खोला बढेपछि भेलमा डुब्दै पारि जान्छन् बालबालिका

 

बर्दिया । बासगढी नगरपालिका –९ थुमनीका नारायण खाँड विहान खाना खाइवरी झोला बोकेर विद्यालय त निस्कन्छन् । तर उनी विद्यालय पुग्ने निश्चित भने हुदैन । यदि पुगी हाले भनेपनि साँझ घर फर्कन पाउने हुन् वा नपाउने अनिश्चित हुन्छ । विद्यालय पुग्ने र घर फर्कने अनिश्चितताको कारण एउटै हो, खैरेनीको खोलो ।

यो खहरे खोलो हो । कुन बेला उर्लन्छ र सेलाउछ ठेगानै हुदैन । थुमनी गाउँ र विद्यालय बिचमा खहरे खैरेनी खोलो पर्छ । यही खहरे खोलाले नारायण जस्तै धेरै बालबालिकालाई सास्ती दिएको छ । खहरे खोलाकै कारण घरबाट पढ्न भनी विद्यालय निस्केको थुमनी गाउँका बालबालिका विद्यालय नपुगी घर फर्कन बाध्य हुन्छन् । बर्खायामको समयमा अधिकांश बालबालिका खोलाकै कारण विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । केही ठूला विद्यार्थीहरु जोखिम मोलेर जसोतसो खोला तर्दै विद्यालय पुग्छन् । साना बालबालिका भने घर फर्कन्छन् ।

विद्यालय जाँदा खोलामा पानी कम भएपनि चुरे पहाड तथा जंगलमा पानी पर्ना साथ खोलामा पानी बढ्छ । कुन बेला एक्कासी खोलो बढ्ने हो केही थाहा नहुने बालबालिकाहरु बताउँछन् । स्कुले विद्यार्थी नारायण खाँड भन्छन्, ‘स्कुलबाट घर हिड्दा सबै ठिकठाक जस्तो लाग्छ । तर खोलामा पुगे पछि बाढी देखिन्छ । घर कसरी पुग्ने हो ठेगान नै हुँदैन ।’ खहरे खोला एक्कासी बढ्दा स्कुले बालबालिकाहरु जेखिम लिएर रुझ्दै भिज्दै घर विद्यालय आउँजाउँ गर्छन् । स्कुल खोलामा पुल नहुँदा विद्यालय जाँदा आउदा आफुहरुले निकै सास्ती खेप्नु परेको कक्षा १० का विद्यार्थी तोयानाथ शर्माले दुखेसो सुनाए । नियमित विद्यालय जान नपाउँदा पढाइ छुट्ने गरेको शर्माले बताए । वर्षौदेखि यहाँका बालबालिकाले यस्तो सास्ती खेप्दै आएका छन् ।

थुमनी गाउँ बासगढी नगरपालिकामा पर्छ । थुमनी गाउँ नजिकै माध्यमिक विद्यालय छैन । विद्यालय नभएका कारण यो गाउँका बालबालिकाहरु बाध्य भएर जंगलको बाटो हुँदै खोला तर्दै बारबर्दिया नगरपालिकाको वडा नं ९ खैरेनी गाउँमा रहेको अमर शहिद दशरथचन्द माध्यमिक विद्यालयमा जान्छन् । थुमनी गाउँबाट यो विद्यालय नै सबै भन्दा नजिकको विद्यालय हो । थुमनी गाउँ र विद्यालय बिचको पैदल दुरी करिव ३० मिनेटको छ । तर बिचमा रहेको खोलाको कारण विद्यार्थीहरुलाई विद्यालय पुग्न घण्टौ लाग्ने गर्छ ।

खोलामा पुल नहुँदा थुमनी गाउँका बालबालिकाले वर्षौदेखि सास्ती खेप्दै आएका छन् । थुमनी गाउँबाट खोला र जंगलको जोखिम मोल्दै १३४ जना बालबालिका बारबर्दिया नगरपालिकाको खैरेनी गाउँमा रहेको अमर शहिद दशरथचन्द माध्यमिक विद्यालयमा पढन आउने गरेको विद्यालयका प्रधानाध्यापक छविलाल पोख्रेलले बताए । विद्यालय आउँदाजाँदा कयौँ पटक विद्यार्थीहरु डुब्ने, बग्नेजस्ता घटनाहरु भएको प्रअ पोख्रेलले सुनाए । उनले भने, ‘कयौँ पटक दुर्घटनाहरु भएका छन् । खोला तर्ने क्रममा कयौँ विद्यार्थीका झोला, जुत्ताचप्पल, कपडा बग्ने गरेका छन् । खोलाका कारण सधैभरी दुर्घटनाकै त्रास रहन्छ ।’ खोला तर्दा कयौँ पटक साथीहरु बग्ने गरेको र ठूला उमेरका साथीहरुले उद्धार गर्ने गरेको बालबालिकाहरु बताउँछन् ।

खोलाकै कारण विद्यार्थीहरु नियमित विद्यालय आउँदैनन् । जसका कारण उनीहरुको शिक्षण सिकाइ कार्य प्रभावित हुने गरेको प्रधानाध्यापक पोख्रेलले बताए । खोलामा पुल नहुँदा आफुहरु विद्यालय जानबाट बञ्चित हुनु परेको बालबालिकाहरुको गुनासो छ । खैरनी खोलामा झुलुंगे पुल बनाउनका लागि सर्भे गरिए पनि अहिलेसम्म अत्तोपत्तो नलागेको स्थानिय चन्कु थारुले बताए । स्थानियबासीले झुलुंगे पुलका लागि पटकपटक माग गरेको भएपनि कतैबाट सुनुवाई नभएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने