काठमाडौं । गृहसचिव महेश्वर न्यौपानले बुधबारदेखि कार्यप्रारम्भ गरेका छन् । उनले बुधबार बिहान गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै काम थालेका हुन् ।
न्यौपानेको गत सोमबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा भएको थियो । बुधबार पदभार ग्रहणलगत्तै मातहतका कर्मचारी र प्रहरीलाई निर्देशन दिँदै गृहसचिव न्यौपानेले आफू भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिनुसार अघि बढ्ने र कुनै पनि प्रकारको भ्रष्टाचारसँगै कहिल्यै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव न्यौपानेले जिम्मेवारी बहन नगर्ने र भ्रष्टाचार गर्नेहरू दण्डित हुने चेतावनी दिए । उनले आफ्नो प्रमुख कार्य सुशासन कायम गर्नेमा नै केन्द्रित हुने र गृहअन्तर्गत रहेका कर्मचारी र सुरक्षाकर्मी गरी झन्डै २ लाख जनशक्तिको अधिकतम प्रयोग गरी गृहप्रशासनलाई सफल बनाउने दृढता व्यक्त गरे ।
गृहसचिव न्यौपानेले ऐन नियमको सशक्त कार्यान्वयन गरेर कानुनी राजको स्थापना गर्ने दिशामा सबैजना दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । न्यौपानेले आफू टिमवर्कमा विश्वास गर्ने भएकाले सोहीनुसार काम गर्ने र टिममा रहेका सबैबाट उल्लेख्य सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
उनले पूर्वगृहसचिवले थालेका कामलाई सफल बनाउने प्रतिबद्धतासमेत जनाए । हालै मात्रै सेवानिवृत्त भएका निवर्तमान गृहसचिव प्रेमकुमार राईले पद हस्तान्तरण तथा बरबुझारथ प्रतिवेदन तयार पारेर हालका सचिवलाई उपलब्ध गराएका छन् । सो प्रतिवेदनमा गृह मन्त्रालयले गर्नुपर्ने भावी कार्यसमेत समेटिएका छन् । सचिव न्यौपानेले पूर्वगृहसचिवले तयार पारेको सो प्रतिवेदनमा समेटिएका भावी कार्ययोजनाअनुसार आफूहरू अघि बढ्ने बताए ।
यस्ता छन् प्रमुख चुनौती
प्रशासनमा रहेको परम्परागत र अन्तरनिहीत कमजोरी
सुरक्षा चिन्ता र चासोलाई विकासका आयममा मूल प्रवाहीकरण गर्न नसक्नु
कानुनको कार्यान्वयन नहुँदा सुरक्षा जोखिम बढ्दो
सुरक्षा निकायको कमजोर क्षमता
आर्थिक स्रोतसाधनको कमी
सीमापार अपराधका घटना
भूमण्डलीकरण र सूचना प्रविधिको दुरुपयोग