संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो । हत्या भएको पाँचांै दिन पक्राउ परेका हत्यारा भनिएका लोकबहादुर नातामा तेजबहादुरकै भतिजा थिए । उनी एक्लैले ६÷६ जनाको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

तर, अहिले सो घटनामा उनी मात्र नभई थप चार जनाको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले अन्य अभियुक्तसमेतलाई सार्वजनिक गरेको छ । प्रहरीले ६÷६ जनाको नृशंस हत्याका मुख्य योजनाकार लोकबहादुर नभई अर्कै व्यक्ति भएको र अघिल्लो दिन भएको योजना मुताबिक हत्या भएको खुलासा पनि गरेको छ ।

साथै, हत्या गर्नुको अर्काे कारण उनको घरमा भएको नगद र अन्य सम्पत्ति भएको पनि बयान दिएका छन् । यद्यपि, हत्यापछि तेजबहादुरको घरको सम्पत्ति भने लुटिएको थिएन ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार घटनाको मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्की हुन् । ४७ वर्षीय खड्गबहादुरसहित उनका २८ वर्षीय छोरा हस्तबहादुर, लोकबहादुरका बाबु ४९ वर्षीय रणबहादुर र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सोमबार हत्या अभियुक्त भनेर सार्वजनिक गरेको हो ।

ती सबै जनाले तेजबहादुरको हत्या गर्नुपर्ने मुख्य कारण नै उनको हेपाहा प्रवृत्ति भएको बयान दिएका छन् ।

प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त खड्गबहादुरलाई तेजबहादुरले जड्याहा भनेर गाली गर्थे । उनीहरूबीच बेलाबेलामा झगडासमेत पर्ने गरेको थियो । त्यसो त खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्थे । उनी मदिरा पिएको बेला घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट र गालीगलौजसमेत गर्थे । उनको यो व्यवहार देखेर तेजबहादुर सम्झाउँथे । ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली पनि गर्थे । जवाफमा खड्गबहादुर भने तेजबहादुरलाई ‘तँलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गर्थे ।

लोकबहादुरलाई भने तेजबहादुरले ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे । लोकबहादुरका भाइ नरेशलाई उनी ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गर्थे । यस्तै, लोकबहादुरका बाबु रणबहादुरलाई ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गर्थे ।

तेजबहादुरको यो भनाइ उनीहरू सबैको मनमा गढेको थियो । आफूहरूलाई होच्याएर बोल्ने, हेप्ने गरेकोमा उनीहरू भित्रभित्रै मुर्मुरिएका थिए । त्यसैले उनीहरू सबैको मनमा हेपाइको बदला लिने सोच पलाएको थियो । अर्काे कुरा, अन्यको तुलनामा तेजबहादुरको आर्थिक स्थिति धेरै राम्रो थियो । गाउँमा रामै्र खान पुग्ने जग्गा जमिन थियो । झापामा ८० लाख रुपैयाँभन्दा बढीमा जग्गा किन्ने तयारी गरिरहेका थिए । दुवै छोरा वैदेशिक रोजगारीमा थिए । यसले उनमा घमण्डको मात चढेको अन्यको बुझाइ थियो ।

यसरी बन्यो योजना
प्रहरीले हत्या योजना लोकबहादुरको घरमा अघिल्लो रात ८ बजे नै बनाएको अनुसन्धानबाट खुलेको जनाएको छ । त्यस रात मुख्य योजनाकार खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश बसेर योजना बनाएको खुलेको प्रहरीको भनाइ छ ।

हत्या भएको दिन अर्थात् २१ भदौमा मृतक तेजबहादुरको पिप्लेस्थित खेतमा उनीहरूलाई खेतालाका रूपमा बोलाइएको थियो । उनीहरू सबै जनाले खेताला जाने भनेर वचन तेजबहादुरलाई दिएका पनि थिए ।

सोही दिनलाई उनीहरूले ‘बदला’ लिने मौकाका रूपमा लिए । २० गते राति उनीहरूबीच भएको छलफलअनुसार, २१ गते बिहान मृतक तेजबहादुर खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजबहादुर र उनकी श्रीमती कमलाको हत्या गर्ने योजना बन्यो । यति मात्र होइन, अन्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बन्यो । त्यसपछि अनुकूल मिलेको खण्डमा तेजबहादुरको घरमा भएको धनमालसमेत लुट्ने योजना बन्यो ।

योजनाअनुसार मृतक तेजबहादुर बिहान आउने निश्चित गर्न मुख्य अभियुक्त भनिएका खड्गबहादुर बिहान ५ बजे नै उनको घर पुगे । त्यसपछि उनले ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू’ भनी तेजबहादुरलाई लोकबहादुरको घरतर्फ पठाए ।

त्यसपछि खड्गबहादुर घरतर्फ फर्के । उता, तेजबहादुर नातामा भतिजा पर्ने लोकबहादुरको घरतर्फ जाँदै गरेको देखेपछि उनी र उनका छोरा हस्तबहादुर लोकबहादुरकै घरतर्फ हान्निए । त्यसपछि यी बाबुछोरा लोकबहादुरको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसे ।

तेजबहादुर घर पुग्दा लोकबहादुर भने सुतिरहेका थिए । उनैले ‘अल्छी, अझैसम्म उठेको छैनस्’ भन्दै उठाए । त्यसपछि खेताला आउने निश्चित गर्दै उनी फर्किए ।

तर, पूर्वयोजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकी पछिपछि गई घरपछाडिको गोगनेको रूखनजिक तेजबहादुरको टाउकोमा प्रहार गरी लडाए । त्यहीँ खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिएर आई तेजबहादुरमाथि प्रहार गरे । हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरे । त्यसपछि डिलबाट लडाए । डिलबाट झारेपछि अन्धाधुन्द आक्रमण गरे । त्यहीँ उनको मृत्यु भयो । त्यसपछि तेजबहादुरको शवलाई घोप्टो पारियो ।

आफूमाथि आक्रमण भएपछि मृतक तेजबहादुरले ‘लोकेले मा¥यो, मलाई नमार्नू भन्दै हारगुहार गरेका थिए । त्यो सुनेपछि ‘मेरो श्रीमानलाई नमार्नू भन्दै तेजबहादुरकी श्रीमती र बुहारी गए । त्यसपछि पूर्वयोजनाबमोजिम नै लोकबहादुरले कमला कार्कीमाथि प्रहार गरे । कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरे । बुहारी रञ्जनालाई लोकबहादुरका भाइ नरेशले धकेलेर खोल्सामा झारे । त्यसपछि अन्धाधुन्द प्रहार गरे । उनको मृत्यु भएपछि रणबहादुर र नरेशसमेतले कमलाको लास भएको ठाउँमा रञ्जनको लास ल्याए ।

उनीहरूको हत्या गरिसकेपछि आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । यी दुई जनाको मृत्यु नाकमुख बन्द गरेर भएको पोस्टमार्टम रिपोर्टले देखाएको थियो । उनीहरूमाथि चिर्पट पनि प्रहार भएको थियो । त्यसपछि ८४ वर्षीय वृद्धा पार्वतीको घरभित्रै हत्या भएको थियो । ती वृद्धाको हत्या भित्तामा टाउको ठोक्काएर गरिएको थियो । उनी घरमा कुँडो पकाइरहेकी थिइन् ।

६÷६ जनाको हत्याको जिम्मेवारी किन लोकबहादुरले मात्रै लिए त ? यो जिज्ञासा पनि आउन सक्छ । प्रहरीका अनुसार कदंकदाचित प्रहरीले हत्या अभियुक्त पहिचान गरेको खण्डमा सुरुमा जसलाई समाउँछ उसैले मात्रै लिने उनीहरूबीच पूर्वसहमति बनेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यति मात्र होइन, सकेसम्म लोकबहादुरलाई नै उभ्याउने उनीहरूबीच सहमति भएको पनि प्रहरीले जनाएको छ । लोकबहादुरले डिप्रेसनको औषधि खाइरहेको र मानसिक रोगका कारण उसैले जिम्मा लिने, धेरै कारबाही पनि नहुने भन्दै एक्लै हत्या जिम्मा लिन उनले मानेको पनि खुलेको छ ।

अर्काे कुरा घटनाका ’boutमा अन्य कसैले केही नभन्ने पनि सहमति भएको पाइएको छ ।

यसरी समातिए अन्य अभियुक्त
६÷६ जनाको हत्या एक्लो व्यक्तिबाट हुन नसक्ने आशंका अनुसन्धानमा संलग्न प्रहरीहरूलाई नभएको होइन । तर, वास्तविक प्रमाण फेला परेको थिएन । त्यसो त लोकबहादुर एक्लैले आफूले उनीहरू सबैको हत्या गरेको बयान दिइरहेका थिए । तर, पनि प्रहरीले सूक्ष्म ढंगले घटनाको अनुसन्धान गरिरहेको थियो । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा १० जनाको टोलीले घटनास्थल छाडेको थिएन ।

प्रहरीले घटनास्थल नछाड्नुको कारण हो, पोस्टमार्टम रिपोर्टका दुई तथ्य र रञ्जनाले बोक्दै आएको मोबाइल नभेटिनु । अघिल्लो दिनसम्म चलिरहेको मोबाइल घटनापछि स्विच अफ भएको थियो । सो मोबाइल भेटिए हत्याको अरू कारण खुल्ने प्रहरीको निष्कर्ष थियो ।

अनुसन्धानरत प्रहरीलाई घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्नेतर्फ डो¥याउने काम रञ्जना र कमलाको पोस्टमार्टम रिपोर्टले गरेको थियो । पोस्टमार्टम रिपोर्टमा मृतक रञ्जना र उनकी सासु कमलामाथि धारिलो हतियार प्रयोग भएको उल्लेख थियो । तर, सुरुमा पक्राउ परेका लोकबहादुरले दाउराको चिर्पट मात्रै हानेर सबैको हत्या गरेको बयान दिएका थिए । लोकबहादुरको बयान र पोस्टमार्टम रिपोर्ट फरकफरक आएकाले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रमाणका रूपमा प्रहरीले त्यो धारिलो हतियारको पनि खोजी गरिरहेको थियो ।

तर, यहीबीच घटनाको दिनदेखि हराइरहेको रञ्जनाको मोबाइल २९ भदौमा अन भएपछि प्रहरीले नयाँ खुराक पायो । सो फोन लोकबहादुरका भाइ नरेशको साथबाट फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ अगाडि बढायो । सुरुमा त नरेशले सो मोबाइल घरमै भेटाएर चलाएको बयान दिएका थिए । तर, प्रहरीलाई उनले लामो समयसम्म ढाँटिराख्न सकेनन् । त्यसो त प्रहरीले मोबाइल चलाउने नरेशलाई मात्रै होइन, लोकबहादुरलाई पनि थप केरकार गरिरहेको थियो । थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा आफूसहित पाँच जनाको संलग्नता रहेको बयान दिएपछि अन्य सबैलाई पक्राउ गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी