिन्, ‘म कति पापिनी रहेछु, यति दुःखकष्ट भोगेर पनि सास जान सकेन । मैले कुन जन्ममा के पाप गरेको थिएँ ? मलाई किन यति लामो सजाय दिनुहुन्छ भगवान † कि मेरो सास चट्ट छिनाइदेउ कि जाती गराइदेउ ।’

उहाँको पीडा महसुस गर्न सक्थ्यौं तर बाँड्न सक्दैन थियौं । सन्तान घरभरी हुने, धनसम्पक्ति प्रशस्त हुनेखानेलाई केही रोगले भेट्दैन, जसको बिरामी हुँदा पानी खुवाउने मान्छेसम्म हुन्न, उसैलाई अनेक रोगले भेट्नुपर्ने ।

आमाको दर्दनाक स्थिति देखेर मनमनै ईश्वरलाई गाली गर्दै भन्थें, ‘हे ईश्वर, मेरी आमाले कुन जन्ममा के पाप गरेकी थिइन् ? यो जन्ममा यत्रो सजाए दिँदै छौं । कि त आमालाई रोगबाट मुक्ति देऊ कि त जिन्दगीबाटै मुक्ति देऊ ।’

सोचेको पनि थिइनँ, डाँडामाथिको जून भइसकेकी आमालाई एक्लै छाडेर ‘यति टाढा आइन्छ’ भनेर । एसएलसी दिएपछि गाउँमा आमालाई एक्लै छाडेर काठमाडौं सहर पसें । फेरि सहरमा आमालाई एक्लै छाडेर परदेशिएँ । आमाले दुःखकष्ट भोगेर हुर्काउनुभयो । आफ्नो खुट्टामा उभिने बनाउनुभयो ।

पखेटा पलाइसके पनि आफ्नै जन्म दिने आमा, जन्मभूमि सबै त्यागेर क्षितिजपारि बिलाउन पुगें । कोरोनाले गर्दा आमाको अन्तिम अवस्थामा पनि नेपाल जान सकिन“ । बोल्न सक्ने भइञ्जेल ‘कोरोना’ कारण देखाएर आमाको मन बुझाइरहन्थें । आमा मन बुझाउ“दै भन्थिन्, ‘आउनु पर्दैन, मेरो चिन्ता नगर । मलाई हेर्ने आफन्तहरू छन् । सबैलाई दुःख दिएँ, मरिजान पाए हुन्थ्यो नि भनेजस्तो नहुने र’छ ।’

९ वर्ष सासुको स्याहारसुसार गर्दै बित्यो । सासुकै कारण आमालाई कोरियामा राख्न सकिनँ । ‘आमालाई यतै ल्याएर राखौंला’ भन्ने सोच थियो । तर, सासु बितेको एक वर्षमै आमाले पनि संसार छाडेर जानुभयो । आमालाई पैसा त दिन सकें तर साथ, खुसी र सन्तुष्टि दिन सकिनँ ।

वास्तवमा आफ्नो खुट्टामा उभिनसक्ने भएपछि आमाको मन धेरै दुखाएकी छु । ‘अनपढ हुनुहुन्छ, केही जान्नुहुन्न, बुझ्नुहुन्न’ भनेर आमाप्रति जाग्ने गरेको ‘घृणा वा लाज’, उहा“सँग झर्किने गरेको ती पल, जब म आमा बनें, त्यसपछि मात्र महसुस भयो । अहिले पछुतो लाग्छ तर प्रायश्चित गर्ने मौका गुमिसक्यो । अतीत सम्झेर दुःखी हुनु र पश्चातापको ज्वा“लामा जल्नुबाहेक विकल्प छैन । ईश्वरसँग एउटै प्रार्थना गर्छु, ‘आमाको आत्माले शान्ति मिलोस् ।’

(हाल, दक्षिण कोरियामा रहेकी लेखक नेपाल रहँदा मूलधारको पत्रकारितामा संलग्न थिइन्)

 

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

भलायखर्कमा छिपुकामाई मन्दिरको निर्माण
असफल दल निरंकुशतालाई मलजल
घर जानेको लर्को उत्तिकै
साउन ४ देखि फेरि भारी वर्षा, उच्च सावधानी अपनाउन अनुरोध
डर्टमन्डले प्रशिक्षण थाल्यो
होम आइसोलेशनमै बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी