हेर्दाहेर्दै नुहाउन थाल्यौ तिमी । नुहाउनु आफैंमा रोमाञ्चक काम हो । नुहाएको हेर्नु अरु कौतूहलकारी । प्राणको खोज हो स्नान । प्रतिष्ठाको अभियान हो स्नान । परिवर्तनको प्रतिध्वनि हो स्नान । धरती स्नानमा धम्मरधुस गर्दा पिर्पिराउँदा रहेछन्, सर्वत्र सिर्जनाका सुइराहरू ।
हरेक बिहान मिर्मिरेमा अलिअलि वर्षन्थ्यौ । घामसँग आँखा जुधेपछि थामिन्थ्यौ । लगातार छैटौं दिनसम्म तिमीले नुहाउन छोडेकी छैनौं । रात होस् वा दिन झम्झम्, स्याँस्याँ, सुईंईं समुद्री स्वरलहरी च्यापेर नुहाइरहिछ्यौ, तिमी । म तिम्रो नुहाई ओल्टाइकोल्टाई नजिकबाट चियाइरहेछु ।
ऊर्जाको उपज हो, वर्षा । अनुभूतिको उत्पादन हो, वर्षा । रूप र रंगका मिहिन चित्रहरूमाथि अमूर्त कोलाज बनाउँछ, वर्षा । आँसु वर्षनु वा हर्षाश्रु झर्नु दुवै परिवर्तनका पराकाष्ठा हुन् । मुटुमा फैलिएका बादल र वसन्तका सजीव बाडुलीहरू हुन् । तिमी परिवर्तनका लागि वर्षिरहिछ्यौ र बजाइरहिछ्यौ बलशाली वीणाहरू । वर्षा अवतीर्ण छ नीला रेशाहरूमा । वर्षाले प्रच्छन्न छन्, मानव रजगज ।
तिम्रो अंगअंगमा वर्षिरहेथ्यो, पानी । पानीभन्दा बढी वर्षियो ठण्डी । त्योभन्दा अझ धेरै वर्षिरहेछ जीव र वनस्पतीको कुँजोपन । तिमीले घुम्लुङ कुहिरो ओडिरहिथ्यौ । सक्कली ढाकाको बर्को स-याक सुरुक गरेझैं कुहिरोले कहिले यताको र कहिले उताको अंग छोप्दैथ्यो । कुहिरोले छोपेको मौका पारेर मजाले नुहाउँदिरहिछ्यौ तिमी । तिमी उदांग भएर नुहाएको हेर्न चाहिरहेथें मैले । तिमीले भने छोपिँदै, नुहाउँदै मतिर नजर घुमाइरह्यौ । तिमी त नुहाउँदा यतिविधि लाज मान्नेरहिछ्यौ भने दिदीबहिनीले किन कलेजी अनुहार नबनाउँन् बरा ! आखिर लजाउने सिको त तिमीबाटै सिके होलान्, मान्छेहरूले ।
नुहाउँदानुहाउँदै तिम्रो कुहिरे बर्को बिलायो । म हुत्तिएर कोठाबाट बाहिर निस्कें । वाह ! हुम्ला तिमी त अर्कै भइसकेकी रहिछ्यौ । सेताम्य भैसकेछ, तिम्रो कलेवर । सिमकोट मास्तिरको डाँडा होस् वा पञ्चमुखी हिमाल तलतिरको कछाड वा स्याँडा गाउँको शिर होस् वा कर्णालीको काँध र किनार, जतासुकै हिउँ, जतासुकै कपासको तंगिन । अस्तिसम्म मर्निङवाकमा जाने गरेको हुमाने खोलाबाट बगिरहेछन्, नौनी धाराहरू । डाँडाहरूमा बाक्लो लेप लागेको छ, नौनीको । हिल्दूम र बुराँउसेका काँधदेखि कम्मरसम्म पूरै नौनी भण्डारले भरिइरहेछन् । पूर्व उत्तरको रल्लिङ त झन् चाँदीकै चुलीबाहेक केही देखिँदैन । दीपेन्द्रजी र मैले भूइँमा जमेका हिउँडल्ला बार्दलीमा सजायौं र जस्ते छानामा लहरा बनेर झुण्डिरहेका हिउँ धारामा मन रंगीन पा-यौं ।
पुराना बासिन्दाहरूले भने, ‘हुम्लामा यतिछिट्टै यतिधेरै हिउँ परेको थाहा थिएन ।’ कात्तिकदेखि मात्र पाइतालासम्म हिउँमा डुब्थ्यौ रे तिमी ! यसपाली राम्रै ग-यौ, म भेट्न आएको बेला तिमीले वास्तविक स्वरुप देखायौ । पत्रपत्रका खात लागेका छन्, हिउँका । भावक मन उच्छल बनेर फैलिरहेछ, कुहिरोका कणहरूमा । हिउँबाहेक केही नदेखिँदा बदलिएझैं लाग्दैछ, संसारको परिभाषा । हिउँको अथाह भण्डार हुँदाहुँदै किन हिउँका कण कणलाई कमाइमा रूपान्तरण गर्न सकेनौं हामीले ? एउटा प्रश्न पहाड बनेर उभियो मेरासामु ।
हुम्लाको जत्तिकै हिउँ छ, रसियाको मस्कोमा । हिउँको ठूलो दरबार बनाइएको छ, गार्बुस्कामा । ठूलाठूला ढोका र झ्यालहरू छन् । आकर्षक कोठाहरू छन् । झाड फानुसभन्दा सयौं गुना आकर्षक ढंगमा चम्किरहेछन्, आकर्षक दीपहरू । नीला, राता र पहेंला बत्तीहरूले मोतीभन्दा चम्किरहेछ दरबारका खण्डखण्ड । ढोकामा सिपाहीहरू पहरा दिइरहेछन् । दरबारका चोकचोकमा धूपीहरू चम्किरहेछन् । भालुका बथान हिँड्न खोज्दैछन्, हिमसंसारमा । त्यो सबै बनाइएका रहेछन्, हिउँबाट ।
हिमकलाको त्यो उच्छट्ट सुन्दर दृश्य हेर्ने जमातमा मैले पनि उभिने मौका पाएको थिएँ, एकपटक । त्यो चिशोको उच्छलनमा भोड्काको ताप समेट्दै नाच्नेहरूको भीड थियो, त्यहाँ । हाम्रा हिमालमा पनि त्यस्ता ‘हिमकला’ सजाउन सके के छुन्थ्यो होला र ? हामीलाई दरिद्रताले । यी हिमालमा हिउँकै मूर्ति, हिउँकै होटल बनाउन सके पैसाको खनरो नलाग्ने कुनै थिएन । हुम्लामा पनि हिमकलाका संग्रहालय सजाउन सके अलि सार्थक रूपमा खुल्थ्यो कि त्यतातिरको जीवन सौन्दर्य । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन गराउन सक्ने हो भने ह्वात्तै अरु बढ्थ्यो, हाम्रो हिममहकता ।
भेडाहरू कुहिरोजस्तै कुलुङमुलुङ फैलिन्छन्, पहाडजस्तै सिधा र साहसी हुन्छन्, जमातभन्दा बाहिरी संसार उनीहरूका लागि पाच्य छैन । विचराहरू नून बोक्छन्, चामल बोक्छन् । कहिले हिल्सातिर हुत्तिन्छन्, कहिले मुगु र कालिकोटतिर हानिन्छन्, हुम्लाभित्रकै गाउँहरूमा त कति हो कति ? यो सुधो र साहसी प्राणी पनि नभेटेका भए अझ कति कष्टकर बन्थ्यो होला, त्यताको जीवन । जिन्दगीमा कसैलाई पनि सुख छैन
हिउँ खनिइरहेछ, झरीको लहरा छुटिरहेछ । पाउँबाडा, लादेबाडा, सिमकोट, तल्लोगाउँ, हिल्दूम, बुराउँसे सबै गाउँले धूवाँ ओकलिरहेछन् । बेलाबेला कुहिरोले सबै कुरा पूरै ढाक्छ र केही देखि“दैन । एकै क्षणमा कुहिरो फाट्छ । लहरहरूमा सेताम्य समुद्र लडिबुडी खेलेजस्तो लाग्छ । धूपीका कापकापमा हिउँको आलिंगन छ, फापरबारीमा हिउँ र फापरको फूलले गुलाबी सारीको सप्को लथालिंग भएझैं भइरहेछ । शत्रुले बेस्मारी भकुरेपछि लखतरान हुँदै बल्लतल्ल उभिएको सिपाहीजस्तो बनिरहेछन्, चिनो र कागुनुका पाटाहरू । सूर्य नै नदेखेपछि मोहनी हराएकी प्रेमिका बनेकी छे, सूर्यमुखी । हिउँले उच्छन्न पार्न खोज्दैछ, सूर्यमुखी र स्याउको रंग । कच्याककुचुक पार्न खोज्दैछ, हिउँले पातको अस्तित्व । एउटा महामारी फैलिएको छ, पातहरूलाई र रुखहरूलाई । कोणधारी पातहरूले चुमिरहेछन्, हिउँलाई देवदारका पोथ्राहरूले । अस्तिअस्ति कल्याङकुलुङ गर्ने चराका जमात रातारात श्रीनगर वा कालिका गाउँका समथरतिर बसाईं सरे कि ? कसैको केही चहल पहल छैन । घोर्ले कागहरू भने भोटेकुकुर भुकेझैं हिउँ प्रलयसँग धावा बोल्दै बस्तीबस्ती चाहारिरहेछन् ।
हिमधूनको मूच्र्छना सुन्ने जीव, जन्तु र मान्छेको चहलपहल लेदो बनिरहेछ वस्ती वस्तीमा । अघिल्लो दिन सिमकोट बजार कुनाकानी नजर छरेथे“ । सुनसान थियो, सिमकोट बजार । आकासबाट हिउँ समुद्र झरिरहेथ्यो । जमिनमा जतासुकै खहरे लडीबुडी गरिरहेथ्यो । पानीको गाढले खुट्टा टेक्ने ठाउँ कतै थिएन । बाटामा मान्छेको उपस्थिति शून्यप्रायः थियो । हि“डिरहेका केही मान्छे बिजुली पानीको ऊर्जाले ‘आन्द्रा लागे छुत्ति खेल्न तिघ्रा लागे काम्न, सक्दिनँ महाराज यो ओहदा थाम्न’ भनेझैं लडखडाइरहेथे । बसन्त चोक ओरालोबाट एयरपोर्टतिर ओर्लंदै थिएँ । एक दाइले गाउँ नै थर्काउनेगरी झ्यालबाट चिच्याए, ‘ए सार क्यान चिसोमा हिँडेको आ बारु आराक खाएर जा ।’ दाइलाई नशाले सुरो बनाएको थियो । तैपनि मप्रति उनले सुकिलो स्नेह फिजाएका थिए ।
माटे एयरपोर्टमा खोलो पसेछ । खोलोले खोल्सी खन्दै खोंच बनाइसकेछ, दिनभरमा । झरी छिचोल्ने आँट नगरेर नेपालगन्जबाट प्लेन नआएको ६ दिन भइसक्यो । एयरपोर्टमै भल पसेर चिराचिरा पारेपछि त्यसलाई पुरपार गर्न अझ कति दिन लाग्ने हो ? त्योभन्दा पनि तिमीले नुहाइसक्ने पो कहिले हो, हुम्ला † तिमीले नुहाइ नसकि यहाँ कसैले केही सुरु गर्नेवाला छैन ।
हुम्ला अस्पतालबाट फर्केका एक शिक्षक भेटेथें अस्ति । पेट दुखेर अजारबजार गर्दैथे बिचरा † हुम्ला अस्पतालका हेल्थ असिस्टेन्टले उनको पेटमा पत्थर जमेको आशंका गरे तर अस्पतालमा एक्सरे मेसिन नभएकाले यकिन गर्न सकेनन् । तुरुन्त नेपालगन्ज जाने सल्लाह त दिए स्वास्थ्यकर्मीले तर, उता जाने साधन छैन ।
एक्कासी ठूलै व्यथा शरीरमा पस्यो भने त भगवान भरोसा भन्नुबाहेक केही उपाय रहेनछ, हुम्ला तिमीमा । हुम्ली साथी हिजो भन्दैथे, ‘गत वर्ष नेपालगन्ज घर भएका एक सहलेखापालको ठण्डी लागेर हुम्लामै निधन भयो । कयौं दिन हेलिकोप्टर, प्लेन केही आवतजावत भएन । नेपालगन्जका उनका आफन्त हुम्ला पुग्न नसक्ने, लाश नेपालगन्ज लान नसकिने । एक्काइस दिन कुर्दा पनि वायुयान हुम्लामा पदार्पण गर्न नसकेपछि कर्मचारी साथीहरूले हुम्लामै सद्गत गरिदिए उनको । आफन्त बियोगको खबर पाउँदा कयौं दिन प्लेनको पखेंटा नदेखेर कोकोहालो हाल्नेहरू पनि धेरै भेटिए ।’
दसैंनजिक आइसकेको छ । सिमकोट एयरपोर्ट चिराचिरा भएर खहरे सुसाइरहेछ । झरी थामिने कहिले ? एयरपोर्ट मर्मत सम्भार हुने कहिले ? ‘लौ अब यसपालीको दसैं पनि तिमीसँगै मानिने भयो कि कसो !’
मनमा एउटा उद्वेग उचालियो । एयरपोर्टछेउ उभिएर हेरें– पश्चिम भागमा पूरै सेतो चलमल गरिरहेछ कुहिरो लेपसिएझैं । त्यो त भेडा च्याङग्राको बथान रहेछ । हिउँका गुजुल्टा झरिरहेछन् तर भेडाहरू एयरपोर्टमा घाँस चिमोट्दैछन् । तिनीहरूलाई हिउँले चिमोटेको छैन, झरीले चिस्याएको छैन, जाडोले जिरिंग पारेको छैन । भेडाहरू कुहिरोजस्तै कुलुङमुलुङ फैलिन्छन्, पहाडजस्तै सिधा र साहसी हुन्छन्, जमातभन्दा बाहिरी संसार उनीहरूका लागि पाच्य छैन । विचराहरू नून बोक्छन्, चामल बोक्छन् । कहिले हिल्सातिर हुत्तिन्छन्, कहिले मुगु र कालिकोटतिर हानिन्छन्, हुम्लाभित्रकै गाउँहरूमा त कति हो कति ? यो सुधो र साहसी प्राणी पनि नभेटेका भए अझ कति कष्टकर बन्थ्यो होला, त्यताको जीवन ।
जिन्दगीमा कसैलाई पनि सुख छैन । पिठ्यौमा दुईतिर पुटुक्क पोको बोकेर उकालोओरालो गर्दा गर्दै काटिन्छन् । प्लेटप्लेटमा बाँडिन्छन् । दाँत र पेटलाई साम्य पार्दछन् । तैपनि जिन्दगी पाउँन जत्तिको खुसी केही छैन, जीवनमा । दुःख नभए कसरी मिल्थ्यो र सुखको अनुभूति ? दुःखबाहेक जिन्दगीमा अरु सुख छैन । बुरुकबुरुक उफ्र“दै, भ्याँभ्याँ र भुँभुँ गर्दै, जुध्दै, थाकलका काँडाहरू र घँघारुका मुनाहरू चिमोट्दै खुसी साटिरहेका भेडाहरूले दुःखै दुःखमाझ अलिकति खुसीको टुक्रा च्यापिरहेझैं लाग्छ ।
एयरपोर्टको पूर्वी कुनामा झुमा र झुपाहरू चरिरहेछन् । हिमालभरी हिउँले ढाकेकाले ५–६ महिनाअघिदेखि हिमालका खर्क र पाटनका चरनहरूमा चराउन छोडिएका झोपा, झुमा, घोडा, खच्चर र गधाहरूलाई गाउँलेले घर–बस्तीतिर ल्याएकाले एक्कासी सिमकोट बस्तुभाउमय बनिरहेछ । वस्तुभाउको सिलिङ मिलिङ छ, ड्वाँड्वाँ र डुँडुँ छ । डाँडाकाँडा, पाटा, खोल्सा, उकालोओरालो जतासुकै वस्तुभाउ सल्बलाइरहेछन् । हिउँमा भिज्दै हिउँमाथि चल्मलाउने बस्तुभाउ हिउँलाई जित्दै जवानी प्रस्तुत गरिरेरहेछन् । ‘चिसो तातो त बहाना मात्र हो अवरोध होइन,’ यही बुझि“दैछ बस्तुभाउका बुरुकबुरुकबाट ।
घरिघरि कमिलाको ताँतीमा असरल्ल लडिरहेका फट्याङ्ग्रा बनेका छन्, सिमकोटे घरहरू । मोटा र काला कुकुरहरू चौरभरी दौडादौड गरिरहेछन् । अविरल झरी उनीहरूका लागि परवाहको विषय होइन । गोठालाहरू पोलिथिन सिटले टाउको जोगाउँदै लडालड गर्दैछन्, घुस्सरपञ्जा गर्दैछन् । उनीहरूको अनुहारमा असन्तोषका रेखाहरू छैनन्, अभावका चित्रहरू च्याति“दैछन् । थोरैमा धेरै महसुस गर्नु जिन्दगीको अर्को मजा देखिइरहेछ । मार्चपास गरिरहेका सिपाहीको जत्थाजस्तो कुहिरोमा लुकामारी खेल्दै साथीसाथीमा लडभीड गर्नु जिन्दगीको अरु आनन्द खुलिरहेछ । बिहान रोकायबाडाका पुसे रोकायासँग भेट भएथ्यो । हिउँले छियाछिया पारेको रहेछ, उनको अनुहार । अभावको कालो कुहिरोले ५० वर्षे उनको चाउरीको खोल्सा ढाकिरहेथ्यो ।
‘हम त मर्ने भो सा’ब, यसपालि गाउँगाउँमा धेरै मान्ठा गैजाने भया,’ पुसेले पातपतिंगरविहीन पुसे स्याउको बोटजस्तै अनुहारमा बोले, ‘यो झरीले चिनो, कागुनु, कोदो सबै जमिनमै सुते, फापर र मार्से इलिमिली भो अब कसरी बाँच्ने ? कहिन हुने त हिल्सा जालान् राशन ल्याउँदा हुन् नहुनेले क्या कर्नु ?’
अवसाद विषादको कालो बादलले बेसरी रिंग्याइरहेथ्यो, पुसेलाई । पुसेको कुरा सुन्दा केही दिनअगाडि नेपालगन्जमा भेटेका एक नेतालाई सम्झें । उनी भन्दै थिए, ‘हुम्लामा हिउँ र पानीले उच्छट्ट गर्छ । पानी परेपछि हुम्ली आफंै हिउँ बन्छन् र घाँस खान्छन् ।’ दिउँसो बुराउँसे निवासी नेपाली कांग्रेस जिल्ला सभापतिले पनि यसै भने ।
तिमीले नुहाउँदा अनाजहरू झर्दा रहेछन् । बालीनाली ढल्दा रहेछन् । बरु, हुर्कन, फक्रन र फुल्न थाल्दा रहेछन्, कटुकी, जटामसी, यार्सागुम्बा, बाजडी र अरु के के हो के के जडिबूटीहरू । तिनै जडिबूटी र बनस्पतिहरू पनि नभेटिने हो भने ‘कसरी प्राण धान्थे होलान् बिचरा हुम्लीहरूले ?’
साँझपख तिमीले नुहाइसकिछौ । जोसुकैले पनि नुहाइसक्नु आफैंंमा सौन्दर्यको प्रकाश प्रष्फुटित गर्नु हो । त्यसमा पनि तिमी मेरी प्रेमिका, मेरी पूजा र मेरी आराधना । मन परेकाले नुहाइदिनु आफ्नै मन सफा स्निग्ध र चञ्चल हुनु हो । तिमीले विस्तारै कुहिरे खास्टो तान्दैतान्दै लुकायौ । बादलु घुम्टो कच्याककुचुक पारेर कता हुत्यायौ कता ? र, भन्यौ, ‘चिन्यौ मलाई ?’
सपना हो कि विपना ? म आफैंंमा हर्षले बेहोस्, बनिरहेथें । अस्तिसम्म तिम्रा केही अंग काला थिए, केही अंग फुस्रा र खस्रा देखिन्थे, कतै झुकेकी थियौ, कतै फुकेकी थियौ, भएका अलिअलि चिमाल र धूपीका पोथ्राहरू पनि ठण्डी खप्न नसकेर बिरामी थिए । त्यसैमा पनि अत्यन्त लोभलाग्दी थियौ, तिमी । आज त मैले कुनै हालतमा तिम्रो सौन्दर्य बयान गर्न सक्दिन“ । नुहाईसकेर उभि“दा तिमी नौनीकी मूर्ति बनिछौ । हिउँकी रानी बनिछौ ।
फटिकको मूर्ति जसरी उभिएर काखैमा च्यापेकी छ्यौ मलाई । श्वेत सर्वांग श्वेत बस्त्रले ढाकेर घरिघरि श्वेत पवनको साथमा तिमीले शालीन श्वेतगीत गाउँदा फिकाफिका लग्दा रहेछन्, मान्छेले सिर्जेका चुड्का, ख्याली, असारे बालन, झ्याउरे, रक, पप, ज्याज, विथोवन र मोत्सार्ट धूनहरू ।
तिमीले सिर्जेको असीम शीतल खप्न नसकेर असीम सौन्दर्य थेग्न नसकेर लुकेका छन्, गुँडगुँडमा शीत्कार निकाल्दै मान्छेहरू । प्रकृतिको अत्यधिक सौन्दर्य खप्न नसकेर अप्ठेरोमा पो होमिदा रहेछन्, कहिलेकाहीँ मान्छेहरू ।
हे शीताद्री !
म तिम्रा कुन अंग चुमु, कुन अंग अँगालुँ ? त्यसैत्यसै तिम्रो महकमा मातिइरहेछु म ।
मान्छेहरूले एउटा ललनी गाउन थालेका थिए, ‘जाडो बढ्यो, चिसो चुलियो ।’
म तिम्रो माया र सौन्दर्यमा मातिएर भित्रभित्रै तातिरहेछु । तिमी कतै पूरै चिनीको रास बनेर उचालि“दै छ्यौ, कतै दूधधारा बनेर बग्दैछ्यौ, कतै दौडन ठीक्क परेको अरबी घोडाको पिठ्यौजस्तो छिर्केमिर्के बनिरहिछ्यौ । बन बुट्यानका जराहरू बिरामी पातहरूलाई तिलाञ्जलि दिन तम्सेर नयाँ पात फेर्ने उम्मेदमा तिमीलाई आमन्त्रण गरिरहेछन् । गाउँ बस्तीका बहादुरहरू तिम्रो स्वागतमा हतारहतार जोगोमेसो मिलाउँदैछन् । आखिर परिवर्तनको अनुभूतिनै त रहेछ, जिन्दगीको रमाइलो पनि । कैयौं दिनरात कोठाभित्र कागजे जिन्दगी बाँच्दैछु म । कागजको खेत, कागजको बारी, कागजको पहाड, कागजको खोंच सबैसबैबाट अनुशीलन गर्दैछु, आर्थिक अनुशासनको । घोडमच्चा चिया, फापर र कोदोको रोटी र बन्दाको तरकारीले उज्यालो बनाउँदैछ, प्राणलाई ।
कहिलेकाहीँ कुहिरो खुलेको बेला वारीपारीका गाउँहरूमा धूँवाको जुलुस उठेझैं देखिन्छ । अँगेनाको आडमै ब्युँतिरहेछन् कार्यालयहरू ।
भैगो आजलाई नुहाउन पुग्यो हुम्ला ! आऊ, आज रातभर तिमी र म हिउँ खेल्दै तातौं र हाम्रो माया दूरदराजसम्म पु¥याऔं ।
हुम्ला तिमी नुहाउँदा राम्री, ननुहाउँदा झनै राम्री । तिमीले नुहाउँदा म अँगेनाभरीको आगोलाई मेरो मायाको चास्नीमा घुलाएर तिमीलाई सेकिरहनेछु । डस्न सक्दैनन्, ठण्डी र आगोले मायाका मिहिन मुहुनाहरूलाई ।
(सिमकोट, हुम्ला, ५ असोज २०६५ आइतबार)