मन्त्रिपरिषद् विस्तारमा थप किचलो, देउवा उपप्रधानमन्त्री राख्नै नचाहने, यादवको दाबी यथावत्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि मन्त्रिपरिषद् विस्तारमा किचलो बढेको छ । सरकार बनेको ८२ दिन बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकमा नेताहरूबीच गत बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको थियो । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आबद्ध दलका नेताहरूसँग मन्त्रीको सूचीसमेत मागेका थिए ।

तर, त्यसपछि सोमबार र मंगलबारको बैठकमा गठबन्धन आबद्ध एक घटक जसपाका अध्यक्ष उपेन्द्र यादव नै अनुपस्थित भएपछि मन्त्रिपरिषद् विस्तारमा ब्रेक लागेको थियो । त्यसयता भने गठबन्धनको बैठक बस्न सकेको छैन ।

स्रोतका अनुसार जसपा अध्यक्ष यादव प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि असन्तुष्ट बनेका हुन् । उनी गत मंगलबारको बैठकमा बालुवाटार नगएर पार्टीको कार्यक्रममा सहभागी हुन भन्दै जनकपुर गएका थिए ।
‘मन्त्रिपरिषद् विस्तार केही दिनअघि नै गर्ने भन्ने थियो, उपेन्द्रजी बैठकमा नआएपछि कुरा मिलेको छैन । उहाँ उपप्रधानसहितको दाबी गर्दै हुनुहुन्छ, प्रधानमन्त्री देउवा उपप्रधान नै राख्न चाहनुहुन्न,’ स्रोतले राजधानीसँग भन्यो ।
यादव जनकपुरबाट फर्किएर पुनः पोखरा गएका थिए । शनिबार भने यादव काठमाडौंमा नै छन् ।

हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत बिरामी परेपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ । तर, उनको दलबाट भने मन्त्रीका लागि प्रधानमन्त्रीलाई सूची बुझाइसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवा भने सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । यादवको अडानपछि नै सत्ता गठबन्धनले सो अध्यादेश फिर्ता लिएको थियो । सत्ता गठबन्धन आबद्ध दलबीचमा भएको सहमतिअनुसार गत सोमबार सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।

गठबन्धन आबद्ध दलबीच मन्त्रालयको संख्या भने भागबन्डा भइसकेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । तर, मन्त्रालय कुन दलले कुन लिने भन्ने निर्णय हुन बाँकी छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिने सहमति छ । यस्तै, माओवादी केन्द्र, नेकपा एस र जसपाले ६÷६ मन्त्रालय लिने सहमति बनेको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् ।

प्रधानमन्त्री देउवा आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री बनेका थिए ।

धेरै पर्खन सकिँदैन : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा गरेको ढिलाइले अनेक आशंका उब्जाएकाले चिन्ता बढेको र अब धेरै पर्खन नसकिने बताएका छन् ।

शनिबार गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा आयोजित कार्यक्रममा निधिले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाउनु कांग्रेस, सत्ता साझेदार दल र नेपालकै लागि चिन्ताको विषय भएको बताएका हुन् ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरूसँग म अनुरोध गर्न चाहन्छु, धेरै ढिला भयो, छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाउने गरी तपाईंहरूको निर्णय आउनैपर्ने भयो अब धेरै पर्खन सकिँदैन,’ निधिले भने ।

निधिले मन्त्रिपरिषद् विस्तार हुन नसकेका कारण सत्तारूढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेकोसमेत टिप्पणी गरे । यस्तै, सरकारले पूर्णता नपाउँदा त्यसको असर चुनावमा पनि पर्ने उनले बताए ।
उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी